चुनावमा होमिएका चिकित्सकः को निर्वाचित, को पराजित ? [भिडियाेसहित]

चुनावमा होमिएका चिकित्सकः को निर्वाचित, को पराजित ? [भिडियाेसहित]


मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चिकित्सकहरुले समेत उम्मेदवारी दिएका थिए । चुनावमा उम्मेदवारी दिएका मध्ये कसैले राजनीतिक दलबाट नै टिकट पाएका थिए भने कसैले स्वतन्त्र उम्मेदवारी दिएका थिए । ती मध्ये कसले जित हात पार्न सफल भए ? कसले हार व्यहोरे आज हामी यसै विषयमा चर्चा गर्नेछौं । 

क–कसले जित हासिल गरे ?  
निर्वाचनपछिको मतगणना अनुसार चुनावमा उत्रिएका धेरै चिकित्सकहरु पराजित भएका छन् । केहीले भने जित हात पारेका छन् । जित्ने मध्येकी एक हुन्, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की । ललितपुर क्षेत्र नम्बर ३ बाट डा. कार्कीले जित हासिल गरेकी हुन् । 

शल्यचिकित्सक डा. कार्कीले ३१ हजार १३६ मत ल्याएर चुनाव जितेकी हुन् । उनले नेकपा एमालेका अमृत खड्का र माओवादी उम्मेवार पम्फा भुसाल सहितका उम्मेदवारहरुलाई पराजित गरेकी हुन् । उनका प्रतिद्वन्द्वी एमालेका खड्काले १२ हजार ९६३ र भुसालले ८ हजार ७६९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला र डा. शशांक कोइरालाले पनि जित हासिल गरेका छन् । उनीहरुले चिकित्सकीय अभ्यास छाडेर राजनीतिमा होमिएको लामो समय भएको कारण उनीहरुलाई चिकित्सकका रुपमा भन्दा पनि राजनीतिक दलका नेताका रुपमा नै चिनिन्छ । डा. शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ नेकपा एमालेका लालबाबु पंडितलाई हराएका हुन् । पण्डितले १२ हजार २ सय ८६ मत ल्याउँदा कोइरालाले ३५ हजार २१८ मत ल्याए । यसैगरी डा. शशांक कोइराला नवलपरासी पूर्व क्षेत्र नं. १ बाट २७ हजार १२६ मतका साथ विजयी भएका हुन् ।

नोबल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले पनि यस निर्वाचनमा जित हासिल गरेका छन् । डा. सुनिल शर्माले पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पराजित गरेका हुन् । डा. शर्मा मोरङ क्षेत्र नं. ३ बाट ४५ हजार ९७ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार भानुभक्त ढकाललाई २१ हजार १०४ मतान्तरले पराजित गरेका हुन् । एमाले नेता भानुभक्त ढकालले २३ हजार ९९३ मत ल्याए । 

क–कसले हार व्यहोरे ? 
सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार डा भोजराज अधिकारी भने पराजित भएका छन् । चितवन क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा होमिएका डा. अधिकारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले पराजित गरेका हुन् । पाण्डेले ३४ हजार ६६२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी डा. अधिकारीको मत २४ हजार ६७१ मा सिमित भयो । 

काठमाडौं क्षेत्र नं ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट उम्मेदवार बनेका डाक्टर रामप्रसाद उप्रेती पनि पराजित भएका छन् । उप्रेतीले ३ हजार १६२ मत ल्याएका छन् । त्रिवि शिक्षण अस्पतालबाट अवकाश पाएका डा. उप्रेती चुनावी मैदानमा होमिए पनि जित भने हासिल गर्न सकेनन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसका प्रदीप पौडेल १५ हजार २६९ मत ल्याई विजयी भए । 

त्यस्तै, काठमाडौं क्षेत्र नम्बर ४ मा हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका डा. अर्चन शम्शेर राणा पराजित भएका छन् । उनले एक हजार २१४ मत ल्याएका छन् । सो क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचित भएका छन् । 

यसैगरी, ललितपुर क्षेत्र नम्बर २ मा डा. सुदीप शाक्य पनि पराजित भए । दन्त रोग विशेषज्ञ डा. शाक्य लौरो चुनाव चिन्ह भएको हाम्रो नेपाली पार्टीका उम्मेदवार हुन् । डा.शाक्यले ८ हजार ८८६ मत ल्याएर दोस्रो भए । 

हाम्रो नेपाली पार्टीबाट सप्तरी क्षेत्र नं.३ बाट चुनावी मैदानमा होमिएका डा.नवीन मण्डल पनि पराजित भएका छन् । मण्डलले २८५ मत मात्र ल्याएका छन् । उक्त क्षेत्रमा २६ हजार १६६ मत ल्याउँदै कांग्रेसका दिनेश कुमार यादव निर्वाचित भएका छन् ।    

त्यसैगरी, रौतहट क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट डा. फिर्दोस आलम पनि पराजित भएका छन् । डा. आलमलाई स्वतन्त्र उम्मेदवार किरणकुमार साहले पराजित गरेका हुन् । साहको ३२ हजार ८४२ मत आएको छ भने डा. आलमको २८ हजार २४८ मत आएको छ ।

पूर्व स्वास्थ्य राज्यमन्त्री डा. यादव पनि पराजित
यस निर्वाचनमा चिकित्सकीय पेशा छाडेर पाँच वर्षअघि मात्र संसदमा आएका डा. सुरेन्द्र यादव पनि पराजित भएका छन् । जसपाबाट महोत्तरी क्षेत्र नम्बर ४ मा चुनावी मैदानमा उत्रिएका डा. यादवलाई नेपाली कांग्रेसका महेन्द्रकुमार रायले पराजित गरेका हुन् । स्वास्थ्य राज्यमन्त्री समेत भइसकेका डा. सुरेन्द्रकुमार यादवलाई रायले ४ हजार १२४ मतले पराजित गरेका छन । यादवले २१ हजार २९६ मत ल्याएका हुन् । 

यसैगरी, बारा १ बाट राकेश न्यौपाने, सुनसरी २ बाट डा. फरेन्द्र शाह र सप्तरी १ बाट डा. रोहित पोखरेल पनि पराजित भएका छन् । बारा- १ मा न्यौपाने हाम्रो नेपाली पार्टीबाट चुनावी मैदानमा होमिएका थिए । डा. न्यौपानेले ७३२ मत ल्याएका छन् । उक्त क्षेत्रमा नेकपा एमालेका अच्युतप्रसाद मैनालीले ३९ हजार १९५ मत ल्याएर विजयी भए । 

सुनसरी- २ मा स्वतन्त्र उम्मेदवार डा. फरेन्द्र शाह पनि पराजित भएका छन् । डा.शाहले २५१ मत ल्याएका छन् । उक्त क्षेत्रमा नेकपा एमालेका भीमप्रसाद आचार्य ३२ हजार २४ मत सहित विजयी भएका हुन् ।

सप्तरी- १ का डा.रोहित पोखरल १ हजार ५३६ मत ल्याई पराजित भए । उनको क्षेत्रमा जसपाका नवलकिशोर साह सुडी २३ हजार ६०४ मत ल्याएर निर्वाचित भएका छन् ।

Logo