के ब्राजिलले छैठौं पटक उपाधि उचाल्ला ? [भिडियो सहित हेर्नुहोस्]

के ब्राजिलले छैठौं पटक उपाधि उचाल्ला ? [भिडियो सहित हेर्नुहोस्]


सन् २०२२ को नोभेम्बर २० अर्थात् मंसिर चार गते कतारमा सुरु हुँदैछ । फुटबल महाकुम्भको फाइनल डिसेम्बर १८ अर्थात् पुष ३ गते हुनेछ । विश्वफुटबलको २२औं संस्करण सुरु हुन अब ४ दिन मात्रै बाँकी छ । नेपालमा जनप्रतिनिधि चयनका लागि मतदान भइरहँदा विश्व भने फुटबलमा रमाइरहेको हुनेछ ।

विश्वभरबाट बिभिन्न चरण गर्दै ३२ राष्ट्र विश्वकपका लागि छनोट भएका छन् । विश्वकप एसियामा दोस्रो पटक हुन लागेको हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए । विश्वकप इतिहासमा पहिलो पटक जाडोयाम महाकुम्भ हुन लागेको हो । अन्य समय ४१ डिग्रीको चर्को घाम हुने कतारमा जाडो याममा भने २१ देखि २४ डिग्री सेल्सियको तापक्रम हुने भएकाले यो समय गर्न लागिएको हो । 

कतार विश्वकपमा विभिन्न सहरका ८ वटा रंगशालामा प्रतिस्पर्धा हुनेछ । तीमध्ये अधिकांश कतारले यहीँ विश्वकका लागि बनाएको हो । २० नोभेम्बरबाट अल बायेट स्टेडियमबाट सुरु भई १८ डिसेम्बरमा लुसेल स्टेडियममा भब्यताका साथ स्पर्धाहरु सकिनेछन् । विश्वकपका लागि धमाधम टोलीको घोषणा भइरहेको छ । 

May be an image of 3 people and text that says 'CONVOCAÇÃO OFICIAL BRASIL FIFAWORLD Qatar2022 Alisson Ederson Weverton Danilo Dani Alves Alex Sandro Alex Telles Thiago Silva Marquinhos É. Militão Bremer Casemiro Fabinho B. Guimarães Fred L. Paquetá E. Ribeiro Neymar Vinicius Jr G. Jesus Antony Raphinha Richarlison G.Martinelli Rodrygo Pedro'ब्राजिल ५ पटकको विश्व विजेता टोली हो । उसले अहिलेसम्म भएका सम्पूर्ण विश्वकपमा सहभागीता जनाएको छ । विश्वकपमा सधैं आफ्नो दाबेदारी प्रस्तुत गर्ने र विश्व फुटबलमा निकै गर्बिलो इतिहास बोकेको टोली हो ब्राजिल । आजको अंकमा हामी विश्वकपमा ब्राजिली टोलीको प्रदर्शन, इतिहास र कतार विश्वकपमा ब्राजिलको सम्भावना बारे चर्चा गर्नेछौं । 

फुटबलको इतिहासमा सबैभन्दा सफल टोली हो ब्राजिल । तर त्यहीँ ब्राजिलले विश्वकप फुटबलको ट्रफी उठाउन नपाएको २० वर्ष भइसक्यो । उसले पछिल्लो पटक सन् २००२ मा रोनाल्डोको नेतृत्वमा जर्मनीलाई २–० ले हराउँदै विश्वकपको उपाधि जितेको थियो । विश्वकपमा ब्राजिल यो पटक इतिहास दोहोर्याउने दाउमा छ । सन् २००२ को विश्वकपपछि हरेक संस्करणमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै आए पनि ब्राजिलले उपाधि चुम्न भने पाएको छैन ।   

सन् २०१८ मा रूसमा भएको विश्वकपमा ब्राजिल क्वार्टरफाइनलमा रोकियो । ऊबेला उच्च फर्ममा रहेको बेल्जियमले ब्राजिललाई २–१ को हार चखाउँदै अन्तिम ८ बाट अघि बढ्न दिएन । उक्त साल क्रोएसियलाई हराउँदै फ्रान्सले उपाधि जित्यो । सन् २०१४ मा आफ्नै भूमिका भएको विश्वकपमा ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ गोलअन्तरको लज्जास्पद हार भोग्न बाध्य भयो । सो साल उपाधि जर्मनीले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले हराउँदै उचाल्यो । 

ब्राजिलको लुसेल (फाइनल खेल हुने मैदान) सम्मको यात्रा  
कतार विश्वकपमा ब्राजिल समूह ‘जी’ मा छ । ब्राजिल रहेको समूहलाई सहज समूहका रुपमा हेरिएको छ । समूह जीमा ब्राजिलसँगै सर्बिया, स्विट्जरल्याण्ड र क्यामरुन छन् । ब्राजिलले आफ्नो पहिलो खेल लुसेल रंगशालामा सर्बियाविरुद्ध खेल्नेछ । जहाँ ब्राजिलले फुलह्यामका एलेक्सान्डर मिट्रोभिक र आयाक्सका डुसान ताडिक जस्ता खेलाडीले भरिएको सर्बियासँग प्रतिस्पर्धा गर्नेछ । यी दुबै खेलाडी उच्च फर्ममा छन् । 

ब्राजिलले आफ्नो दोस्रो खेलमा स्विट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । सन् २०१८ मा रसियामा भएको विश्वकपको समूह चरणमा यी दुबैले १–१ गोलको बराबरी खेलेका थिए । स्विट्जरल्याण्डका कप्तान ग्रानित झाकाले क्लब आर्सनलका लागि उत्कृष्ट सिजन बिताइरहेका छन् । उनको अर्को सहपाठी जेरदान शारिकी अहिले अमेरिकी क्लबबाट फुटबल खेल्छन् । कप्तान ग्रानित झाकाले स्विट्जरल्याण्डलाई उत्कृष्ट लयमा पुर्याएका छन् ।  उनको नेतृत्व देख्दा लाग्छ, स्विट्जरल्याण्डले कतार विश्वकपमा चामत्कारिक प्रदर्शन गर्नेछ । स्विट्जरल्याण्डले सन् २०२० मा भएको युरोकपको राउण्ड अफ १६ को खेलमा विश्व विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराएको थियो । उच्च फर्ममा रहेका स्विस खेलाडीका कारण ब्राजिलले स्विट्जरल्याण्डलाई कम आक्न भने हुन्न । 

ब्राजिलले आफ्नो तेस्रो तथा समूहचरणको अन्तिम खेलमा क्यामनको सामना गर्नेछ । जहाँ उसले इन्टर मिलानका गोलकिपर आन्द्रे ओनानालाई छकाएर बललाई जाली चुमाउनु पर्नेछ । अफ्रिकन चिताको उपमा पाएको क्यामरुनलाई हराउन सहज नहुने भएकाले ब्राजिलले सो अघि कै खेलबाट अंक जोड्नु पर्नेछ । 

विश्वकप उपाधिमा २० वर्ष हात लगाउन नपाएपनि धेरैको नजरमा ब्राजिल उत्तिकै प्रिय टोली हो । ब्राजिल डिसेम्बरको अन्त्यमा लुसेलमा हुने फाइनल खेल्ने दुई टोलीमध्ये एक हुन चाहन्छ । यदि ब्राजिल समूह ‘जी’ बाट अघि बढ्यो भने उसले राउन्ड अफ १६ मा पोर्चुगल, घाना, उरुग्वे र कोरिया गणतन्त्र मध्ये कुनै एकसँग खेल्नेछ । ब्राजिलले पोर्चुगल समूहको उपविजेता नहोस् भन्ने चाहन्छ । यदि यी दुबैको भेट राउन्ड अफ १६ मै भएमा दुई टोलीमध्ये एक टोलीको क्वार्टरफाइनल पुग्ने सम्भावना सकिन्छ । 

यदि ब्राजिल र पोर्चुगल दुबै क्वार्टर फाइनलमा प्रवेस गर्न सफल भएमा यी दुबै टोलीहरुले समूह ‘ई’ र ‘एफ’ को टोलीसँग खेल्नेछन्, जसमा स्पेन, जर्मनी, बेल्जियम र सन् २०१८ विश्वकप उपविजेता क्रोएसिया समावेश छन् । यी सबै टोली मध्ये एक टोलीलाई हराउने टोली लुसेलमा हुने सेमिफाइनल र फाइनल खेलमा जान सक्नेछ । 

प्रमुख खेलाडीहरू…
विश्वकपका लागि ब्राजिलियन खेलाडीहरूको टोली अरू टोलीका भन्दा बलिया र अग्ला देखिन्छन् । नेइमार, भिनिसियस जुनियर, गेब्रियल जेसस, गेब्रियल मार्टिनेली, रिचार्लिसन, राफिना र रोबर्टो फिरमिनो जस्ता खेलाडी ब्राजिलका सान हुन् । यी सबै खेलाडीहरु विश्व फुटबलमा चर्चित नाम हुन् । ब्राजिलियन प्रशिक्षक टाइलका लागि फर्वाड पोजिसनमा धेरै विकल्पहरू उपलब्ध हुनेछन् । 

नेयमार एक दशकभन्दा बढी समयदेखि ब्राजिलका लागि खेलिरहेका छन् । बार्सिलोनाका लागि युरोपेली कप र पेरिस सेन्ट–जर्मेनका लागि लिग वानको उपाधि जिताइसकेका नेमार राष्ट्रिय टोलीबाट सन्यास लिनुअघि विश्वकपको ट्रफीलाई अंगालो हाल्न चाहान्छन् । नेमारको नाममा एउटा कोपा अमेरिका पहिले नै छ । जहाँ उसले सन् २०१९ मा पेरुलाई ३–१ गोल अन्तरले हराएर जितेको थियो । नेमार यो संस्करणको विश्वकप जित्दै आफ्नो फुटबल करिअरलाई सुखद अन्त्य गर्न चाहन्छन् । सम्भवतः उनका लागि यो संस्करणको विश्वकप अन्तिम हुनेछ ।  

उपाधि जितेको २० वर्षपछि, ब्राजिलका खेलाडी कीर्तिमानी छैटौं उपाधि चुम्न चाहान्छन् । के ब्राजिलियन खेलाडीहरुले आफ्नो देशका जनताको लागि पूनः यो क्षण दोहोर्याउन सक्छन् ? के नेमारको क्याप्टेनसिपमा त्यो सम्भव छ ? यी सबै प्रश्नको जवाफ कतारमा हुने टूर्नामेंटले दिनेछ । 

 

Logo