ग्लोबल आइएमई कसरी बन्यो नेपालकै नम्बर वान बैंक ? [भिडियोसहित]

ग्लोबल आइएमई कसरी बन्यो नेपालकै नम्बर वान बैंक ? [भिडियोसहित]


पछिल्लो समय वाणिज्य बैंकमा बिग मर्जरको क्रम सुरु भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिले पनि निरन्तरता दिने भएसँगै सुविधा प्राप्त गर्न बैंकहरु आपसमा गाभिन लागेका हुन् ।

यसैक्रममा ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू पनि मर्जर सम्झौता गरी पुस २५ गते (सोमबार) देखि एकीकृत कारोबार गर्ने भएका छन् । दुवै बैंकले अब ‘ग्लोबल आईएमई बैंक’ को नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । दुई वटा बैंक एक आपसमा गाभिएपछि ग्लोबल आईएमई बैंक मुलुककै सबैभन्दा ठूलो बैंक बनेको छ । तर, ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डूसँग मात्र मर्जर गरेर मुलुककै ठूलो बैंक बन्न सफल भएको होइन् । यसको सफलताको पछाडि छुट्टै इतिहास छ । 

२०६८ सालतिर तत्कालीन नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले एउटै समूहबाट लगानी भएका बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान नयाँ नीति अगाडि सारेका थिए । त्यसपछि धेरै बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्तिमा सामेल भए पनि ग्लोबल आईएमई बैंकको मर्जरको इतिहास फरक छ । यस बैंकले हालसम्म बैंक अफ काठमाण्डूसहित २१ वटा बैंक तथा वित्तिय संस्थासँग मर्ज गर्न सफल भई मुलुककै सबै भन्दा ठूलो बैंक बनेको छ । 

राष्ट्र बैंकले ल्याएको मर्जरको नीतिलाई पहिलो पटक कार्यान्वयन गर्ने एक मात्र बैंक हो ग्लोबल आईएमई बैंक ।  ग्लोबल आईएमई बैंकको नाम पहिले ग्लोबल बैंक मात्र थियो । 

बैंकको इतिहास पल्टायर हेर्ने हो भने २०६८ साल ग्लोबल बैंक र आइएमई फाइनान्स मर्ज भएका थिए । ग्लोबल बैंक र आईएमई फाइनान्स दुवै संस्थाका मुख्य लगानीकर्ता आईएमई ग्रुप नै थियो । त्यसैले नेपाल राष्ट्र बैंकको नीतिले पनि ग्लोबल बैंक र आईएमई फाइनान्सबीचको मर्जरलाई स्वीकृति दियो । र ग्लोबल बैक मुलुककै पहिलो मर्जर गर्न सफल बैंकको रुपमा परिचित भयो । मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई बैंक रहन पुग्यो । ग्लोबल बैंक र आईएमई फाइनान्सबीच मर्जर प्रक्रिया चलिरहेको बेला लर्डबुद्ध फाइनान्सलाई पनि गाभ्ने प्रक्रिया सुरु भयो र आईएमई फाइनान्ससँगै लर्डबुद्ध पनि ग्लोबलमा गाभिए । दुवै संस्था ग्लोबल बैंकमा आएपछि २०६९ असार २५ गतेदेखि ग्लोबल आईएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको बैंकले जनाएको छ ।

ग्लोबल आईएमई बैंकको मर्जर र प्राप्ति त्यतिमै रोकिएन। नौ महिनापछि फेरि सोसल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक पनि ग्लोबल आईएमई बैंकसँग गाभिए।सन् २०१३ मा तीनवटा संस्थासँग मर्जरमा गइसकेपछि ग्लोबल आइएमई बैंकले व्यवसायिक सफलता हात पार्न थालिसकेको थियो। त्यस लगत्तै अर्को वर्ष ‘बैंक अफ दि इयर २०१४’बाट सम्मानित भयो। राष्ट्र बैंकले आफ्नो समूह बाहेक अरु संस्थालाई पनि मर्जर गर्ने नीति ल्याएपछियसै वर्ष बैंकले ‘क’ समूहको कमर्स एन्ड ट्रस्ट बैंकलाई पनि आफूमा गाभ्यो। सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ अवार्ड हात पारेको ग्लोबल आईएमईले आफ्नो समूहभन्दा बाहिरका दुई संस्थालाई पनि मर्जर गर्ने प्रक्रिया अगाडि बढायोर प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग मर्जर भयो। त्यसपछि बैंकले हाथवे फाइनान्ससँग पनि मर्जर गरी एकीकृत कारोबार गर्न थाल्यो । त्यसपछिबैंकको चुक्ता पुँजी ८ अर्बभन्दा धेरै भयो । 

स–साना संस्थासँग मर्जर गरी सफलता हात पारेको ग्लोबल आईएमई बैंकले २०७६ सालमा ‘बिग मर्जर’ गर्ने योजना बनायो । र जनता र ग्लोबल आईएमई बैंक मर्जरमा गए । त्यसपछि एकीकृत कारोबार ०७६ मंसिर २० गतेदेखि सुरु गरेको बैंकले जनाएको छ । बैंकका अनुसार जनता बैंकसँग मर्जर भएपछि ग्लोबल आईएमई बैंक ठूलो बैंक बन्न पुग्यो।जनता बैंकसँग ८ अर्बको चुक्ता पुँजी र ग्लोबल आईएमईसँग १२ अर्बभन्दा धेरै चुक्ता पुँजी थियो । दुबै मिलाउँदा झन्डै २० अर्बको चुक्ता पुँजी भयो । ग्लोबल आइएमई बैंक र जनताबीचको मर्जर पूर्ण रुपमा सफल भएको बैंकले जनाएको छ । त्यसपछि पनि बैंकले मर्जरमा जाने क्रम जारी नै राख्यो । र हालसम्म २१ वटा संस्थासँग मर्जर गर्न सफल भएको छ । ग्लोबल आईएमई बैंकले नेपालमा मात्र होइन विदेशमा पनि कार्यालय विस्तार गरेको छ । बैंकको सम्पर्क कार्यालय अस्ट्रेलिया, बेलायत, दक्षिण कोरिया र भारतमा पनि रहेको बैंकले जनाएको छ । 

बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएपछि बिग मर्जरको विषयले झन महत्व पाउँदै गएको छ । ०७६ सालमा जनता बैंकसँग बिग मर्जर गरी सफता हात पारेको बैंकले २०७९ सालसम्म आइपुग्दा फेरी अर्को बिग मर्जर गर्न सफल भएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएसँगै बैंक अफ काठमाडूसँग बिग मर्जर गरी यही पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् बैंक अफ काठमाण्डूको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १ सय कित्ता नै सेयर प्राप्त गर्नेछन् । 

मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५ अर्ब, कूल निक्षेप ४०८ अर्ब, कूल कर्जा ३७६ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ। मर्जरपछि बन्ने नयाँ बैंकको कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको आधारमा नेपालको सबै भन्दा ठूलो बैंक बन्ने बैंकले जनाएको छ । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन्।त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन्।

दुई बैंकको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाख भन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ।

Logo