कस्तो नियतिः यतीमै बिते दम्पती ! [भिडियाेसहित]

कस्तो नियतिः यतीमै बिते दम्पती ! [भिडियाेसहित]


२९ जेठ २०६३ अर्थात् सन् २००६ जून १२ मा सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा पाइलट दीपक पोखरेलको निधन भयो । श्रीमान् गुमाएपछि श्रीमती अञ्जु खतिवडा एक्ली भइन् । पतिवियोगलाई शक्तिमा रुपान्तरण गर्न उनी पाइलट बन्ने अठोट लिइन् । ६ वर्षे छोरीलाई परिवारको जिम्मा लगाएर उनी अमेरिका गइन् ।

केही वर्ष अमेरिकाको क्यालिफोर्नियामा उनले हवाईसम्बन्धी अध्ययन पूरा गरेपछि १३ वर्षदेखि नेपाली आकाशमा यात्रुलाई गन्तव्यमा पु-याउने कार्यमा खटिन्। यसलाई उनले आफ्नो श्रीमानको सपना साकार भएको मान्ने गर्थिन् । तर यो दम्पत्तिको संयोगात्मक मरण सायदै कसैले कल्पना गरेको थियो । आइतबार पोखरामा भएको हृदयविदारक विमान दुर्घटनामा उनको पनि दुखद् निधन भयो । त्यो पनि यती एयरलाइन्समै ।

वि.सं. २०५५ सालमा नेपाली सेनाको विमानका पाइलट स्व. पोखरेलसँग उनको मागी विवाह भएको थियो ।जीवन हाँसीखुसी बितिरहेको थियो । तर जुम्ला विमानस्थलमा भएको उक्त दुर्घटनामा ९ जना सहित अञ्जुका श्रीमान् को–पाइलट दीपक पोखरेलको निधन भयो । श्रीमान र श्रीमती दुबै पाइलट पेशामा लाग्नु र एउटै कम्पनीको विमान दुर्घटनामा पर्नु अचम्मको संयोग भएको सर्वसाधारणले टिप्पणी गरिरहेका छन् ।

अञ्जुले प्राथमिक शिक्षा विराटनगरमै सकेर स्नातक तहसम्मको अध्ययन भारतबाट गरेकी थिइन् । अञ्जु र दीपकको २२ वर्षकी छोरी छिन् । उनी अहिले क्यानडामा अध्ययन गरिरहेकी छिन् । आफू पाइलट बनेपछि अञ्जुले काठमाडौंका सुवास केसीसँग दोस्रो विवाह गरेकी थिइन् । व्यापारिक पृष्ठभूमिका केसीपट्टिबाट उनका ७ वर्षीय छोरा छन् । उनकी छोरीले सानैमा बुवा गुमाएकी थिइन् भने उनका छोराले सानैमा आमा गुमाएका छन् । 

दुर्घटनामा परेको यतीको नाइन एन–एएनसी एटीआर–७२ जहाजमा प्रशिक्षक पाइलट (आईपी) को रुपमा थिए कमल केसी। आईपी केसी आइतबार पाइलट खतिवडालाई क्याप्टेनमा पास गराउने अन्तिम उडानमा थिए। जहाज उडान र अवतरणमा सबै भूमिका खतिवडालेसम्हालेकी थिइन् । आइतबार सफल उडान गरेपछि क्याप्टेन ‘क्लियरेन्स’ को सर्टिफिकेट पाउने चरणमा थिइन् खतिवडा।तर दुर्भाग्य ! उनको क्याप्टेन बन्ने सपना अधुरै रह्यो र उनी यस संसारबाट बिदा भइन् । 

क्याप्टेन केसी नेपाल वायुसेवा निगमको जहाज पनि उडान गरेका अनुभवि क्याप्टेन हुन्। ३५ वर्षे लामो उडानकोअनुभव रहेका केसीले दर्जैनौँ पाइलटलाई क्याप्टेन बनाएका थिए। खतिवडाले यसअघि भद्रपुर, विराटनगर, धनगढीमा उडान सफल पारेर सिमरापछि पोखराको क्लियरेन्समा आइतबार बिहान उडान भरेकी थिइन्। आइतबार दुर्घटनामा पर्नुअघि सराङकोटबाट नयाँ विमानस्थलतर्फ मोड्दा जहाजको एउटा इन्जिन रोकिएको अनुमान गरिएको छ। 

Logo