पाका केसीको संसद प्रवेश [भिडियाेसहित]

पाका केसीको संसद प्रवेश [भिडियाेसहित]


सबैभन्दा पाको उमेरका सांसद चित्रबहादुर केसी फेरि संसद प्रवेश गरेका छन् । ८० वर्षीय केसी यही मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा बागलुङ क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् । देशभर युवा पुस्ताका उम्मेदवारले चुनाव जितिरहेको अवस्थामा पनि उनी जनताको रोजाइमा परेका हुन् । सबै उमेर समूहका व्यक्तिको प्रिय रहेका कारण युवा उम्मेदवारलाई पराजित गरी उनी संसद प्रवेश गरेका हुन् । 

स्पष्ट एवं उखान टुक्का मिश्रित भाषणका कारण उनलाई धेरैले चिन्ने गरेका छन् । संसद वा अन्यत्र जहाँकहीँ उनको भाषण रुचीपूर्वक सुनिने गरेको छ । झर्रा नेपाली शव्द, पर्वतेली लवजमा व्यङ्य मिश्रित शैलीमा उनले भाषण गर्ने गर्छन् । संसदमा उनको भाषण सुन्दा निकै आनन्द आउने अन्य सांसदहरुले भन्ने गरेका छन् ।

सादा जीवन शैली अपनाउने केसी संघीयताको कट्टर आलोचक राष्ट्रिय जनमोर्चाका नेता हुन् । वर्षौ सांसद भएका केसी मैतीदेवीबाट दिनहु टेम्पो चढेर संसद जाने गरेको धेरैले देख्ने गरेका थिए । उपप्रधानमन्त्री समेत भैसकेका केसीको सरल जीवन-यापनबाट उनको डेरा रहेको क्षेत्र मैतीदेवी घट्टेकुलोका वासिन्दाहरु प्रभावित भएका थिए । 

सत्ता गबन्धनका साझा उम्मेदवारका रुपमा उनी जनमोर्चाको राम्रो उपस्थिति रहेको बाग्लुङ- १ मा चुनावी प्रतिष्पर्धामा थिए । केसीले २१ हजार ४ सय ४८मत सहित संसद प्रवेश गरेका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ४६ वर्षीय सूर्य पाठकले १८हजार ९ सय १३ मत ल्याएका छन् ।

Logo