कसरी कम होला बदर मत ? मतदाता शिक्षामा करोडौं खर्च

कसरी कम होला बदर मत ? मतदाता शिक्षामा करोडौं खर्च


निर्वाचन आयोगले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि मुलुकभर यो बेला मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । विगतदेखि नै आयोगले मतदाता शिक्षामा करोडौं रकम खर्च गर्दै आएको छ तर लामो मतपत्र, दर्जनौं उम्मेदवार र तिनका चुनाव चिह्न, कमजोर साक्षरताका कारण बदर मतको संख्या अत्यधिक हुने गरेको छ । मतदान प्रक्रियाबारे उपयुक्त शिक्षा दिन नसक्दा खसालिएको मत सदुपयोग हुन नसकेको हो । 

आयोगले मंसिर ४ गते हुने मतदानका लागि मतदाता शिक्षा सञ्चालन गर्न ५० करोड रुपैयाँ बजेट छुट्याएको छ । आयोगले मतदाता शिक्षा मार्फत मत खसाल्ने तरिका सिकाएर मत बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरेको छ । आयोगले हरेक पटक निवार्चनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेपनि प्रभावकारी देखिएको छैन । 

निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सामग्री सम्बन्धित जिल्लामा पठाउने काम धमाधम भइरहेको छ । निर्वाचनका लागि आवश्यक करिब ८ करोड मतपत्र छपाइको काम सकिएको छ । तालिम दिएर कर्मचारी खटाउन आयोगको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । म्यादी प्रहरी ठाउँ – ठाउँमा खटिएका छन् । सुरक्षाकर्मी के कति खटाउने भनेर तय भइसकेको छ । आयोगबाट पठाएको सामग्री प्राप्त गर्ने मतदान केन्द्र अनुसार करिब ५० प्रकारका सामान दरबन्दी अनुसार नछुटाई मतदान केन्द्रका प्याकिङहरु गर्ने र मतदान अधिकृतलाई बुझाउँने काम तालिमपछि हुने छ ।

यस पटकको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रममा स्थानीय तहको निर्वाचनमा भन्दा फरक तरिकाले सञ्चालन भइरहेको दाबी आयोगको छ । जिल्लाले स्थानीयसँग सहकार्य गरेर शिक्षा कार्यक्रम सञ्चालन गर्ने, घरदैलो गरेर सामग्री वितरण गर्ने, शिक्षा दिने काम धमाधम भइरहेका छन् । मतदाता शिक्षाका लागि छापा माध्यमको प्रयोग पनि उत्तिकै भइरहेको छ । आयोगले रेडियो,टेलिभिजन, सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट गर्ने प्रचारहरु निरन्तर गर्ने बताएको छ । 

यस निर्वाचनामआयोगले ७५३ स्थानीय तहसँगसहकार्य गरेर मतदाता शिक्षाको लागि सवै वडामा कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यसका लागि वडामा कार्यरत महिला स्वास्थ्य स्वायंसेविका परिचालन भएका छन् । १५ दिने उक्त कार्यक्रम प्रभावकारी हुने र यो निर्वाचनमा बदर मतको संख्या अत्यन्तै न्युन हुने अपेक्षा आयोगको छ । 

मतदाता शिक्षा दिने कुरा ज्यादै महत्वपूर्ण र व्यापक क्षेत्र हो । मतदाताहरु फरक–फरक रुची र चेतनास्तर भएकाहुन्छन् । विशेषगरी राजनीतिक दल तथा उम्मेदवारहरुले मतमात्र नमाग्ने मत हाल्ने तरिका पनि सँगै सिकाउने भएकाले मतबदर हुने र मतदाता शिक्षा कार्यक्रममा जनताको सहभागीता कम हुने गरेको सहायक प्रवक्ता अर्याल बताउँछन् । 

स्थानीय तह निर्वाचनमा एउटै पानामा ६ वटा मतपत्र र ७ जना उम्मेदवारलाई मतदान गर्नु पर्ने हुन्थ्यो । मतपत्रको आकार ठूलो थियो, मतदान गर्ने समय र प्रक्रिया लामो थियो । त्यसको दाजोमा यस निर्वाचनमा४ वटा मतपत्र हुनेछन् र प्रत्येक मतपत्रमा एकएक वटा मात्रै मत खसाल्नु पर्नेछ । 

कुन सालको निर्वाचनमा कति मत बदर ?
मतदाता शिक्षाका लागि कार्यक्रमहरु बढ्दो छ । बजेटको आकार पनि ठूलो हुँदै गइरहेको छ । तरपनि मत बदरको संख्या घट्न सकेको छैन् । निर्वाचन आयोगको तंथ्याङका अनुसार २०४८ सालको आमनिर्वाचनमा ३ लाख २ हजार २३ मत बदर भएको थियो । २०५१ सालको मध्यावधिमा २ लाख ४१ हजार७१ मत बदर भएको थियो । यस्तै, २०५६ सालको संसदीय निर्वाचनमा पनि २ लाख ४४ हजार ९ सय २ मत बदर भएको थियो । 

यता २०६४ मा प्रत्यक्षतर्फ ५ लाख ६० हजार ११ मत बदर भएको थियो ।२०७० सालमा पनि ४ लाख ७१ हजार ८ सय २६ मत बदर भएको थियो ।समानुपातिक निर्वाचनमा पनि मत बदर भने कम भएन । पहिलो संविधानसभा निर्वाचनमा ४ लाख ६ हजार ४ सय ६२ र दोस्रो संविधानसभा निर्वाचनमा ३ लाख १२ हजार ८ सय ४१ मत बदर भएको थियो । 

२०७४ सालमा पनि बदर मतको संख्या धेरै नै थियो । तीनै तहको निर्वाचनमा गरेर २०७४ सालमा २६ लाख १० हजार ९ सय ६८ मत बदर भएको थियो । जसमध्ये प्रतिनिधिसभामा समानुपातिकतर्फ १ करोड ५ लाख ८७ हजार ५ सय २१ मतदान भएकोमा ९५ लाख ४४ हजार ७ सय ४४ मात्रै मत सदर र १० लाख ४२ हजार ७ सय ६६ मत बदर भएको थियो । बदर मत कुल मतदानको झण्डै १० प्रतिशत हो । यस्तै, प्रदेशसभातर्फ १ करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेकोमा ९० लाख १९ हजार ३ सय ३० मत सदर थियो भने १५ लाख ६८ हजार १ सय ९१ मत भने बदर भएको थियो ।

गत स्थानीय तह निर्वाचनमा कुन पदमा कति मत बदर ?
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पूर्णरुपमा ३ लाख २ हजार मत बदर भएको थियो । आयोगले स्थानीय तहका ७ वटै पदमा मत बदर भए मात्र पूर्णरुपमा बदर मत मान्ने र ७ मध्ये ६ वटा बदर भएर १ वटा पदको मात्र सदर मत भएपनि त्यो सदर मतमा नै गनिने नियम बनाएको थियो । जसअनुसार मेयर र अध्यक्ष पदमा १ करोड २२ लाख मतमध्ये १३ लाख २४ हजार मत बदर भयो । उपाध्यक्ष र उपमेयरमा बदर मतको संख्या उम्मेदवारले पाएका कुल १ करोड ४ लाख ३५ हजारमध्ये १७ लाख ६५ हजार थियो । 

यस्तै, वडाध्यक्षमा १ करोड १४ लाख ९० हजार मत खसेकोमा ७ लाख १० हजार मत बदर भएको छ । २ वटा वडा सदस्य पदमा २ करोड १२ लाख मत खसेकोमा १५ लाख ८२ हजार मत बदर भएको छ । यस्तै, महिला वडा सदस्यमा पनि १ करोड ८ लाख ९९ हजार मत खसेकोमा करिब १३ लाख मत बदर भएको छ । दलित महिला वडा सदस्यमा १ करोड ४ लाख  २० हजार मत खसेकोथियो भने १७ लाख  ८० हजार मत बदर भएको आयोगले सार्वजनिक गरेको तंथ्याङकामा उल्लेख छ । निर्वाचन प्रणाली सुरु भएदेखिनै आयोगले मतदाता शिक्षामा करोडौं रकम खर्च गर्ने गरेको छ । आयोगले ठूलो रकम शिक्षामा खर्च गरेपनि मत बदर भने कम भएको पाइएको छैन् । 

Logo