मुलुकका लागि मैदानमा उत्रिने यी ५ साहसी नारी खेलाडी

मुलुकका लागि मैदानमा उत्रिने यी ५ साहसी नारी खेलाडी


आज मार्च आठ, अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । आमाको काख, दिदी बहिनीको स्नेह अझ भनौं नारी पात्रको प्रगाढ माया भित्र नै एउटा पुरुषको अवयवहरु चलायमान हुन्छन् । महिलाको कुरा गर्दा नेपाली खेलकुद क्षेत्र अक्षुतो हुने कुरै भएन । 

तर नारीहरु पनि अवसर पाए पुरुषभन्दा अब्बल हुन्छन् भन्ने उदाहरण हाम्रै समाजका केही अनुहारले प्रमाणित गरेका छन् । उनीहरुले अवसर पाएका ठाउँमा पुरुषभन्दा कमजोर नरहेको देखाएका छन् । त्यसको बलियो उदाहरण हो, नेपाली खेलकुद । 

नेपाली खेलुकदमा यस्ता महिला खेलाडी छन्, जसले नेपाल र नेपालीलाई सधैँ अन्तर्राष्ट्रिय जगतमा खेलकुद मार्फत चिनाएका छन् । खेलकुदमा पुरुषभन्दा महिला खेलाडी बढी सफल भएको थुप्रै उदाहरणहरु छन् । तेक्वान्दोकी सविता राजभण्डारीले एसियाली खेलकुदमा रजत पदक जित्नु, महिला राष्ट्रिय फुटबल टोलीबाट सावित्रा भण्डारी साम्बाले अन्तर्राष्ट्रिय गोलमा किर्तीमानी राख्नुलाई उदाहरण मान्न सकिन्छ । 

१, सावित्रा भण्डारी, फुटबल
राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी उर्फ साम्बा पछिल्लो पुस्ताकी सफल खेलाडीमध्येकी एक हुन् । घरेलु बन्धन र सामाजिक परिधी नाघेर आपूmलाई स्थापित गर्ने चर्चित पात्रमा पर्छिन् साम्बा । उनको गोल गर्ने शैली, हेयर स्टायल, अनि गोल गरेपछि मनाउने खुसीयाली, जहिल्यै चर्चाको विषय बन्छन् । देश तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा पाईसकेकी साम्बाले अन्तर्राष्ट्रिय गोल ४३ पुर्याउँदै उच्च गोलकर्ताको शीर्षस्थानमा आफूलाई उभ्याएकी छिन् । एपीएफ जागिरे समेत रहेकी उनी आफूले खेलेको प्रतियागितामा सधै सर्वाधिक गोलकर्ताको होडमै रहने गर्छिन् ।

घरेलु फुटबलमा साम्बाले गरेको गोलको कुनै लेखाजोखा नै छैन । लमजुङकी साम्बाले नेपालको प्रतिनिधित्व गर्दै साफ च्याम्पियनसिप हुँदै ओलम्पिक छनोटको दोस्रो चरण समेत खेलेकी छिन् । सन् २०१६ मा भएको साफ च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा साम्बाले १२ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भएकी थिइन् ।

२. गौरिका सिंह (पौडी) 
जलपरीको रुपमा परिचित गौरिका सिंह सानै उमेरमा सफलतालाई पछ्याउने अर्की सफल महिला खेलाडीमध्येकी एक हुन् । घरेलु भूमिमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडी तर्फ चार स्वर्ण । यति मात्रै हैन उनले दुई रजत र तीन कास्य पनि जितिन् । 

यस अघि उनलाई कमैले चिनेका थिए । पहिलो खेलमा नै राष्ट्रिय कीर्तिमान बनाएकी उनले त्यसपछि थप नयाँ—नयाँ कीर्तिमान थप्दै गइन् । भारतको गुवाहाटीमा भएको १२औँ सागमा उनले चार स्पर्धामा उनले एक रजत र तीन कांस्य पदक जितेकी थिइन् । पौडीमा रजत जित्ने पनि उनी पहिलो नेपाली खेलाडी हुन् ।

३. सविता राजभण्डारी (तेक्वान्दो)
सविता राजभण्डारी तेक्वान्दोकी अहिलेसम्मकै सर्वाधिक सफल खेलाडी मध्येकी एक हुन् । तेक्वान्दोकी यी खेलाडी नेपालको लागि एसियाली खेलकुदमा रजत पदक जित्ने एक मात्रै हुन् । उनले जितेको रजत पदक एसियाडमा अहिलेसम्मकै व्यक्तिगत ठूलो पदक हो । घरेलु खेलकुदमा स्वर्णको चाङ लगाएकी सविताले यो उपाधिलाई अन्य नेपाली खेलाडीले भेट्टाउन सकेका छैनन् ।

सविताले नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) मा समेत स्वर्ण पदक जितिन् । सन् २००२ यता अमेरिकामा रहँदै आएकी सविता विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) का पाँचौ डन प्राप्त खेलाडी पनि हुन् । सविताको नाम नेपाली खेलाडीको हरेक सफलता, असफलता र गतिविधिसँगै जोडिएको हुन्छ । 

४. तारादेवी पुन (भारोत्तोलन) 
भारोत्तोलनकी तारादेवी पुन नेपाली खेलकुदमा अर्की सफल महिला खेलाडी हुन् । तारादेवी पुन नेपालको ‘स्ट्रङगेस्ट’ महिला खेलाडी हुन् । यो अर्थमा कि उनी खेलकुदमा फलाम उचाल्ने खेलमा सबै भन्दा धेरै तौल उचाल्न सक्छिन् । उमेरले चार दशक काटेकी तारादेवी पुनले राष्ट्रिय खेलकुद खेल्न थालेको साढे दुई दशक भइसक्यो । २०५८ सालदेखि भारोत्तोलनको प्रशिक्षण सुरु गरेकी उनी भारोत्तोलन अघि भलिबल खेल्थिन् । म्याग्दीमा जन्मिएकी तारादेवी १ सय केजीमाथि भार उठाउने पहिलो नेपाली खेलाडी समेत हुन् । 

५. देवु थापा (जुडो)
जुम्लामा जन्मिएकी जुडोकी ओलम्पियन देवु थापाले दक्षिण एसियाली खेलकुद (साग) मा रजत र कांस्य पदक जितेकी छन्, जसकारण उनी पनि नेपाली खेलकुदमा एक सफल महिला खेलाडीमा गनिन्छिन् । हाल नेपाल पुलिसको प्रहरी निरीक्षकका सेवा निवृत्त भइसकेकी देवुले २०५२ सालमा खेल जीवन सुरु गरेकी थिइन् । उनी जुडोकी प्रशिक्षक तथा रेफ्री समेत हुन् । थापाले खेल र प्रहरी जीवनलाईसँगै अघि बढाएकी थिइन् । 

बंगलादेशमा ११औँ सागमा भाग लिने क्रममा बसेको होटलको लिफ्टबाट १० तलामाथिबाट खसेर घाइते भएकी देवुले चोटका बाबजुद कांस्य पदक जित्दै आफ्नो साहसको परिचय दिएकी थिइन् । त्यसपछि उनी छ महिना अस्पताल बस्नुपरेको थियो । थापाले सन् २००८ को बेइजिङ ओलम्पिकमा पनि सहभागिता जनाएकी थिइन् ।
 

Logo