दलित उम्मेदवार कुन प्रदेशमा कति ?

दलित उम्मेदवार कुन प्रदेशमा कति ?


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान आउन अब एक महिनापछि छैन । आचारसंहिताका कारण खुलेर प्रचारप्रसार गर्न दलहरुले नपाए पनि आन्तरिक रुपमा मतदातासम्म पुग्ने काम भने उम्मेदवारहरुले गरिनै रहेका छन् ।

देशभर विभिन्न जातजातिहरुले उम्मेदवारी दर्ता गरेका छन् । जसमध्ये दलित सामुदायको उपस्थिति निकै कम देखिएको छ । पछिल्लो जनगणनाअनुसार देशभर दलितको जनसंख्या १३.८ प्रतिशत छ । जसअनुसार प्रतिनिधिसभाको १६५ सिटका लागि हुने प्रत्यक्ष निर्वाचनमा दलित उम्मेदवारको उपस्थिति भने अत्यन्तै न्यून देखिएको छ । ०७४ मा प्रत्यक्ष चुनाव जितेर तीन जना दलित सांसद बनेका थिए । कास्की क्षेत्र नं. १ बाट जगतबहादुर सुनार, रुपन्देही ३ बाट छविलाल विश्वकर्मा र बाँके १ बाट महेश्वरजंग गहतराज संसदमा पुगेका थिए । 

प्रदेश १ मा कति छन् दलित उम्मेदवार ? 
प्रदेश १ मा ४३७ जनाको उम्मेदवारी परेको छ । तर दलित उम्मेदवारको संख्या नगन्य छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सुनसरी– २ बाट नैनकुमार विश्वकर्मा र नेपाल मजदुर किसान पार्टीले मोरङ– ४ बाट श्यामबहादुर दर्जीलाई उम्मेदवार बनाएको छ । प्रदेशभर जम्मा २ जनाले मात्रै टिकट पाएका हुन् । मुख्य दल भनेर चिनिने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले भने दलित समुदायबाट कसैलाई पनि टिकट दिएनन् । 

मधेस प्रदेशमा कति जना दलित उम्मेदार ? 
मदेश प्रदेशका ८ जिल्लामा ५९० जनाले टिकट पाएका छन् ।  जसमध्ये नेपाल मजदुर किसान पार्टीले रौतहट– ३ बाट रफिक दर्जीलाई उम्मेदवार बनाएको छ । सिराहा– १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हरिराम दास र बारा– ३ मा नेपाल जनमत पार्टीले गोपाल दासलाई टिकट दिएको छ । स्वतन्त्र उम्मेदवारमा टिकट पाउँने सिराहा २ बाट लक्ष्मणकुमार दास, धनुषा– ३ बाट मात्रिकाप्रसाद दास, रौतहट– १ बाट अनिलकुमार लाल दास र रौतहट– ३ बाट उमेशकुमार तत्मा चुनावी मैदानमा छन् । मधेसमा ५९० जनाले टिकट पाएकोमा दलित समुदायबाट ७ जना उम्मेदवार छन् । त्यसमा पनि ३ जना मात्रै पार्टीका उम्मेदवार हुन् । अन्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मधेस प्रदेशमा पनि ठूला भनाउँदा दलले दलित समुदायबाट उम्मेदवार बनाउन चासो देखाएनन् । 

बागमती प्रदेशमा कति जना दलित उम्मेदवार ?
बागमती प्रदेशमा ६३२ जनाले प्रतिनिधिसभा निर्वाचनका लागि टिकट पाएका छन् । जसमध्ये दोलखा– १ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालले गोपाल नेपालीलाई टिकट दिएको छ भने दोलखा– १ बाटै स्वतन्त उम्मेदवार दिनेमा टंकबहादुर खाती पनि छन् । यस्तै सिन्धुली– १ बाट डम्वरबहादुर विक र सिन्धुली– २ बाट भुपेन्द्र विश्वकर्माले स्वतन्त्र उम्मेदवारी दिएका छन् । धादिङ २ मा नेपाली कांग्रेस वीपीले शंकर दर्जीलाई उम्मेदवार बनाएको छ । 

नुवाकोट २ बाट लोकतान्त्रिक समाजवादी पार्टीले धनकुमारी सुनार, काठमाडौं ३ बाट जनता समाजवादी पार्टी नेपालले मोहनकुमार विश्वकर्मालाई टिकट दिँदा यही क्षेत्रबाट कबिता बिष्ट सुनारले स्वतन्त्र उम्मेदवार दिएकी छन् । साथै काठमाडौं ४ बाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पिकेश परियारलाई उम्मेदवार बनाएको छ । काठमाडौं क्षेत्र नम्वर ५ बाट भने मौलिक जरोकिलो पार्टीले रामकृष्ण परियारलाई उम्मेदवार बनाएको छ । 

यस्तै, नेपालका लागि नेपाली पार्टीले काठमाडौं– ७ बाट राम नेपालीलाई उम्मेदवार बनाएको छ । साथै, काठमाडौं ८ बाट नेपाली जनता दलले रेशमबहादुर सुनारलाई टिकट दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भक्तपुर २ बाट साजन विक र राष्ट्रिय प्रजातन्त्र पार्टीले काभ्रे १ बाट  पूर्णबहादुर विश्वकर्मालाई टिकट दिएको छ । सिन्धुपाल्चोक २ बाट राष्ट्रिय प्रजात्रन्त्र पार्टी नेपालले दिलिप विकलाई उम्मेदवार बनाएको छ । प्रदिप कालाखेतीले मकवानपुर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । ६३२ जनाको उम्मेदवार परेको बागमती प्रदेशमा ११ जना मात्रै दलित उम्मेदवार छन् । त्यसमा पनि ५ जना स्वतन्त्र उम्मेदवार हुन् । यो प्रदेशमा पनि प्रमुख दलले दलित उम्मेदवार बनाएका छैनन् । 

गण्डकी प्रदेशमा दलित उम्मेदवार कति ?
गण्डकी प्रदशेमा १९७ जनाले टिकट पाएका छन् । जसमध्ये तनहुँ २ बाट राष्ट्रिय जनमुक्ति पार्टीले लालबहादुर सार्की गोतामेलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टीले खड्कबहादुर विकलाई टिकट दिएको छ । यता स्याङजा १ बाट हाम्रो नेपाली पार्टीले सोमबहादुर नेपालीलाई उम्मेदवार बनाएको छ । सोही क्षेत्रमा जनता समाजवादी पार्टीले तिलकुमारी नेपालीलाई चुनावमा उठाएको छ भने लोकबहादुर दमैले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यता स्याङजा २ मा भने नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पालाल)ले डोलराज विकलाई मैदानमा उठाएको छ । यस्तै, नेपाल दलित पार्टीले टेकप्रसाद कामीलाई वागलुङ २ बाट उम्मेदवार बनाएको छ । १ सय ९७ जनाले टिकट पाएको यस प्रदेशमा ७ जनामात्रै दलित उम्मेदवार छन् । एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् भने बाँकी ६ जना पार्टीका उम्मेदवार हुन् । यस प्रदेशमा पनि ठूला दलले एक जना पनि उम्मेदवार बनाएको छैन् । 

लुम्बिनी प्रदेशमा कति जनाको दलित उम्मेदवारी ?
लुम्बिनी प्रदेशमा ३४७ जनाले आसन्न संघीय चुनावमा टिकट पाएका छन् । जसमध्ये पाल्पा १ बाट राजु सुनारले स्वतन्त्र उम्मेदवारी दिएका छन् । लुम्बिनीको रुपन्देही क्षेत्र नम्बर १ बाट नेकपा एमालेले छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ । रुपन्देहीकै क्षेत्र नं. २ बाट विष्णु विश्वकर्माले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यही क्षेत्रमा नेपाल मजदुर किसान पार्टीले सरु विकलाई उम्मेदवार बनाएको छ भने जनमत पार्टीका चन्द्रशेखर सोनारले रुपन्देहीकै क्षेत्र नं. ५ बाट टिकट पाएका छन् । 

यस्तै, दाङ ३ बाट राष्ट्रिय जनमुक्ति पार्टीले कृष्णवीर नेपालीलाई उम्मेदवार बनाएको छ । बाँके १ बाट नेकपा माओवादी केन्द्रले वर्तमान खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं. २ बाट जनसमाजवादी पार्टीले लीला दर्जीलाई उम्मेदवार बनाएको छ । उता नवलपरासी पश्चिम १ बाट देवी विक मैदानमा उत्रिएकी छन् । सोही जिल्लाको क्षेत्र नं. २ बाट चित्रप्रसाद सुनार र श्यामबहादुर दर्जीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ३ सय ४७ जना उम्मेदवार रहेको लुम्बिनीमा ११ जना दलित उम्मेदवार छन् । ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने बाँकी ६ जना विभिन्न पार्टीका उम्मेदवार हुन् । 

कर्णली प्रदेशमा दलित उम्मेदवार कति ?
कर्णाली प्रदेशमा ७५ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये दैलेख क्षेत्र नं. १ बाट गोपाल नेपालीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सुर्खेत क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टी नेपालबाट दिलबहादुर नेपालीले उम्मेदवारी दिएका छन् भने नेपाल कम्युनिष्ट माओवादी समाजवादी पार्टीले टेकमल दमाईलाई उम्मेदवार बनाएको छ । ७५ जनाको उम्मेदवारी परेको यस प्रदेशमा जम्मा ३ जना दलित समुदायबाट उम्मेदवार बनेका छन् । एक जनाले भने स्वतन्त्र उम्मेदवार दिएका छन् र २ जना पार्टीका उम्मेदवार हुन्। 

सुदूरपश्चिम प्रदेशमा कति उम्मेदवार ?
सुदूरपश्चिम प्रदेशमा १३७ जना उम्मेदवार छन् । जसमध्ये कैलाली क्षेत्र नं. १ बाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टीले भोजबहादुर विकलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं. ५ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालले दानबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ । यस्तै, कञ्चनपुर क्षेत्र नं. ३ बाट मदन दमाईले स्वतन्त्र उम्मेदवार दिएका छन् । १३७ जनाले उम्मेदवारी दिएको यस प्रदेशमा ३ जनामात्र दलित उम्मेदवार भएको पाइएको छ । यस प्रदेशमा राजनीतिक दलबाट २ जना र एक जना स्वतन्त्र उम्मेदावर छन् । 

समग्रमा हेर्दा प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादीले मात्र प्रत्यक्षमा दलित उम्मेदवार  उठाएका छन् । त्यसमा पनि सन्तोष गर्ने ठाउँ भने छैन । स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बन्न सफल भएको नेपाली कांग्रेसले भने एक जना पनि दलित उम्मेदवार बनाएको छैन् । 

Logo