होलान त मेसी र रोनाल्डोको उत्तराधिकारी हालान्ड ? [भिडियोसहित]

होलान त मेसी र रोनाल्डोको उत्तराधिकारी हालान्ड ? [भिडियोसहित]


पछिल्लो दुई दशकयता लियोनल मेसी उत्कृष्ट कि क्रिस्टियानो रोेनाल्डो ? भन्नेमा विश्वभर बहस चलिरहेको छ । 

दुबै लिजेन्ड खेलाडीले आफ्नो १७ वर्षे करिअरमा धेरै कीर्तिमानहरू बनाए । दुबै खेलाडीले देश र क्लब दुबैका लागि जित्न सकिने सबै प्रकारका उपाधि जितिसकेका छन् । ३७ वर्षीय रोनाल्डो र ३५ वर्षीय मेसी आ–आफ्नो करिअरको उत्तरार्धमा छन् । दुबै खेलाडी शारीरिक र मानसिक हिसावले खेल जीवनको अन्त्यतिर आइपुगेका छन् । फुटबल क्षेत्रमा १७ वर्ष राज गरेका यी दुई खेलाडीको उत्तराधिकारी को हुनसक्छन् ? कस्ले यी दुई खेलाडीलाई विस्थापित गर्न सक्छ ? भन्ने कौतुहल धेरै मानिसमा थियो । त्यही कौतुहल मेटाउन आए २२ वर्षे नर्वेजियन स्टार एर्लिङ ब्राउट हालान्ड । 

जारी सिजनमा जर्मन क्लब बेरुसिया डटमन्डबाट म्यानचेष्टर सिटी आएका हालान्डले क्लब म्यान्चेष्टर सिटीका लागि ३१ गोल गरिसकेका छन् । जसमध्ये उल्भ्समाथिको ३–० को जित पनि एक हो । जहाँ हालान्डले सिटीका लागि ह्याट्रिक नै गरेर एकै सिजन सबैभन्दा बढी ह्याट्रिक गर्ने रोनाल्डोको रेकर्ड तोडेका थिए । यसअघि रोनाल्डोको नाममा एकै सिजन ३ ह्याट्रिक थियो । २२ वर्षको उमेरमा क्लब र देशका लागि २३० खेल खेल्दै १८७ गोल गरिसकेका हालान्डको जन्म सन् २००० को जुलाई महिनामा भएको थियो । पिता अल्फि हालान्ड प्रिमियर लिगको क्लब लिड्स युनाइटेडका प्रोफेसनल फुटबल खेलाडी भएकाले हालान्डले सानैदेखि फुटबल खेलको वातावरण पाएका थिए । बाल्य अवस्थाबाट विभिन्न खेलका लागि रुचि राख्ने हालान्डले उमेर समूहमा लङ जम्पमा विश्व रेकर्ड नै राख्न सफल भएका थिए । हालान्डले पाँच वर्षको उमेरमै एकेडेमी खेल्न सुरु गरेका थिए । यस्तै हालान्डले सन् २०१५–१६ मा ब्रायन क्लबको रिजर्भ टोलीमा पर्दै १८ गोल गरेका थिए । सोही खेलको प्रदर्शनीलाई हेर्दै क्लब ब्रायनले हालान्डलाई सिनियर टोलीमा प्रमोट गरेका थिए । जहाँ उनले १६ खेल खेल्ने मौका पाएका थिए । तर ती खेलहरुमा हालान्डले एक गोल पनि गरेका थिएनन् । 

सन् २०१७ मा नर्वेको घरेलु क्लब मोल्डमा अनुबन्ध भएका हालान्डले पहिलो सिजनमा २० खेल खेल्दै जम्मा ४ गोल गर्दै सामान्य सुरुआट गरेका थिए । हालान्डको मोल्डमा उत्कृष्ट सिजन सन् २०१८ लाई मान्न सकिन्छ । किनकी उनले सो सिजनमा १६ गोल गर्दै निक्सन अवार्ड जितेका थिए । (निक्सन अवार्ड नर्वेको घरेलु लिगका उत्कृष्ट खेलाडीलाई दिइने गरिन्छ ।) 

सन् २०१८ मा अस्ट्रेलियन बुन्डेसलिगा च्याम्पियन्स क्लब रेड बुल साल्सवर्गमा ५ वर्षका लागि अनुबन्धित भएका हालान्डले डेब्यु खेलमै क्वाटरफाइनलमा १ गोल गर्न सफल भएका थिए । क्लब स्तरमा उत्कृष्ट खेलिरहेका हालान्डलाई सन् २०१९–२० मा म्यान्चेस्टर युनाइटेड, जुभेन्टस र बेरुसिया डटमन्डले भित्राउन चाहेका थिए । यसमा बेरुसिया डटमन्ड सफल भयो । डटमन्डले हालान्डलाई साढे चार वर्षका लागि २० मिलियन युरोमा अनुबन्ध गरेको थियो । हालान्डले डटमन्डका लागि डेब्यु खेल अग्सबर्गकाविरुद्ध खेलेका थिए जहाँ हालान्डले पहिलो खेलको २३ मिनेट भित्र ह्याट्रिक पूरा गर्दै आफ्नो क्षमता पुष्टि गरेका थिए । दुई वर्ष डटमन्डमा बिताएका हालान्डले ८९ खेलमा ८६ गोल गरेका थिए । 

उज्वल भविष्य र ठूलो धनराशिको अफर आएका कारण हालान्डले म्यान्चेष्टर सिटीको अफर टुक्राउन सकेनन् । परिणाम स्वरुप हालान्डले सन् २०२२ को मे महिनामा सिटीसँग ६० मिलियन युरोमा अनुबन्ध भए । सिटीमा आएपछि हालान्डले एकै सिजनमा ३१ गोल गर्न सफल भइसकेका छन् । आफ्नो डेब्यु खेलमै वेस्टह्याम युनाइटेडसँगको खेलमा २ गोल गर्न सफल हालान्डले सन् २०२० मा मेल गोल्डेन प्लेयरको अवार्ड जितेका थिए । यस्तै बुन्डेस लिगामा हालान्डले सन् २०२१ को वर्ष डटमन्डका लागि उत्कृष्ट खेलेका कारण बुन्डेस लिगा प्लेयर अफ दि इयर भएका थिए । यस्तै फिफा वर्ष २०२२ को उत्कृष्ट ११ खेलाडीको सूचिमा हालान्ड पनि पर्न सफल भएका छन् । सिनियर टोलीमा सन् २०१९ मा परेका हालान्डले खेल्ने मौका भने सन् २०२० को युरोकपमा माल्टा र स्वीडेनविरुद्ध मात्र पाएका थिए । राष्ट्रिय टोलीका लागि २२ गोल गरिसकेका हालान्डले देशका लागि भने अस्ट्रियाविरुद्ध २–१ को हारमा १ गोल गर्न सफल भएका थिए । 

कतार विश्वकपको क्वालिफायर राउन्डमा नेदरल्यान्डस विरुद्ध २–० को हार बेहोर्दै बाहिरिएको नर्वेका लागि ५ गोल गरेका हालान्डले विश्वकपमा डेब्यु भने गर्न पाएका छैनन् । २२ वर्षको उमेरमा रोनाल्डो र मेसीका धेरै रेकर्डहरु तोडिसकेका हालान्ड र फ्रान्सका एमबाप्पेलाई आधुनिक समयको मेसी र रोनाल्डोका उत्तराधिकारिका रुपमा पनि हेर्न थालिएको छ । १७ वर्षे खेल दौरानमा ३ पहेलो कार्ड मात्र पाएका कारण नै के अनुमान लगाउन सकिन्छ भने हालान्ड मुख वा ब्यबहारले भन्दा पनि खेलको भाषाबाट विपक्षीलाई जवाफ दिन माहिर छन् । भर्खर २२ वर्ष मात्र भएका र मेसी रोनाल्डो जस्ता हस्तीहरु सन्यासको नजिक पुगेका कारण अबको युग अर्लिङ ब्राउट हालान्डको हो भन्दा फरक नपर्ला।     

Logo