काँग्रेस संसदीय दलको नेतामा गगन थापा हार्नुका ५ कारण

काँग्रेस संसदीय दलको नेतामा गगन थापा हार्नुका ५ कारण


नेपाली काँग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापा पराजित भएका छन् । बुधबार सम्पन्न संसदीय दलको निर्वाचनमा नेता थापा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएका हुन् । निर्वाचनमा सभापति देउवाले ६४ र महामन्त्री थापाले २५ मत मात्र पाएका थिए । संसदीय दलको निर्वाचनमा ८९ जना सांसदले मतदान गरेका थिए । 

चर्चित युवानेता गगन थापाको संसदीय दलको नेताको निर्वाचनमा भएको पराजयको विषय नेपाली राजनीतिक वृत्तमा विशेष चर्चामा छ । मुलुकको राजनीतिक नेतृत्व लिन सक्षम र सम्भावनायुक्त नेता हुँदाहुँदैपनि गगन थापा किन हारे भन्ने विषयमा धेरैले बहस गरेको सुनिन्छ । उनको पराजयका पछाडि विभिन्नले विभिन्न कारण देखाएका छन् । हामीले पनि उनको पराजयका मुख्य पाँच कारण रहेको विश्लेषण गरेका छौँ-

१. नेपाली काँग्रेस संसदीय दलको नेतामा गगन थापा पराजित हुनुमा मिडिया परिचालन र भ्रम एउटा कारण हो । गगन थापा समूहले गगनलाई स्थापित हुनेगरी आमसञ्चार र सामाजिक सञ्जाललाई भरपूर प्रयोग गरेको छ । यसमा थापा समूह सफल पनि भएको छ । तर उनीहरुले नबुझेको कुरा मिडिया परिचालन र यसबाट आएको वाहवाही मात्र सबै थोक होइन । नयाँ राजनीतिक दलहरुले गरेको शैलीबाट मिडिया क्याम्पेन गरेपनि यसभित्र राजनीतिक विषयवस्तु प्रवेश गराउन नसक्नु गगन थापाको कमजोरी हो । थापा समूहले गरेको मिडिया क्याम्पेनलाई पार्टीभित्रै पनि कतिपयले मिडिया स्टन्टका रुपमा बुझे । 

२. दोस्रो कारणमा गगन थापा र उनको समूहले खास राजनीतिक खेल खेल्न सकेनन् । थापा समूहको तयारी पर्याप्त हुन सकेन भने मतदाताको रुचि र संस्थापन पक्षबाट हुनसक्ने सबै संयन्त्र परिचालनको प्रभाव रोक्न सफल भएन । इतर पक्षका सबै नेताहरुलाई समयमै आफ्नो पक्षमा पार्न सकेनन् गगन थापाले । निर्वाचनको अघिल्लो दिनमात्र नेता शेखर कोइरालाको समर्थन लिन सफल देखिएपनि त्यो धेरै ढिलो भैसकेको थियो । नेता कोइरालासँगको छलफलमा ३१ जना सांसद आफ्नो पक्षमा रहेको देखिएपनि २४ घण्टा नबित्दै उनीहरु मध्येका छ जनाले कित्ता बदलेकोले उनको लबिङ नपुगेको देखिन्छ । आफ्नो पक्षमा खुल्दै आएकाको संरक्षण र पक्षमा आउन सक्ने दोधारका सांसद तान्न उनी असफल देखिए । 

३. गगन थापा पराजित हुनुको तेस्रो कारणमा जित्ने र जिताउने अधिकांश पहिलो पुस्ताका नेता हुनु हो । उनीहरु उमेर समूह, रुचि र संगत सबै हिसाबले पुरानो नेतृत्वको निरन्तरताका पक्षमा देखिए । राष्ट्रिय राजनीति र दलभित्र पनि पटक पटक नेतृत्व हस्तान्तरणका कुराहरु सुनेपनि उनीहरु परिवर्तनका निम्ति तयार भएनन् । 

४. गगन थापा पराजयको अर्को कारणमा बिचको पुस्तामा राजनीति समाप्त हुने भय पनि हो । किनभने गगन थापाले संसदीय दलको नेतामा विजय हुँदा उनी सदा राजनीतिमा हावी भैरहने र आफ्नो अवसर गुम्ने डर भएकोले बिचको पुस्ताले पनि गगन थापालाई चाहेर पनि मत दिन सकेन ।  

५. गगन थापाको पराजयको पाँचौ कारणमा युवापुस्ताको संरक्षणमा गगन थापा स्वयं उदासिन रहनु हो । आम निर्वाचन लगत्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले भावी प्रधानमन्त्रीमा गगन थापालाई अघि सारेपनि त्यसपछि आवश्यक तयारी पुग्न सकेन । गगन थापालाई अघि बढाउन विश्वप्रकाश शर्मा र प्रदीप पौडेलजस्ता युवा नेताहरुले सहयोग गरेपनि त्यसलाई व्यवस्थित गर्न गगन थापाले सकेनन् । र गगन थापा स्वयंले पनि समकालीन युवा नेतृत्व पङ्क्तिलाई प्रश्रय दिन सकेनन् । आफूसँगै विद्यार्थी राजनीति गरेका र आफूपछि राजनीतिमा प्रवेश गरेका युवापुस्ताको नेतृत्वको रक्षा र परिचालन गर्न गगन असफल भए । निर्वाचनमा टिकट उपलव्ध गराउने लगायत अन्य अवसरहरुका लागिपनि गगन थापाबाट पर्याप्त लबिङ हुन सकेन । नेविसंघ तरुण दल लगायत पार्टीका जनवर्गीय संगठन र सुभेच्छुक संस्थाका समकालीन युवा नेतृत्वलाई एकतावद्ध गरी सामूहिक बल पैदा गर्ने विषयमा गगन थापा चाहेर वा नचाहेर प्रभावकारी ढंगले काम गर्न असफल भए । योपनि उनको पराजयको मुख्य कारणमध्ये एक हो । 

संसदीय दलको नेतामा पराजय हुनुका पछाडि यी बाहेक अन्य कारणहरु पनि हुन सक्छन । ती समयको अन्तरालसँगै बाहिरिने नै छन् । तरपनि एउटा कुरा के स्पष्ट होभने पाँच पटक प्रधानमन्त्री भएर पटक-पटक पार्टी सभापति बनिसकेका बहालवाला प्रधानमन्त्रीसँग उम्मेदवारी दिन हिम्मत गर्ने गगन थापा नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवापछिको हिम्मतिलो र सम्भावना बोक्नेमध्येका दोस्रो व्यक्ति भने हुन् । 
 

Skip This
Logo