६ महिनामा १७ सय युनिट विद्युतीय गाडी आयात [भिडियाेसहित]

६ महिनामा १७ सय युनिट विद्युतीय गाडी आयात [भिडियाेसहित]


चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १७ सय ४९ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका छन् । यी विद्युतीय गाडी झण्डै गत वर्ष नेपाल भित्रिए बराबर संख्याका हुन् । गत वर्ष कुल १८ सय ७ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएका थिए । 

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै १ अर्ब १० करोड ३४ लाख ४५ हजार रुपैयाँको ३९६ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् उक्त तथ्यांक अनुसार गत वर्ष ५ अर्ब बराबरको विद्युतीय गाडी आयात भएका थिए भने यो वर्षको ६ महिनाको अवधिमा ४ अर्ब ९२ करोड रुपैयाँका विद्युतीय गाडी आयात भएका छन् । 

विभागले यो छ महिनासम्म उक्त सवारीसाधनबाट १ अर्ब ३९ करोड भन्सार शुल्क संकलन गरेको छ । गत वर्ष विभागले कुल १ अर्ब ४३ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको थियो ।

६ महिनाको अवधिमा सबैभन्दा बढी १०० किलोवाटभन्दा कम रेन्जका विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । ६ महिनाको अवधिमा नेपालले ४ अर्ब ७३ करोड ७८ लाख ७३ हजार रुपैयाँको १७ सय ८ वटा १०० किलोवाटभन्दा कम रेन्जका विद्युतीय सवारी साधन आयात गरेको छ । 

त्यसैगरी, १०० किलोवाट देखि २०० किलोवाटसम्मको १५ करोड ६१ लाख २२ हजार रुपैयाँको ३५ वटा र २०० किलोवाटदेखि ३०० किलोवाटसम्मको ३ करोड ५१ लाख ५० हजार रुपैयाँको ६ वटा विद्युतीय जिप, कार र भ्यान आयात गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् १०० किलोवाटभन्दा माथिको विद्युतीय गाडीमा अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ । यो भन्दा अगाडी विद्युतीय गाडीमा  अन्तःशुल्क लाग्ने व्यवस्था थिएन । तर, यो वर्षको बजेटमार्फत् तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अन्तशुल्क र भन्सार करमा वृद्धि गरेको घोषणा गरेका कारण १०० किलोवाटभन्दा माथिका जिप, कार र भ्यान आयातमा प्रभाव परेको हो ।

कुन देशबाट कति विद्युतीय सवारीसाधन आयात ?
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सबैभन्दा बढि भारतबाट १२ सय ८० युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् । भारतबाट हाल टाटा कम्पनीको विद्युतीय गाडी धेरै आयात हुने गरेका छन् । टाटाले नेक्सन र टिगोर इभी नेपालमा बिक्री गरिरहेको छ । 

यस्तै, चीनबाट २ सय ४१ युनिट विद्युतीय गाडीहरु आयत भएका छन् । चीनबाट नेटा भी, बीवाइडी, एमजी, दिगोलगायत अन्य कम्पनीको विद्युतीय गाडीहरु आयत हुन्छन् । यसैगरी अमेरिकाबाट २ सय २१ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । हुन्डाईले कोना इभी र आयोनिक–५ बिक्री गर्दै आइरहेको छ ।

Logo