बन्ला त पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देशकै पर्यटनको आधार ?

बन्ला त पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देशकै पर्यटनको आधार ?


काठमाडौंको त्रिभुवन विमानस्थल र भैरहवाको गौतम बुद्ध विमानस्थलपछि पोखरामा बनेको विमानस्थल देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना सन् १९७१ मा पञ्चायतकालमै भएको हो । तर, लामो समयसम्म यसले गति लिन सकेको थिएन । सन् २०१६ मा मात्र यो परियोजना तीव्र गतिमा अघि बढ्यो ।

नयाँ विमानस्थलमा दैनिक आन्तरिकतर्फ ४८ र अन्तर्राष्ट्रिय तर्फ ६ उडान भर्न सकिने क्षमता रहेको बताइएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ २०० सिट क्षमतासम्मका एयर बस र बोइङ उड्न र अवतरण गर्न सक्नेछन् । विमानस्थल २४ सैं घण्टा सञ्चालन गर्न सकिने सुविधासहित बनाइएको छ। विमानस्थलको कुल लागत करिब २८ करोड डलरमध्ये ७ करोड डलर नेपाल सरकारले आफैँ र २१ करोड डलर चीनको ऋणबाट व्यहोरिएको छ । चिनियाँ ऋणको ब्याज करिब २ प्रतिशत छ जो, भैरहवा विमानस्थलको भन्दा दोब्बर महँगो हो ।

भैरहवा विमानस्थलमा एसियाली विकास बैंकलाई १ प्रतिशत मात्र ब्याज तिर्नुपर्दछ । पोखरा विमानस्थलको चिनियाँ ऋणको ब्याज तिर्न मात्र वार्षिक ३२ लाख डलर खर्च हुनेछ । यसले देशको वैदेशिक मुद्राको आय, सञ्चिती र खर्चमाथि निकै ठूलो दबाब बढाउने विश्लेषण रहेको छ । 

ठूलो खर्च र महँगो ऋणका बाबजुद विमानस्थलले अर्थतन्त्रलाई गति दिने सके राम्रो हुने देखिन्छ । तर, विमानस्थलको सञ्चालन के कसरी हुने हो, राम्रोसँग चल्ने हो वा नचल्ने हो, यसै भन्न सकिने अवस्था नभएको विज्ञहरु बताउँछन् । चिनियाँ ऋण २० वर्ष अवधिको मात्र भएको हुँदा विमानस्थलको आम्दानीबाट भुक्तान गर्न सकिने कुनै सम्भावना नभएको एकथरीको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पोखरा विमानस्थल देशको सबैभन्दा ठूलो गौरवको परियोजना भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । देशमा ३–३ वटा विमानस्थल किन भन्ने प्रश्नभन्दा पनि यसलाई कसरी प्रभावकारी हिसाबले संचालन गर्ने भन्नेतर्फ ध्यान दिन जरुरी भएको बताउँछन् ।

भैरहवा विमानस्थल गौतम बुद्ध जन्मस्थल लुम्बिनी र पोखरा विमानस्थल पोखरा–मुस्ताङ– अन्नपूर्ण, ढोरपाटन क्षेत्रको पर्यटकीय सम्भावनालाई दृष्टिगत गरी बनाइएका हुन् । भैरहवा र पोखरा–दुवै अन्तर्राष्ट्रिय राजनीतिक, प्रशासनिक, व्यापारिक तथा औद्याेिगक महत्वका शहर हैनन् । दुबैशहरको सम्भावना पर्यटकीय नै हो । भैरहवाको विमानस्थलको सम्भावना बुद्ध जन्मस्थल र धार्मिक पर्यटन हो भने पोखराको सम्भावना प्राकृतिक तथा धार्मिक पर्यटन हो । भैरहवा र पोखराले आफ्नो सम्भावनालाई आफैँ ब्रान्डिङ र उपयोग गर्न सक्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।

यता पूर्व गभर्नर दीपेन्द्रबहादुुर क्षेत्री भने पोखरा विमानस्थलले वि.सं. २०१२ देखिको नेपालीहरुको सपना बल्ल पूरा भएको र पोखरा विमानस्थलले लक्ष्यअनुरुप सफलता हासिल गर्नेमा आफू ढुक्क रहने बताउँछन् । कुनैपनि काम गरेपछि सबैभन्दा पहिला यसको कमजोर पक्षलाई टिप्पणी गर्नुभन्दा पनि सकारात्मक तथा सबल पक्षहरुलाई लिनुपर्ने उनको भनाइ छ । रिठ्ठेपानी डाँडा,ल्याण्डफिल साइट जस्ता समस्या भएपनि चाँडैसमाधान भई विमानस्थलले गति लिने उनको विश्वास छ । 
 
काठमाडौं नआइकनै लुम्बिनी र पोखरा घुमेर फर्किन चाहने वा पहिलो अवतरणको गन्तव्य लुम्बिनी र भैरहवालाई बनाएर नेपाल डुल्न चाहने अन्तर्राष्ट्रिय पर्यटकको ठूलो संख्यालाई आकर्षित नगरिकन यी विमानस्थल पूर्ण क्षमतामा चल्न सक्दैनन् । लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय पर्यटकहरूको उल्लेखनीय संख्या आएन भने यी विमानस्थलले देशको अर्थतन्त्रलाई कुनै योगदान गर्ने छैनन् । बरु उल्टै भार सावित हुनेछन् । आशा गरौं लक्ष्य अनुरुप सफलता हासिल भई नेपालीहरुको यो उत्साह सदैव रहनेछ ।

देशभर सबै किसिमका गरी ५४ विमानस्थल छन्। यीमध्ये ठप्प जस्तै रहेका १९ विमानस्थल प्रायः गौचरनमा परिणत भएका छन्। तारबार समेत छैन। बन्द विमानस्थलका जग्गा लगायत अन्य भौतिक सामग्रीको हरहिसाबमा नेपाल नागरिक उड्डयन प्राधिकरण अद्यावधिक छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै साढे सात दशकपछि भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गत जेठमा उडान भर्न थालियोे। त्यसको आठ महिनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ।यो मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २०३१ सालमा ३ हजार एक सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो। त्यसमा अपुुग जग्गा पछि थपेर विमानस्थल बनाइएको हो। तीन हजार आठ सय ९९ रोपनी क्षेत्रफलमा अहिले अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। सुरुको सम्झौताअनुसार सन् २०२१ जुलाई १० मा निर्माण सक्नेगरी जिम्मा लिएको चिनियाँ कम्पनी ‘चाइना सिएएमसिई’ ले शिलान्यासको डेढ वर्षपछि काम थालेको थियो। यो बीचमा कोरोना संक्रमण फैलियो। तर पनि चिनियाँ कम्पनीले काम अघि बढाइरह्यो। गत चैत तेस्रो साता निर्माण कम्पनीले महत्वपूर्ण पूर्वाधार सकिएको भन्दै विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। 

पोखरामा गत आइतबारदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सही उपयोग भएमा यसले पोखरासँगै समग्र राष्ट्रको अर्थतन्त्र चलायमान गराउने विश्वास गरिएको छ ।

झण्डै पाँच दशकको निरन्तरको प्रयाससँगै विमानस्थलबाट जहाज उड्ने र अवतरण हुन थालेसँगै आगामी दिनमा यो पोखराको समृद्धि र विकासका लागि कोसेढुङ्गा बन्नुपर्ने सरोकारवालाले बताएका छन् । विमानस्थल सञ्चालनका विभिन्न पूर्वाधारको अभावकै बीच विमानस्थल सञ्चालनमा आएको छ । यसले पोखरेली जनतालाई मात्र नभई समग्र नेपालीलाई नै निकै उत्साहित बनाएको छ।

Logo