फेरि बन्लान् त देव ह्वाटमोर नेपाली क्रिकेटका प्रशिक्षक ? [भिडियाेसहित]

फेरि बन्लान् त देव ह्वाटमोर नेपाली क्रिकेटका प्रशिक्षक ? [भिडियाेसहित]


नेपाल क्रिकेट संघ (क्यान) ले अघिल्लो साता नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुल्ला गरेको थियो । अघिल्लो वर्ष नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक छाडेर भारतीय बरोडा क्रिकेट एसोसिएसनको प्रशिक्षक बनेका देव ह्वाटमोरले पूनः नेपाली क्रिकेट टोलीको प्रशिक्षणका लागि आवेदन दिएका छन् । 

अघिल्लो महिना नेपालले भारतीय प्रशिक्षक मनोज प्रभाकरलाई आफूखुसी मनलाग्दो निर्णय गरेका कारण पद मुक्त गरेको थियो । यसैगरी अर्का भारतीय क्रिकेटर मोन्टी देशाई पनि प्रशिक्षकमा आउन सक्ने चर्चा छ । यस विषयको जानकारी क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले दिएका हुन् । दुई वर्षअघि ह्वाटमोरकै प्रशिक्षणमा नेदरल्यान्ड्स र मलेसियाविरुद्ध त्रिकोणात्मक सिरिजमा नेपालले सानदार प्रदर्शन गर्दै उपाधि नै जितेको थियो । नेपालले ह्वाटमोरकै प्रशिक्षणमा कस्तो सट प्रहार गर्ने ? डट बल प्रहारमा कसरी कमी ल्याउने ? आक्रामक ब्याटिङ कसरी गर्ने ? कमजोर ब्याटिङमा सुधार कसरी ल्याउने ? लगायत टोलीलाई सन्तुलित र उच्च मनोबलयुक्त बनाएका थिए । नेपालले सधैंं भोग्दै आएको ब्याटिङको समस्या पनि ह्वाटमोरले धेरै हदसम्म समाधान गरेका थिए । अझ भनौं ह्वाटमोरले ८ महिने अवधिमा नेपालको ब्याटिङमा क्रान्तिकारी परिवर्तन नै ल्याएको चर्चा हुने गरेको छ । 

नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग खेल्नुअघि पपुवा न्युगिनीसँग दुई ओडिआई सिरिज खेलेपछि गतवर्ष भदौंमा पारिवारिक कारण देखाउँदै ह्वाटमोरले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकबाट राजीनामा दिएका थिए । ह्वाटमोरकै प्रशिक्षणमा सन् १९९६ मा श्रीलंकाले पहिलो विश्वकप जितेको थियो । 

को हुन् त देव ह्वाटमोर ?
देव ह्वाटमोर विश्व क्रिकेटमा निकै चर्चित नाम हो । यो नाम नेपाली क्रिकेट समर्थकका लागि पनि नयाँ होइन । नेपाली क्रिकेटमा क्रान्तिकारी सुधार ल्याएका ह्वाटमोर श्रीलंकाको कोलम्बोमा जन्मिएका हुन् । जन्मभूमि श्रीलंका भएपनि परिवार अस्ट्रेलिया बसाई सरेपछि ह्वाटमोरले अस्ट्रेलियाबाट क्रिकेटको सुरुवाट गरेका थिए । ह्वाटमोरले अस्ट्रेलियाबाट फस्ट क्लास क्रिकेट सन् १९७५ मा खेलेका थिए । ४ वर्ष फस्ट क्लास क्रिकेटपछि ह्वाटमोर अस्ट्रेलियन राष्ट्रिय टोलीका लागि १ वर्षमात्र खेले । १ वर्षे अवधिमा उनले ७ टेष्ट र १ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै ६ हजार भन्दा बढी रन बनाउन सफल भएका थिए । उनले अस्ट्रेलियन क्रिकेटबाट सन् १९८९ मा सन्यास लिएका थिए । क्रिकेटप्रतिको लगाव र मायाबाट टाढा हुन नसकेर ह्वाटमोरले क्रिकेटमै केही गर्ने लक्ष्यका साथ प्रशिक्षक बने ।

प्रशिक्षक बनेपछि जमानाका ख्यातीप्राप्त ब्याट्सम्यान ह्वाटमोरले विश्वभर चर्चा कमाए । उनलाई श्रीलंकन क्रिकेट टोलीले सफल बनाएको हो । ह्वाटमोरकै प्रशिक्षणमा विश्व क्रिकेटमा अघि बढिरहेको श्रीलंकन टोलीले सन् १९९६ मा पहिलो आईसीसी विश्वकप जितेको थियो । त्यतिखेरको सामान्य श्रीलंकन टोलीलाई विश्व क्रिकेटमा उभ्याएर विश्व विजेता बन्न सफल पनि बनाए । 

यस्तै, ह्वाटमोरले श्रीलंकाबाट राजीनामा दिएपछि सन् २००३ देखि ००७ सम्म बंगलादेशका लागि प्रशिक्षक बनेका थिए । उनको पालामा बंगलादेशले भारतलाई आईसीसी विश्वकपमा पहिलो पटक पराजित गर्न सफल भएको थियो । यसैगरी बंगलादेशबाट पनि राजीनामा दिइसकेपछि ह्वाटमोरले भारतीय अन्डर–१९ क्रिकेट टिमको प्रशिक्षक बने । उनकै नेतृत्वमा भारतीय टोलीले सन् २००८ को अन्डर–१९ विश्वकप जितेको थियो । जसका कप्तान अहिलेका विश्व क्रिकेटका सफल खेलाडी विराट कोहली थिए । त्यसैगरी ह्वाटमोरले विश्वमै चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सलाई दुई संस्करण प्रशिक्षण दिएपछि सन् २०१२ मा पाकिस्तान टोलीका प्रशिक्षक बने । उनकै प्रशिक्षणमा पाकिस्तानले एसिया कप जितेको थियो । पाकिस्तानपछि उनले जिम्बाबे हुँदै सिंगापुर क्रिकेट टोलीलाई प्रशिक्षण दिएका थिए । 

क्यानका अनुसार आवेदन दिने अन्तिम मिति सकिइसकेको छ । जसमा २७ प्रशिक्षकले आवेदन दिएका छन् । यदि नेपालले आइसीसी विश्वकप लिग २ मा अन्तर्राष्ट्रिय मान्यता लिन चाहन्छ भने नेपालले खेल्न बाँकी रहेका १२ खेल मध्ये कम्तिमा १० खेल जित्नैपर्ने दवाव छ । त्यस दवावलाई कम गर्न नेपालले देव ह्वाटमोरलाई प्रशिक्षक बनाउन सकेमा नेपाली क्रिकेटको भविष्य उकालो चढ्ने विश्लेषण गरिएको छ । अहिलेको अवस्थामा नेपालको खस्कँदो ब्याटिङ सुधार गर्न देव ह्वाटमोर सबैभन्दा उत्कृष्ट उम्मेदवार हुन सक्ने क्रिकेट क्षेत्रका अनुभवीहरुको बुझाइ छ ।

Logo