स्वकीय सचिव नियुक्तिमा मनपरी [भिडियोसहित]

स्वकीय सचिव नियुक्तिमा मनपरी [भिडियोसहित]


सार्वजनिक सेवा प्रवाह, निर्वाचन क्षेत्रका चासो जस्ता कानुनका मस्यौदामाथि दृष्टिकोण बनाउन सहयोगका लागि हरेक सांसदले स्वकीय सचिव राख्न पाउँने व्यवस्था सरकारले गरेको छ । हरेक सांसदले एक स्वकीय सचिव राखिराखेकै पनि छन् । तर, यस्तो जिम्मेवारीका लागि कैयौं सांसदले परिवारका सदस्यलाई मात्र योग्य ठानेर नियुक्ति दिएका छन् । 

प्रतिनिधिसभाका कुल १७५ सांसदमध्ये ४८ सांसदले आफ्ना आफन्त तथा नातेदारलाई स्वकीय सचिवमा नियुक्त गरेका छन् । श्रीमान्, श्रीमती, भाइ, बहिनी, भतिजा, साला, भान्जा, भान्जीलाई स्वकीय सचिव बनाएर उनीहरुलाई तलब समेत दिइसकेका छन् । स्वकीय सचिवका रूपमा आफन्त नियुक्त गर्नेमा एमालेका २०, कांग्रेसका १६, माओवादीका ६, राप्रपाका २ तथा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, जनमत र लोसपाका एक-एक सांसद छन् । आफन्तसहित सबै स्वकीय सचिवका नाममा सांसद सचिवालयबाट पहिलो महिनाको तलब गइसकेको छ ।

झापाका एमाले सांसद कालुराम राई भने आफन्त नै नियुक्त गर्नुपर्ने अवस्थामा देखिन्छन् । दृष्टिविहीन उनलाई सांसद भवनको बैठक कक्षमा रहेको कुर्सीसम्म समाएर लैजानुपर्छ, त्यसैले उनले सहयोगीका रूपमा श्रीमती शुभलक्ष्मी थुलुङ राईलाई स्वकीय सचिव राखेका हुन् ।

कांग्रेस सांसद माया राईले पनि भदैनी सोनिया राईलाई स्वकीय सचिव राखेकी छन्, उनले २ महिनाको दूधे बच्चालाई संसद् परिसरमा छाडेर उनी बैठकमा जान्छिन् । भित्र मायाले बैठकमा गएको बेला बाहिर भदैनीले उनको बच्चालाई स्याहार सुसार गर्छिन् ।

भित्र बैठक चलिरहेको बेला बाहिर बच्चा रोएको थाहाँ पाइन् भने बाहिर जान्छिन् । एमालेकी समानुपातिक सांसद नैनकला थापाले छोरा प्रवेशलाई स्वकीय सचिव नियुक्त गरेकी छिन् । यसैगरी, कास्कीका एमाले सांसद दामोदर पौडेलले छोरा सुवास र मनबहादुर गुरुङले छोरी अशिलालाई स्वकीय सचिव राखेका छन् । 

एमाले सांसदहरूमा कपिलवस्तुकी अमृतादेवी अग्रहरीले छोरा पवनलाई, सिरहाका रामशंकर यादवले छोरा विजयलाई, कपिलवस्तुका सराज अहमद फारुकीले छोरा फौसाफ अहमद खाँ र दैलेखकी सूर्यकुमारी श्रेष्ठले छोरा संगमलाई स्वकीय सचिवको नियुक्त गरेका छन् ।
त्यस्तै, कांग्रेस सांसदहरूमा ताप्लेजुङकी लीलादेवी बोखिमले छोरी कोपिला, नवलपुरकी बिनाकुमारी थनैतले छोरा युवराज, बर्दियाकी जाबेदा खातुनले छोरी हिना, जाजरकोटकी मैना कार्कीले छोरी ऋद्धिकालाई अधिकृतस्तरको स्वकीय सचिव बनाएका छन् । एमाले कांग्रेसले मात्र होइन माओवादी सांसदहरूमा नुवाकोटका हितबहादुर तामाङले छोरा रूपक, गोरखाका हितराज पाण्डेले छोरा किरण र लमजुङकी उर्मिला माझीले छोरी सामनालाई स्वकीय सचिवको जिम्मेवारी दिएका छन् । 

त्यस्तै, एमालेबाट समानुपातिक सांसद बनेकी शोभा ज्ञवालीले श्रीमान् कृष्णप्रसाद खनाललाई स्वकीय सचिव बनाएकी छन् । जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी मोरङकी सोनु मुर्मुले श्रीमान् सुमन हेम्ब्रोमलाई स्वकीय सचिव नियुक्त गरेकी छन् । 

स्वकीय सचिवमा भाइ, बहिनी, सालोलाई राख्ने सांसद ९ जना छन् । सप्तरीका कांग्रेस सांसद दिनेशकुमार यादवले सालो अनिलकुमार यादव, दोलखाका एमाले सांसद ईश्वरबहादुर रिजालले सालो कुमार विश्वकर्मा र सिन्धुलीका कांग्रेस सांसद श्यामकुमार घिमिरेले सालो दिवाकर पौडेललाई स्वकीय सचिव नियुक्त गरेका छन् ।

त्यस्तै, सल्यानकी राप्रपा सांसद अनिशा नेपालीले बहिनी पवित्रा नेपाली र जुम्लाकी कांग्रेस सांसद कान्तिका सेजुवालले बहिनी राधिका मल्ललाई स्वकीय सचिव बनाएका छन् । बाँकेकी एमाले सांसद दीपा शर्माले बहिनी दिप्ती शर्मा, कपिलवस्तुकी कांग्रेस सांसद रूपा विकले भाइ सन्तोष विक र नुवाकोटकी सांसद सीता मिजारले भाइ बुद्धिमान मिजारलाई नियुक्ति दिएका छन् ।
    
भान्जा, भतिजा, भदै, भदैनी, भदाहा, नन्द, बहिनी ज्वाइँ, दिदीको छोरा नियुक्ति गर्ने सांसद १९ जना छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले भतिज भानु देउवालाई, नुवाकोटका कांग्रेस सांसद अजुर्ननरसिंह केसीले भतिज सरोज, सल्यानका एस सांसद प्रकाश ज्वालाले भतिज सन्तोष बीसी, दैलेखका कांग्रेस सांसद दिक्पालकुमार शाहीले भतिज मिलन, भोजपुरका एमाले सांसद हेमराज राईले भतिज चन्द्रविक्रम, बागलुङका माओवादी सांसद देवेन्द्र पौडेलले भतिज राजन, सर्लाहीका लोसपा सांसद रामप्रकाश चौधरीले भतिज आशिष चौधरी र कपिलवस्तुका एमाले सांसद मंगलप्रसाद गुप्ताले भतिज वृजेशकुमारलाई स्वकीय सचिवमा नियुक्ति दिएका छन् । सर्लाहीका माओवादी सांसद महिन्द्र राय यादवले भान्जा सत्यप्रकाश यादवलाई स्वकीय सचिवको जिम्मेवारी दिएका छन् । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले कार्यालय सहयोगीका रूपमा नातिनी प्रिजा मगरलाई नियुक्त गरेकी छन् ।

सांसदहरु कामकारबाहीका क्रममा आवश्यक पर्ने सूचना खोजी गर्न सहयोग गर्ने उद्देश्यले अधिकृतस्तरको स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिएकाले यसलाई दुरुपयोग गर्न नहुने बताउँछन् । कानुनले व्यवस्था गरेको योग्य स्वकीय सचिवका लागि लोक सेवा आयोगका वैकल्पिक उम्मेदवारलाई लिन सकिने सांसद् सचिवालयका अधिकारीहरुको भनाइ छ । 

Logo