चार्ल्स शोभराज अन्ततः स्वदेश फर्काइए

चार्ल्स शोभराज अन्ततः स्वदेश फर्काइए


अपराधको दुनियाँमा ‘बिकिनी किलर’, ‘सिरियल किलर’,‘ द सर्पेन्ट’ भनेर चिनिने कुख्यात अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराज एकपटक फेरि सञ्चारमाध्यममा छाएका छन् । भारत, थाईल्यान्ड, टर्की, इरान लगायत मुलुकमा झन्डै २० जनाभन्दा बढीको हत्याका आरोपित शोभराजले नेपालमा पनि दुई जनाको हत्या गरेको पुष्टि भएको थियो । भेष बदलेर प्रहरी प्रशासनलाई समेत आश्चर्यमा पार्न सक्ने अद्भुत क्षमता राख्ने शोभराज अपराध बाहेक आफ्नो आकर्षक व्यक्तित्व र ड्यासिङ लुकका कारण पनि चर्चामा आइरहन्छन् । सर्वोच्च अदालतको आदेशअनुसार विगत १९ वर्षदेखि केन्द्रीय कारागारको गोलघरमा कैदी जीवन बिताउँदै आएका फ्रान्सेली नागरिक शोभराज कैदमुक्त भएका छन्। साथै उनी आजै १० वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी उनी स्वदेश डिपोर्ट भैसकेका छन् । आफ्नो जीवनका करिब ४ दशक जेलमै बिताएका शोभराज को हुन् त ? के लागेकै हो त उनको जेलजीवनमा पूर्णविराम ?  

४० वर्ष जेलमा बिताउने ‘बिकिनी किलर’ चार्ल्सको जीवनकथा
नेपालको सर्वोच्च अदालतले फ्रान्सेली सिरियल किलर चाल्र्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । उनको उमेरका आधारमा यो निर्णय गरिएको अदालतले जनाएको छ । ७८ वर्षका शोभराज मुटु रोगबाट पीडित छन् । कारागारबाट छुटेपछि उनलाई अध्यागमनमा बुझाइनेछ । आफ्नो मुलुक नफर्किँदासम्म उनी अध्यागमनको नियन्त्रणमा हुनेछन् । शोभराजमाथि २०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र क्यानडियन नागरिक क्यारियर लरेन्टको हत्या गरेको अभियोग लागेको थियो । भक्तपुर जिल्ला अदालतले शोभराजलाई ती दुई विदेशीको हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद अथवा (२० वर्ष कैद) सजाय सुनाएको थियो । हत्याको २८ वर्षपछि २०६० असोज २ मा पक्राउ परेका शोभराजलाई भएको जन्मकैद अनुसार २०८० असोज १ सम्म उनी थुनामा बस्नुपर्ने थियो । हाल ७८ वर्ष पुगेका शोभराजले आफूले पनि ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा पाउनुपर्ने माग गर्दै आएका थिए । 

को हुन् चार्ल्स शोभराज ?
चार्ल्स शोभराज अपराधको दुनियाँमा चर्चित नाम हो । भियतनामी मूलका चाल्र्स शोभराजको जन्म सन् १९४४ मा भियतनामको होची मिन्ह शहरमा भएको थियो । चाल्र्सको जीवनका केही वर्ष एशिया र फ्रान्समा बित्यो । शोभराजकी आमा भियतनामकी थिइन् र बुबा भारतीयमुलका थिए । मिडिया रिपोर्टका अनुसार चाल्र्सका आमाबुवाले विवाह गरेका थिएनन् । पछि बाबु भारत फर्किएपछि आमाले भियतनाममा तैनाथ फ्रान्सेली सेनाका लेफ्टिनेन्टसँग सम्बन्ध गास्न पुगिन् । सिपाहीले दुबैलाई स्वीकारे र यसरी चार्ल्सले फ्रेन्च नागरिकता पाए । पछि उनकी आमा र आमाका प्रेमीबाट उनी टाढिन पुगे र आपराधिक गतिविधिमा संलग्न भए । 

यसरी पाइला टेके अपराध संसारमा
चार्ल्सले सानैदेखि अपराधको संसारमा प्रवेश गरे । सन् १९६३ मा चाल्र्स चोरीको अपराधमा पहिलो पटक जेल गएका थिए । उनी पहिलो पटक फ्रान्सको पोइसे जेलमा गएका थिए । जेलबाट रिहा भएपछि चार्ल्सले पेरिसको उच्च वर्गीय समाजका मानिसहरूलाई फसाउन थाले ।

चार्ल्सको भारतयात्रा
चार्ल्स फ्रान्सेली जेलबाट बाहिरिएपछि पनि अपराधको दुनियाँमा सक्रिय रहे । फ्रान्समा रहँदा उनले धेरै घोटाला गरे र धेरै पैसा जम्मा गरे । त्यसपछि उनी युरोप छोडेर इस्तानबुल हुँदै भारत आए । यसैबीच चाल्र्सले सेन्टल नामकी महिलासँग पनि विवाह गरे ।विवाहपछि दुवै मिलेर पर्यटकलाई लुटेर उनीहरुको राहदानीको दुरुपयोग गरी संसार घुम्न थाले । मुम्बईमा बस्दै गर्दा चाल्र्सले आफ्नो पहिलो सन्तानलाई जन्म दिए। छोरी उषाको जन्मपछि चार्ल्सको अपराध निकै बढ्यो । उनले जेलबाट भाग्ने कला पनि सिकिसकेका थिए । सन् १९७० को दशकमा चाल्र्सले भारतमा आफ्नो खुट्टा फैलाउन थाले । चाल्र्सले चोरीका कारहरूको दलाली गर्न थाले । उनले यी कारहरू शौखिन धनाढ्य भारतीयहरूलाई बेच्न थाले। पाकिस्तान र इरानबाट कार चोरेर सीमा नाका हुँदै उनी भारत ल्याउँथे । त्यसपछि उनी भारतको एउटा ‘फ्रेन्च सोसाइटी’ मा आबद्ध भएर त्यहाँ पुगेर प्रभावशाली व्यक्तिहरुसँग हिमचिम बढाए । उनीयी मानिसहरूसँग जुवा खेल्न थाले तर चाल्र्सले जुवामा आफ्नो सर्वस्वगुमाए  । त्यसपछि चाल्र्सले दिल्लीको अशोका होटलको छतमा डकैती गरे ।

यो डकैतीपछि उनी दिल्लीबाट मुम्बई एयरपोर्ट जाँदै थिए तर भन्सार विभागले उनलाई शंका गर्योे र उनले लुटेको झोला बरामद गर्यो । चार्ल्स त्यहाँबाट भागे तर चाँडै समातिए र तिहाड जेलमा राखियो। चाल्र्सले भारतको दिल्लीस्थित तिहाड जेलमा १२ वर्ष बिताए, यद्यपि उनी एक पटक तिहाडबाट भाग्न सफल भए। 

नेपाल आउनुअघिसम्म शोभराज पेरिसमा निकै सोखिन जीवनशैलीमा बस्दै आएका थिए । त्यसपछि उनी नेपाल भ्रमणका क्रममा पक्राउ परे । त्यही समयदेखि उनी काठमाडौंस्थित केन्द्रीय कारागारमा जेल जीवन बिताउँदै आएका थिए । रोचक कुरा के भने ७१ वर्षे कैदी शोभराजले जेलमै रहँदा पनि २२ वर्षीया युवती निहिता विश्वाससँग विहे गरे। पछिल्लो समय उनीहरुको वैवाहिक सम्बन्धमा केही दरार आएको बताइएको थियो । आर्थिक अभावकै कारण उनीहरुको वैवाहिक सम्बन्धमा समस्या आएको बताइन्छ । निहिता शोभराजको मुद्धा हेर्दै आएकी एक न्यायाधीशकी छोरी हुन् ।

धेरै भाषाहरूका ज्ञाता चार्ल्स
चार्ल्स धेरै भाषामा निपुण भएको पनि सञ्चारमाध्यमहरुमा चर्चा भइरहन्छ । चार्ल्ससँग एक व्यापक मनोविज्ञान छ । आफ्नो साहसी जीवनशैलीलाई निरन्तरता दिन उनी हत्या गर्न प्रेरित भए ।  भेष बदल्नमा माहिर र आफ्नो आकर्षक व्यक्तित्वका कारण महिलासँग सजिलै संगत गर्ने चाल्र्सले आफू एक बुद्धिमान व्यक्ति हुँदाहुँदै पनि हत्या जस्तो आपराधिक क्रियाकलापमा आफ्नो जिन्दगी बिताए । चाल्र्स अति चलाख डाँकुको रुपमा चर्चित छन् । यतिसम्म कि उनले जेलका सुरक्षाकर्मीहरुलाई पनि सजिलै आफ्नो हातमा लिन सक्थे । तिनै सुरक्षाकर्मीको सहायतामा उनी कतिपय आफ्ना व्यक्तिगत फाइदा उठाइरहन्थे ।फेक पासपोर्ट र अन्य कागजातकै सहायतामा उनी पूरा यूरोप र एसिया घुमिसकेका छन् । साथै चाल्र्स सौखिन हत्याराको रुपमा पनि चिनिन्छन् । 

यसरी बने बिकिनी किलर
चार्ल्स शोभराजले आफ्ना एक भारतीय सहयोगी अजय चौधरीसँग मिलेर थाइल्याण्डमा पहिलो हत्या गरेका थिए । सन् १९७५ मा टेरेसा नोल्टन नामकी पर्यटक बिकिनी लगाएको अवस्थामा पोखरीमा मृत फेला परेकी थिइन् । यो चाल्र्सको पहिलो क्रूर कार्य थियो। ७० को दशकमा चाल्र्सले दक्षिण–पूर्वी एसियामा १२ पर्यटकको हत्या गरेका थिए । उनीहरुलाईपानीमा डुबाएर, घाँटी थिचेर, चक्कुले वा जिउँदै जलाएर मारेका थिए । आफ्नो आकर्षक व्यक्तित्वका कारण चाल्र्सले महिलाहरुसँग सजिलै संगत गर्थे ।

चार्ल्सले थाइल्याण्ड, नेपाल र भारतका पर्यटक विशेषगरी घुमुवाहरुलाई लक्षित गरेका थिए । उनले प्रायः उनीहरूसँग मित्रता गर्थे र त्यसपछि लागूपदार्थ खुवाएर उनीहरूका सामान र पहिचान चोर्थे । शोभराज बिकिनी किलर भनेर मिडिया र प्रहरीमा चिनिन्थे, किनभने उनको अपराधी नजरमा प्रायः बिकिनी लगाएका पर्यटक युवतीहरू पर्ने गर्थे । शोभराज अपरिचित व्यक्तिलाई धोका दिन र युरोप तथा एसियाभरि प्रहरीलाई छल्न माहिर थिए । त्यसैले उनलाई द सर्पेन्ट (सर्प) पनि भन्ने गरिएको छ।

जेलभित्रैबाट सञ्चारकर्मीसँग अन्तर्वार्ता 
नेपालको जेलमा थुनिएका चार्ल्सले एकपटक जेलभित्रैबाट अन्तर्वार्ता दिएका थिए । यो अन्तर्वार्ता सार्वजनिक भएपछि कारागारभित्र बसेका चाल्र्सले कसरी अन्तर्वार्ता दिए भन्नेबारे नेपाल प्रशासनको होश उडाएको थियो। गृह मन्त्रालयले त्यतिबेला कैदीले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिनु गैरकानुनी भएको बताएको थियो ।

चार्ल्स फरार भएका प्रसिद्ध घटनाहरु
सन् १९७१ मा चार्ल्स शोभराज रोड्स प्रहरी चौकीको माथिल्लो तलाबाट हाम फालेर भागेका थिए । सोही वर्ष मुम्बईमा एपेन्डिसाइटिस दुखाइको बहाना बनाएर जेलबाट भागे । त्यसपछि सन् १९७२ मा काबुल जेलमा थुनिए । त्यतिबेला उनले गार्डलाई मादक पदार्थ खुवाएर बेहोश बनाएर भागेका थिए । यसपछि सन् १९७५ मा उनी ग्रीसको निकै सुरक्षित मानिने एजिना आइल्याण्डको जेलबाट भागेका थिए ।

बलिउड चलचित्र बन्यो चार्ल्सको जीवनीमा
चार्ल्सको जीवनीमा आधारित प्रवल रमनको फिल्म ‘मैं और चाल्र्स’ सन् २०१५ मा रिलिज भएको थियो । बलिउड बाहेक नेटफ्लिक्सले पनि यी कुख्यात अपराधीको कथामा चासो देखायो र ‘द सर्पेन्ट’ नामक वेव सिरिज बनाएको थियो ।  झट्ट देखिने व्यक्तित्व जति आकर्षक भएपनि शोभराजको मनोविज्ञान अपराध कर्ममै सिमित रहँदै आएको पाइएको छ । उनको चरित्रलाई धेरैले विभिन्न कोणबाट चर्चा गरेपनि यो अझै रहस्यको गर्भमै रहेको छ ।

Logo