किन बढ्दैछ बैंकको खराब कर्जा ? [भिडियाेसहित]

किन बढ्दैछ बैंकको खराब कर्जा ? [भिडियाेसहित]


नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मा कर्जा विस्तार लक्ष्य तोकेको थियो । लक्ष्य अनुसार निजी क्षेत्रको कर्जा विस्तार १९ प्रतिशतसम्म थियो । तर बैंकहरुले त्यसवर्ष सिमा भन्दा बाहिर रहेर कर्जा विस्तार गरे । त्यति बेला आक्रामक कर्जा विस्तार गर्दा अहिले बैंकिङ प्रणालीमा प्रत्यक्ष असर देखा परेको छ । 

त्यसैले बैकंहरुको खराब कर्जा बढिरहेको छ । सबैको ध्यान बैंकले कति नाफा कमायो भन्नेमा मात्र छ तर खराब कर्जा अस्वभाविक रुपमा बढेको कसैले देखेको छैन् । यही रेसियोमा खराब कर्जा बढ्दै जाने हो भने बैंकहरु डुब्ने दिन धेरै टाढा नभएको विश्लेषण गरिएको छ । गत आर्थिक वर्ष बैंकिङ प्रणाली नै धराशायी हुनेगरी आक्रामक कर्जा बिस्तार भएपछि केन्द्रीय बैंकले कर्जा प्रवाहमा कडाइ गरेको थियो । जसले गर्दा पछिल्लो १ वर्षमा कर्जा विस्तार ५.२८ मा सिमित हुँदा बैंक वित्तीय संस्थाको निक्षेप १०.६७ प्रतिशतले बढेको छ ।

विगतमा हचुवाका आधारमा दिइएको कर्जा अहिले उठ्न सकेको छैन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले ऋण लिएर ब्याज तिर्ने प्रवृति रोक्न राष्ट्र बैंकलाई पटक पटक दबाब दिँदै आएपछिकर्जा दुरुपयोग रोक्ने र ऋण लिएर ब्याज तिर्ने प्रवृति रोक्न भन्दै राष्ट्र बैंकले कात्तिक १ गतेदेखि चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएको छ । जसले गर्दा कतिपय व्यवसायी विगतमा जस्तै बैंकबाट ऋण लिएर ब्याज तिर्न नपाउँदा बैंकहरुको खराब कर्जा बढेको र झन बढ्दै जानेमा राष्ट्र बैंकका अधिकारीहरुको दाबी छ ।

पछिल्लो समय सुस्त आर्थिक गतिविधि र ब्याजदर बढेका कारण खराब कर्जा बढेको बैंकर्स संघले जनाएको छ । सस्तोमा लिएको कर्जा अहिले ब्याज बढेर निकै माथि पुग्दा पनि खराब कर्जा बढ्न गएको हो ।बढ्दो ब्याजदरका कारण ऋणीले कर्जाको ब्याजदर समयमा नै तिर्न नसक्दा खराब कर्जा बढेको बैंकर्सहरुको भनाइ छ ।

देशभर सञ्चालनमा रहेका २२ वाणिज्य बैंकहरुको खराब कर्जा पनि उल्लेखनीय रुपमा वृद्धि भएको छ । गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा बैंकहरुको खराब कर्जा ११३.२८ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तसम्म बैंकहरुको खराब कर्जा औषतमा १.०५ प्रतिशत बिन्दुमा रहेको थियो । चालु आवको सोही अवधिमा ११३.२८ प्रतिशतले बढेर औषतमा २.३५ प्रतिशत बिन्दुमा रोकिएको छ । २२ वाणिज्य बैंक मध्य एउटा बैंकको मात्र खराब कर्जा घटेको छ । खराब कर्जा घट्नेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकको गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३.०६ प्रतिशत रहेको खराब कर्जा ०.२७ प्रतिशत बिन्दुले घटेर २.७९ प्रतिशतमा झरेको छ । 

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सबैभन्दा धेरै खराब भएको बैंकमा कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल बैंक, नबिल बैंक, एनएमबि बैंक, सिभिल बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, कुमारी बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् । यस्तै, सबैभन्दा बढी खराब कर्जा हुनेमा कृषि विकास बैंक अग्रस्थानमा रहेको छ । गत आवको पुस मसान्तसम्म २.०८ प्रतिशत रहेको खराब कर्जा २.४४ बिन्दुले बढेर ४.५२ प्रतिशतमा पुगेको छ ।

यसैगरी, तीन प्रतिशत भन्दा बढी खराब कर्जा हुने ५ वटा बैंक रहेका छन् । जसमध्ये हिमालयन बैंकको ३.७७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.७१, सनराइज बैंकको ३.३६, कुमारी बैंकको ३.१५ र नेपाल बैंकको ३.११ प्रतिशत खराब कर्जामा रहेका छन् । 

अर्कोतर्फ दुई प्रतिशत भन्दा बढी खराब कर्जा हुनेमा आठ वटा बैंक समावेश छन् । सिटिजन्स बैंकको २.९९, नबिल बैंकको २.९८, ग्लोबल आइएमई बैंकको २.९२, सिद्धार्थ बैंकको २.८७, प्राइम बैंकको २.८१, राष्ट्रिय वाणिज्य बैंकको २.७९, सिभिल बैंकको २.४१ र एनएमबि बैंकको २.२४ प्रतिशत खराब कर्जा रहेको छ । एक प्रतिशत भन्दा धेरै खराब कर्जा हुनेमा तीन वटा बैंक रहेका छन् । पुस मसान्तसम्म प्रभु बैंकको खराब कर्जा १.९८, लक्ष्मी बैंकको १.५६ र माछापुच्छ्रे बैंकको खराब कर्जा १.४१ प्रतिशत रहेको छ । 

यस्तै, सबैभन्दा कम कराब कर्जा हुनेमा पाँच वटा बैंक मात्र रहेका छन् । जसमा सानिमा बैंकको ०.७७, स्टयान्डर्ड चार्टर्ड बैंकको ०.७२, एनआईसी एशिया बैंकको ०.६१, एभरेष्ट बैंकको ०.५५ र नेपाल एसबिआई बैंकको ०.४७ प्रतिशत मात्र खराब कर्जा रहेको छ । 

प्रतिशतको आधारमा हेर्दा पुस मसान्तसम्म सबै भन्दा धेरै खराब कर्जा वृद्धि हुनेमा हिमालयन बैंक रहेको छ । यस बैंकको गत आर्थिक वर्षको दाेस्रो त्रैमाससम्ममा ०.७२ प्रतिशत मात्र रहेको खराब कर्जा यस अवधिसम्म आइपुग्दा ३.०५ बिन्दुले बढेर३.७७ प्रतिशतसम्म पुगेको छ । 

ऋणीले ऋण लिएर नाफा मुलक ठाउँमा लगानी गरेर धेरै नाफा कमाउने र बैंक तथा वित्तिय संस्थाको रकम नतिर्ने हुँदा खराब कर्जा बढेको अर्थविद् डा.चन्द्रमणि अधिकारी बताउँछन् । अर्कोतर्फ अहिले बजारमा धेरै उधारो कारोबार गरी भुक्तानी गर्न नसक्ने श्रृखला बढ्दै गएको छ । त्यसैले व्यवसायीहरुले चर्को व्याजदरका कारण बैंकको किस्ता र व्याज तिर्न नसकेको उनी बताउँछन् ।

बैंकहरुले नै लापर्बाही कर्जा प्रबाह गरेर यस्तो अवस्था आएको हो । यस विषयमा सम्बन्धित निकायले समयमा नै छानबिन गरी कारबाही नगरेमा अझै खराब कर्जा बढ्दै जाने अर्थविद् डा. अधिकारी बताउँछन् ।

Skip This
Logo