बढ्यो कोरोना संक्रमणको जोखिम

बढ्यो कोरोना संक्रमणको जोखिम


नेपालमा कोरोनाभाइरस, कोभिड–१९ को जोखिम फेरि बढेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार छिमेकी राष्ट्र चीनमा ओमिक्रोनको सब–भेरियन्ट बीएफ–७ तीव्र रूपमा फैलिएको छ भने अर्को छिमेकी राष्ट्र भारतमा पनि बीएफ–७ को सङक्रमण पुष्टि भइसकेकाले नेपालमा जोखिम बढेको हो ।

तर, नेपालमा हालसम्म कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ–७ पुष्टि नभए पनि यसको जोखिम उच्च रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताएका छन् । “नेपालमा अहिलेसम्म पुष्टि भएको छैन्”, उनले भने, “विगतमा पनि जोखिम देखिएकै हो । खास गरी चीनभन्दा पनि भारतको खुल्ला सिमानाका कारण ठूलो जनसङख्या भारत नेपाल आवतजावत गर्ने भएकाले बीएफ–७ को जोखिम उच्च छ ।”

यस्तै, बीएफ–७ पनि ओमिक्रोनकै सब भेरियन्ट भएकाले लगभग लक्षणहरु मिल्दो जुल्दो भएको डा. पुनले बताएका छन् । उनका अनुसार ओमिक्रोन बीएफ–७ बाट संक्रमित भएमा घाटी दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, नाकबाट पानी बग्ने, नाक बन्द हुने र जिउ दुख्ने  जस्ता अक्षण देखा पर्छन् । 

ओमिक्रोन बीएफ–७छिटो फैलिने र एक जना संक्रमित भएपछि १० जनामा सार्नसक्ने डा. पुनले बताए । छिटो फैलने धेरैलाई सार्नसक्ने भनिएको छ, उनले भने, त्यसैले ज्येष्ठ नागरिक, दीर्घरोगी र खोप नलगाउनेहरु सुरक्षित भएर बस्नुपर्छ । विगतमा पनि ओमिक्रोनले तेस्रो लहर ल्याउँदा ज्येष्ठ नागरिक, दीर्घरोगी र खोप नलगाउनेलाई दुख दिएको उनको भनाइ छ । सबै नागरिकले ओमिक्रोन बीएफ–७ बाट सुरक्षित रहन बुस्टर खोप अनिवार्य लगाउनु पर्नेमा उनले जोड दिएका छन् । 

डा. पुनका अनुसार कारोना भाइरस निरन्तर समयअनुसार आफ्नो स्वरुप परिवर्तन गरेर अघि बढेको अवस्था छ । ओमिक्रोन अघिल्लो भेरियन्टभन्दा कम घातक मानिन्छ तर पनि विगतलाई आधार मान्ने हो भने यसले ज्येष्ठ नागरिक, दीर्घरोगी र खोप नलगाएकाहरुलाई धेरै दुःख दिएको पुष्टि भइसकेकोे छ । त्यसैले सबै नागरिकले खोप लगाई सुरक्षित बस्न डा. पुनले सुझाव दिएका छन् । 

बुस्टर डोज अनिवार्य 
कोरोनाको खोप लगाएको ६ महिनापछि त्यसको काम गर्ने क्षमतामा ह्रास आउने गर्छ । नेपालमा कुल जनसंख्यामध्ये दुई करोड २३ लाख २४ हजार ९ सय ३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । खोप लगाउने मध्ये पनि ठूलो सङ्ख्यामा ६ महिना/एक वर्ष नाघिसकेको छ । यसअघि ओमिक्रोन भेरियन्ट सङक्रमण हुँदा खोप नलगाउनेहरु प्रभावित भएकाले बुस्टर डोज सबैले अनिवार्य लगाउन सरुवा रोग विशेषज्ञहरूको सुझाव छ ।सरकार पनि ओमिक्रोनको नयाँ भेरियन्टलाई कम गर्न नयाँ खोप ल्याउने प्रक्रियामा छ । 

यस्तै, कोरोना सङक्रमणको जोखिम फरक–फरक तरिकाले देखिन सक्ने भएकाले आफू र अरूलाई सुरक्षित राख्न अनिवार्य मास्क लगाउन, बेलाबेलामा साबुनपानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न, कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्न, खोक्दा या हाँच्छ्युँ गर्दा रुमाल वा कुहिनाको प्रयोग गर्न र कोभिड–१९ विरुद्धको खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Logo