८ वर्षपछि कसरी सम्भव भयो विश्वकप खेल्ने सपना ?

८ वर्षपछि कसरी सम्भव भयो विश्वकप खेल्ने सपना ?


नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा युएईलाई ७ रनले पराजित गर्दै ८ वर्षपछि विश्वकपमा छनौट भएको छ । नेपाल सन् २०२४ मा हुने उमेर समुहको क्रिकेट विश्वकपमा कसरी छनौट भयो ? उमेर समुहको क्रिकेट विश्वकपमा नेपालको प्रदर्शन कस्तो रहदै आएको छ ? विश्वकप अघि नेपालले सुधार गर्ने पर्ने कुराहरु के–के हुन् ?

नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा युएईलाई ७ रनले पराजित गर्दै ८ वर्षपछि विश्वकपमा छनौट भएको छ । यससँगै नेपाल क्रिकेट संघ–क्यानले आगामी वर्ष श्रीलंकामा आयोजना हुने आईसिसी यू–१९ विश्वकप क्रिकेटमा पुग्न सफल नेपाली टोलीका सदस्यलाई जनही एक लाख रुपैयाँ दिने भएको छ । नेपालले विश्वकप छनौटको अन्तिम खेलमा युएईलाई ७ रनले पराजित गर्ने क्रममा दीपेश कँडेलले ह्याट्रिक विकेट लिएका थिए । योसँगै नेपालले निर्णायक खेलमा युएईमाथि रोमान्चक जित हात पार्दै सन् २०१६ पछि आठौँपटक आईसिसी यू–१९ विश्वकप क्रिकेटमा छनोट भएको छ । बंगलादेशमा भएको सो संस्करणमा नेपालले न्युजिल्यान्ड र आयरल्यान्डजस्ता राष्ट्रलाई पराजित गर्दै सुपर क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । तर नेपाल सन् २०१८, २०२० र २०२२ मा आयोजित विश्वकपको संस्करणमा छनोट नै हुन सकेन । सन् १९८८ देखि सुरु भएको यू–१९ विश्वकपमा नेपालले वर्ष २ हजारमा डेब्यू गरेको थियो । नेपालले वर्ष २ हजारदेखि २०१६ सम्म ७ पटक यू–१९ विश्वकप खेलिसकेको छ । यसपल्टको एसिया क्षेत्रीय छनोटमा नेपाल र यूएईसँगै मलेसिया, हङकङ, सिंगापुर र कुवेत समावेश थिए । नेपालले फाइनल छनोट खेल अघि चारै खेलमा सहज जित हासिल गरेको थियो ।

नेपालविरुद्ध १९१ रनको विजयी लक्ष्य पछ्याएको यूएईका लागि ओपनरद्वय आर्यन सक्सेना र आर्यन शर्माले ६७ रनको सुरुवाती साझेदारी गरेका थिए । सक्सेनाले ३४ र शर्माले ३२ रन बनाए । दवावमा आएको नेपालले तीन ओभरको बीचमा तीन विकेट लिँदा २२ ओभरमा यूएई ७२–३ को अवस्थामा पुगेको थियो । त्यसपछि चौथो विकेटका लागि यूएईका इथान डिसुजा र ध्रुब परासरले ४२ रनको साझेदारी गरे । परासर १७ रन बनाएर दीपेश कँडेलको बलमा आउट भएपछि आएका अमर बदामीसँग मिलेर डिसुजाले पाँचौं विकेटका लागि ३९ रनको साझेदारी गरे । डिसुजाले ६६ बलमा ५० रनको अर्धशतकीय पारी खेल्दा बदामी १९ रन बनाउँदा रनआउट भए ।

अन्तिम खेलमा चमत्कारीक जित निकालेको नेपालले प्रतियोगिताभर खेलेका ५ खेल मध्ये ५ ओटामै जित निकाल्दै १० अंकका साथ शीर्ष स्थानमा रहन सफल भएको थियो । यस्तै दोस्रो स्थानमा रहेको युएई ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा सिमित रह्यो । यस्तै सिंगापुर ५ खेल मध्ये ३ मा जित र २ मा हारसहित तेस्रो स्थानमा रह्यो । ६ टोली सहभागी प्रतियोगितामा राउन्ड रोविनको आधारमा नेपाल शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो ।

यसअघि नेपालले सन् २००१, २००३, २००५ र २००७ को एसिसी यू–१९ कप जितेर नै विश्वकप खेलेको थियो । सन् १९९९ मा भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएर पनि दुई टोलीले विश्वकपमा खेल्न पाउने नियमका आधारमा विश्वकप खेल्न पाएको थियो । यस्तै नेपाल वर्ष २०११ मा ग्लोबल क्वालिफायरको उपविजेता र २०१५ मा ग्लोबल छनोटको विजेता बन्दै विश्वकपमा छानिएको थियो ।

युएईलाई हराउँदै नेपाललाई विश्वकपमा पुर्याउन नायक बनेका प्रमुख खेलाडी यस प्रकार छन् ।

१. दीपेश कँडेल
नेपालको जितको हिरो दीपेश कँडेल हुन् । जसले हारेको र सबैले आशा मारेको खेल पनि जिताउन सफल भए। नेपालको जितको प्रमुख टर्निङ प्वाइन्ट दीपेशको अविश्वसनीय ह्याट्रिक थियो । नेपालको जित हातबाट लगभग निस्कि सकेको थियो । अन्तिम १८ बलमा जितको लागि ११ रन चाहिँदा हातमा तीन विकेट थियो । नेपालका स्पिनर दीपेश कँडेलले पहिलो बल महरुफलाई एक र दोस्रो बल हर्षितलाई डट राखे । तेस्रो बलमा दुई रन बटुले । त्यो समय १५ बलमा ८ रन चाहिँएको थियो । चौथो बलमा दीपेशले हर्षितलाई ४ रनमा बोल्ड आउट गर्दै आशा जगाए। पाँचौं बलमा हरितलाई देव खनालबाट क्याच गराएपछि नेपाल जित नजिक पुगेको थियो । अन्तिम बलमा दीपेशले मोनिसलाई बोल्ड गर्दै अविश्सनीय जित दिलाए । नेपाललाई जिताउन नायक बनेका दीपेशले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ५ विकेट लिएका थिए । दीपेश नै खेलको प्लेयर अफ द म्याच पनि चुनिए। 

२. देव खनाल
कप्तान देव खनालले उत्कृष्ट कप्तानीका कारण नेपाल यूएइमा सम्पन्न प्रतियोगितामा च्याम्पियन बन्न सफल भयो । एक समय १९–३ को अवस्थामा पुगेको नेपाललाई खेलमा फर्काएका देव खनालले ८४ बलमा ३ चौका र १ छक्कासहित ५१ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । आफ्नो क्रिकेट करिअरको उत्कृष्ट इनिङ खेल्नेक्रममा देवले उत्तम थापामगरसँग ८४ रनको साझेदारी पनि गरेका थिए । देवले आयन खान र हरितको उत्कृष्ट क्याच लिएका थिए । 

३. हेमन्त धामी
सुरुवाती तीन विकेटपछि युएईले पुन खेलमा राम्रो पूनरागमन गरिसकेको थियो । युएईका मध्यक्रमका ब्याटर इथान कार्ल डी सोल्जाले नेपालको स्पिनको डटेर सामना गरेका थिए । उनले ६६ बलमा ८ चौकासहित ५० रनको योगदान दिए । इथानले सहज जित दिलाउने संकेत देखाएका थिए । युएईलाई जितको लागि ४८ बलमा ४० रन चाहिँदा हातमा ६ विकेट थियो । क्रिजमा टिकेर खेलेका इथान थिए । उनले सबै नेपाली बलर खेलि सकेका थिए । उनी टिकेको खण्डमा युएईले सहजै जित हात पार्न सक्थ्यो । तर तीव्र गतिका बलर हेमन्त धामीले ४३ औं ओभरको दोस्रो बलमा उनलाई बोल्ड आउट गर्दै पेभेलिएन फर्काए । त्यो विकेट नै नेपालको एउटा जितको आधार बनेको थियो । तल्लोक्रमका हर्ष देशाईलाई हेमन्तले ७ रनमा क्याच आउट गराएका थिए । हेमन्तले ३४ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए । नेपालको जितमा नायक बने ।

Skip This
Logo