यी व्यवसायीहरु जसले गरे संसदमा प्रवेश [भिडियोसहित हेर्नुहोस्]

यी व्यवसायीहरु जसले गरे संसदमा प्रवेश [भिडियोसहित हेर्नुहोस्]


गत मंसिर ४ मा सम्पन्न संघ तथा प्रदेशको निर्वाचनमा होमिएका व्यवसायीहरु मध्ये केही विजयी भएका छन् । तीमध्ये केहीले पुराना राजनीतिक दलबाट उम्मेदवारी दिएका थिए भने केहीले नयाँ दलबाट लडेका थिए । उम्मेद्वारी दिएका मध्ये क–कसले जित हात पारे ? आज हामी यही विषयमा चर्चा गर्नेछौँ । 

१.बिनोद चौधरी (नवलपरासी –१) 
आम निर्वाचन २०७९ मा चुनाव जित्ने व्यवसायीको सूचीमा अर्बपति बिनोद चौधरी परेका छन् । उनी नवलपरासी पश्चिम १ बाट प्रतिनिधि सभा सदस्यमा  निर्वाचित समेत भएका हुन् । यसअघि दुईपटकसम्म समानुपातिक सांसद बनेका चौधरीले पहिलोपटक प्रत्यक्षतर्फ चुनाव जितेका हुन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका चौधरीले जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई पराजित गरी प्रतिनिधि सभा सदस्य बनेका हुन् । नवनिर्वाचित चौधरीको खाद्य पदार्थ, पर्यटन, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा लगानी रहेको छ ।  

२.राजेन्द्र बजगाई (गोरखा–१) 
गोरखा क्षेत्र नं. १ बाट चुनावी मैदानमा रहेका व्यवसायी राजेन्द्र बजगाईले प्रतिनिधि सभा सदस्यमा जित हात पार्न सफल भएका हुन् । विगत २७ वर्षदेखि पर्यटन क्षेत्रमा आवद्ध भई ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) का पूर्व महासचिव समेत रहेका बजगाईले नेकपा एमालेका रामशरण बस्नेतलाई पराजित गर्दै संसदमा प्रवेश गरेका हुन् । 

३.योगेश गौचन थकाली (मुस्ताङ) :
नेपाली कांग्रेसको राजनीतिसँगै पर्यटन व्यवसायीको समेत छवि बनाएका योगेश गौचन थकालीले मुस्ताङमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । थकालीले नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई पराजित गरी सांसद बनेका हुन । 

४.गणेश पराजुली (काठमाडौं–७): 
राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नंं. ७ मा उम्मेदवार रहेका पर्यटन व्यवसायी गणेश पराजुली पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले गठबन्धन दलबाट उम्मेदवार रहेकी मानुषी यमी र एमालेबाट उम्मेदवार रहेका श्यामकुमार घिमिरेलाई हराउँदै उनी निर्वाचित भएका हुन् । पराजुली पर्यटकीय नगरी ठमेलमा कफी सप र आयात, निर्यात लगायतका व्यवसायमा आवद्ध छन् । 
 

५.धवल शम्शेर राणा (बाँके–२ ):
व्यवसायी एवं समाजसेवी छवि बनाएका धवल शमशेर राणा राष्ट्रिय प्रजातत्र पार्टी (राप्रपा) को तर्फबाट बाँके–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।  नेपालगञ्जमा बाटिका होटल र बर्दिया राष्ट्रिय निकुञ्जमा रोयल एडभेञ्चर रिसोर्ट चलाउँदै आएका राणाले जसपा नेपालका मोहमद इश्तियाक राईलाई पराजित गरेका हुन् । उनी यसअघि नेपालगञ्जको मेयर बनेका थिए । 

६.मनबहादुर गुरुङ (कास्की–१):
अर्का व्यवसायी मनबहादुर गुरुङ कास्की क्षेत्र नं १ मा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका छन् । पोखरामा होटल व्यवसायमा आवद्ध रहेका गुरुङले नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका किशोरदत्त बराललाई हराएका हुन् ।  

७.टेकबहादुर गुरुङ (मनाङ):
राजनीतिमा सक्रिय रहेका मनाङका पूर्व पर्यटन व्यवसायी टेकबहादुर गुरुङ मनाङबाट प्रतिनिधि सभा सदस्य निर्वाचन जित्न सफल भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार रहेका गुरुङले एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् । 

८.दीपक खड्का (संखुवासभा):
नेपाली कांग्रेसको तर्फबाट संखुवासभमा प्रतिनिधि सभा सदस्य रहेका पर्यटन व्यवसायी दीपक खड्का पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमलाई हराउदै उनी संसद प्रवेश गरेका हुन् ।
 

Skip This
Logo