प्रधानमन्त्रीको धोको अधुरै राखेर राष्ट्रपति बनेका रामचन्द्रकाे यस्ताे छ रामकहानी [भिडियाे]

प्रधानमन्त्रीको धोको अधुरै राखेर राष्ट्रपति बनेका रामचन्द्रकाे यस्ताे छ रामकहानी [भिडियाे]


नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार भएको मतदानमा आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी पौडेलले निर्वाचित भएका हुन् । 
 
मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेकाे निर्वाचन आयोगले जनाएको छ ।
 
राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । 
 
निर्वाचनमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । 

को हुन् नवनिर्वाचित राष्ट्रपति पौडेल ?
२००१ साल असोज २९ गते बुवा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलको सन्तानका रूपमा तनहुँको व्यास नगरपालिका– ८ स्थिति मिलुङ, बाहुन पोखरामा जन्मिएका पौडेल हाल श्रीमति सवितासहित चार छोरी र एक छोरासँग काठमाडौँ महानगरपालिका– १६ बोहोराटारमा बस्छन् । 

मध्यम वर्गीय किसान परिवारमा जन्मिएका पौडेलले नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा शास्त्रीसम्मको अध्ययन गरेका छन् । 

१५ वर्षको कलिलो उमेरदेखि नै राजनीतिमा लागेका उनी यसै क्षेत्रमा पाँच दशक बढीसमय विताइसकेका छन् । राजा महेन्द्रले २०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि आक्रोशित बन्दै उनी नेबिसंघको राजनितीमा होमिएका थिए । त्यसपछि उनी राजनीतिभन्दा बाहिर निस्कन सकेनन् ।

भरतपुर कब्जा गर्ने नेपाली काँग्रेसको शसस्त्र संघर्षमा संलग्न भएको आरोपमा २०१८ सालमा काठमाडौंबाट गिरफ्तार भई पहिलो पटक १ महिना हिरासत सजाय पाएका पौडेलले २०१९ सालको स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ताका रुपमा सक्रियता जनाएका थिए । उनी २०२३ मा सरस्वती क्याम्पसमा विद्यार्थी युनियन सभापति निर्वाचित भए । 

२०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा लिगका महासचिव निर्वाचित भए । २०२७ मा नेपाल विद्यार्थी संघको स्थापनामा सहभागी भई संस्थापक केन्द्रीय सदस्य समेत बने । २०४० मा पार्टीले केन्द्रीय प्रचार समिति संयोजक बनायो । त्यसपछि उनी २०४४ सालमा केन्द्रीय सदस्य बने । 

पौडेलको संसद् यात्रा २०४८ को निर्वाचन तनहुँ १ बाट जितेपछि सुरु भयो । त्यसपछि स्थानीय विकासमन्त्री बने । कृषिमन्त्री पनि भए । २०५१ को मध्यावधि चुनावमा तनहुँ—२ बाटै निर्वाचित भए । २०५१ पुसदेखि २०५५ चैतसम्म सभामुख बने। उनी २०५६ सालमा तनहुँ—२ बाट तेस्रो पटक निर्वाचित भए। २०५७ मा उपप्रधान, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । २०५९ मा शान्तिमन्त्री बने । त्यसपछि २०६२ सालमा कांग्रेस महामन्त्री समेत बने । 

माओवादी शान्ति प्रक्रियामा आएपछि उनी शान्ति सचिवालय संयोजक बने । २०६३ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री भए । २०६४ सालमा उनी कांग्रेस उपसभापति भए । सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ—२ बाट निर्वाचित भए । २०६५ सालमा कांग्रेस संसदीय दलका नेता बने । 

तर, प्रधानमन्त्री बन्ने पौडेलको उत्कट चाहना १७ पटकको प्रयासमा पनि असफल रह्यो । ०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, तत्कालीन एमाओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसद्‍मा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनैजनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीनजनाबीच प्रतिस्पर्धा भयो ।

आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैं बाहिर निस्किए । त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे । चुनावी श्रृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्वन्धी नियमावली नै परिवर्तन गरियो र अर्को चरणमा झलनाथले बाजी मार्दा रामचन्द्रको प्रतिस्पर्धा खेर गयो । जसलाई उनको राजनीतिक जीवनमा एउटा कालो धब्बाका रुपमा लिन सकिन्छ । 

त्यसपछि उनले २०७० सालमा संविधानसभाको दोस्रो निर्वाचन तनहुँ—२ बाट जिते । २०७२ मा तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि उनी कार्यवाहक सभापति बनेका थिए । सोही वर्ष भएको पार्टीको १३औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भए । यता, कांग्रेसमा पौडेल वरिष्ठ नेताको जिम्मेवारीमा रहे । 

गत वर्षसम्म १४औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने चर्चा चले पनि उनी अन्तिममा  ‘रिङआट’ भए, जसको परिणामस्वरूप देउवालाई दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुन सहज बन्यो र पार्टीको वरिष्ठ नेतामा पौडेलको निरन्तरता कायमै भयो । 

लामो राजनीतिक जीवनमा पौडेलले करिब १५ वर्ष जेलमा बिताएका छन् । सो क्रममा उनलाई रमाइलो झोडा काण्डको विरोध गरी कीर्तिपुर विश्वविद्यालयमा कार्यक्रम गर्दा गिरफ्तार गरी २०२८ बाट २०३२ सम्म निरन्तर ४ वर्ष जेलबन्दी जीवनमा राखिएको थियो भने हिरासतमा कैयौँपटक पुगेका छन् । 

यसै वर्ष सम्पन्न निर्वाचनमा पौडेल तनहुँ -१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । पटक-पटक मन्त्री हुँदासमेत कुनै गम्भीर विवादमा नमुछिएका पौडेलको नेपाली राजनीतिमा निष्कलङ्क छवि छ । राष्ट्रपतिमा निर्वाचित भएसँगै उनी अब सक्रिय राजनीतिबाट बिदा भएका छन् ।

Logo