कर्णालीको समीकरणः के कांग्रेसले २०७४ को निर्वाचनको चोट भुलाउँछ ?

कर्णालीको समीकरणः के कांग्रेसले २०७४ को निर्वाचनको चोट भुलाउँछ ?


आसन्न संघीय निर्वाचनलाई लिएर कर्णाली प्रदेशमा दलहरुको उपस्थितिमाथि लेखाजोखा जारी छ । प्रतिनिधिसभाको ०७४ सालको निर्वाचनमा प्रदेशभर निल रहेको नेपाली कांग्रेसले प्रदेशसभामा भने एक सिट जितेको थियो । त्यहीँ एक सिटमा विजयी जीवनबहादुर शाही अहिले कर्णालीका मुख्यमन्त्री हुन् । 

गत स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार भने नेपाली कांगे्रस कर्णाली प्रदेशमा पहिलो दल बन्यो । संघ र प्रदेश निर्वाचनमा पनि स्थानीय तहको सफलता दोहोर्याउने दाउमा यतिबेला कांग्रेस छ । जसले गर्दा नेपाली कांगे्रस नेकपा एमालेलाई संघ र प्रदेश दुबैमा पछार्न चाहान्छ । जबकी ०७४ को निर्वाचनमा एमाले–माओवादीबीच तालमेल हुँदा स्थानीय तहमा पनि कांग्रेस तेस्रो दल थियो । यद्यपी कर्णालीमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको जनमत भने उस्तै छ । 

कर्णालीमा सत्तागठबन्धन नेतृत्वको नेपाली कांग्रेससँग नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन छ । प्रदेशका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका तीन निर्वाचन क्षेत्र (डोल्पा, सल्यान र दैलेख निर्वाचन क्षेत्र–१) र २४ प्रदेश सभा निर्वाचनका दुई सिट (हुम्ला ‘क’ र मुगु ‘क’) समाजवादीको भागमा परेको छ । तर, समाजवादीले अन्य निर्वाचन क्षेत्रमा समेत उम्मेदवार बनेर पूर्व सहकर्मी अर्थात् एमालेसँग प्रतिस्पर्धा गर्दैछन् ।

०७४ को निर्वाचनमा समानुपातिकतर्फ कर्णालीमा एमाले पहिलो दल थियो । समानुपातिकतर्फ एमालेले एक लाख ६९ हजार ७ सय ५५ मत र कांग्रेसले एक लाख ६२ हजार ३ मत प्राप्त गरेका थिए । त्यसैगरी माओवादी केन्द्रले कर्णालीबाट समानुपातिकतर्फ एक लाख १७ हजार २ सय ९८ मत पाएको थियो ।

कर्णालीमा २४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २०७४ को भागबण्डामा एमालेले १४ र माओवादीले १० सिट भाग पाएका थिए । दैलेखमा ३, मुगु, सल्यान र सुर्खेतमा २/२, हुम्ला, जाजरकोट, जुम्ला, डोल्पा र कालीकोटमा एकएक सिट एमालेले पाएको थियो । सुर्खेतमा २, रुकुम पश्चिममा २, कालीकोट, डोल्पा, जुम्ला, जाजरकोट, हुम्ला र दैलेखमा एकेक सिट माओवादीको भागमा परेको थियो । त्यसैगरी प्रतिनिधिसभाका १२ सिटमध्ये आधा–आधा बाँडेका थिए । केन्द्रले गठबन्धन दलबीच २०७४ सालको निर्वाचन परिणाम र गत स्थानीय निर्वाचनको मतपरिणामलाई आधार मानेर सिट बाँडफाँटको टुंगो लगाएको छ । अहिले प्रदेशसभामा कांगे्रस र माओवादी दुवैले आ–आफ्नो बहुमत हुनुपर्ने माग गरिरहेका छन् । त्यसो त कालिकोटमा माओवादीको पकड गतिलो छ ।

गत स्थानीय तहमा पनि कालिकोटमा (वडा तहमा) माओवादी केन्द्रले १८ हजार ३ सय ४७ मत ल्याएर पहिलो दल बनेको थियो । त्यसैगरी १२ हजार ८ सय २० मतले काँगे्रस दोस्रो दल र एमाले १२ हजार ६ सय १३ मतले तेस्रो दल बनेको थियो । यस क्षेत्रमा प्रतिनिधीसभाको लागि प्रत्यक्ष तर्फ एमाले गठबन्धनबाट नगिन्द्र शाहीले उम्मेद्वार दिएका छन् भने सत्तागठबन्धनबाट महेन्द्र बहादुर शाही छन् । 

०७४ कै समानुपातिक निर्वाचनमा २६ हजार २ सय ९० मत ल्याएको नेकपा एमालेसँग अहिले प्रत्यक्षतर्फमा सत्तागठबन्धनबाट नेकपा एकिकृत समाजवादि भिड्दै छ । कर्णालीमा १० क्षेत्रमा पुर्वसहकर्मी बिच चुनावी भिड्न्त हुँदै छ । जसका लागि सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (क) एमालेबाट यामलाल कँडेल र एकीकृत समाजवादीबाट शिवप्रसाद उपाध्याय चुनावी मैदानमा छन । उनीहरु पुर्वसहकर्मी हुन । यस्तै, सुर्खेत–२ प्रदेश सभा (ख)मा ०७४ सालको निर्वाचनमा एमालेसँगको गठबन्धनमा माओवादीबाट विन्दमान विष्टले बाजी मारेका थिए । उनले १५ हजार ६४८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका तप्तबहादुर विष्टलाई हराएका थिए । तप्तबहादुरले १२ हजार ४७७ मत प्राप्त गरेका थिए । सत्तागठबन्धनबाट चुनावी मैदानमा समाजवादीबाट मोहन बडुवाल रहेका छन् भने एमालेबाट ताराकेशर गौतम रहेका छन् । 

एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सल्यानमा एमालेका राजेन्द्रवीर रायलाई सत्तागठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादी पार्टीका उप–महासचिव प्रकाश ज्वाला चुनाव लड्ने भएका छन् । यहाँ ०७४ को निर्वाचनमा नेकपा माओवादीका टेकबहादुर बस्नेत विजयी भएका थिए । उनले ४० हजार ८९७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गरेका थिए ।

प्रतिनिधि सभाका लागि डोल्पामा नेकपा एमालेतर्फबाट गणेशबहादुर शाही र समाजवादीका धनबहादुर बुढाले प्रतिस्पर्धा  गर्दैछन । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा एमालेबाट अहिले समाजवादीका यीनै धनबहादुर बुढाले ११ हजार ७६१ मत ल्याएर निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका अंगदकुमार बुढालाई हराएका थिए । अंगदकुमारले ३ हजार १६७ मात्रै मत पाएका थिए ।

यस्तै, मुगु प्रदेश सभा (क) पनि एमालेका जितबहादुर मल्लसँग सत्तागठबन्धनका तर्फबाट गोपालबहादुर बम उम्मेदवार बनेका छन् । यस क्षेत्रमा ०७४ को प्रदेश सभा निर्वाचनमा एमालेका दानसिंह परियारले बाजी मारेका थिए । परियारले ५ हजार ६५३ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका तिलकबहादुर मल्लले ५ हजार २९९ मत पाएका थिए । 

हुम्ला प्रदेशसभा (क) मा सत्तागठबन्धनका हस्तबहादुर शाहीका प्रतिस्प्रर्धी एमालेका दल फडेरा रहेका छन् । ०७४ सालको प्रदेश सभा निर्वाचनमा माओवादी एमालेबीच एकता हुँदा उक्त निर्वाचन क्षेत्रमा एमालेका दल रावलले ७ हजार १५८ मत ल्याएर निर्वाचित भएका थिए । प्रतिस्पिर्धी कांग्रेसका ठानबहादुर रोकायले ४ हजार ८११ मत ल्याएका थिए । 
जुम्ला जिल्लाको प्रदेश सभा (ख)मा एमालेका टेकराज पछाई र समाजवादीका पदमबहादुर रोकायबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त क्षेत्रमा ०७४ को प्रदेश सभा निर्वाचनमा एमालेबाट उनै रोकायले १० हजार ४५८ मत ल्याएर बाजी मारेका थिए । भने कांग्रेसका भिमनिधि हमालले ५ हजार २८० मत प्राप्त गरेका थिए ।

कालिकोट प्रदेशसभा (ख)मा एमालेका वीरेन्द्रबहादुर बोगटी र समाजवादीका विश्वराज बम बीच प्रतिस्पर्धा हुनेछ । कालीकोटमा माओवादी र कांग्रेसबीच गठबन्धन हुँदा समाजवादी भने बाहिरिएको छ । सोही निर्वाचन क्षेत्रमा एमाले माओवादीबीच एकता हुँदा माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाहीले १२ हजार १५३ मत ल्याएर निर्वाचित भएका थिए । उनले कांग्रेसका कालिबहादुर सहकारीलाई हराएका थिए । सहकारीले ९ हजार ३४२ मत प्राप्त गरेका थिए ।

दैलेख निर्वाचन क्षेत्र नम्बर–१ म प्रतिनिधिसभाका लागि पूर्वसहकर्मी ३० वर्षपछि चुनावी मैदानमा उत्रिएका छन । गठबन्धनका तर्फबाट समाजवादीका अम्मरबहादुर थापा र एमाले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्माबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । ०७४ को निर्वाचनमा शर्मा प्रतिनिधिसभा र थापा प्रदेशसभा सदस्यमा विजयी भएका थिए । 

त्यसैगरी, दैलैख निर्वाचन क्षेत्र नम्बर–२ (ख) मा एमालेबाट विनोदकुमार शाह र गठबन्धनका तर्फबाट माओवादीका योगेन्द्र शाही प्रतिस्पर्धी बनेका छन् । यस क्षेत्रमा ०७४ को प्रदेश सभा निर्वाचनमा एमालेका राजबहादुर शाहीले ११ हजार ४४५ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसका दिक्पालकुमार शाहीले ८ हजार ४६९ मत प्राप्त गरेका थिए ।

Logo