योग्यताको आधारमा नेतृत्व गर्ने हो, पालो देउ भन्ने होइन -अञ्जन श्रेष्ठ [भिडियाे]

योग्यताको आधारमा नेतृत्व गर्ने हो, पालो देउ भन्ने होइन -अञ्जन श्रेष्ठ [भिडियाे]


निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उद्योगी व्यवसायीहरु यतिबेला चुनावी महाभिडन्तमा छन् । 

विभिन्न समूह बनाएर आगामी कार्यकालका निम्ती वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारहरु चुनावी मैदानमा छन् । औपचारिक रुपमै उम्मेद्वारी घोषणा गर्नेदेखि जिल्ला दौडाहा र प्रतिनिधीसँग भोट माग्नेसम्मका गतिविधी चलिरहेका छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले वरिष्ठ उपाध्यक्षका आकांक्षीहरुको संख्या पनि धेरै देखिन्छ । जसमध्ये अञ्जन श्रेष्ठ पनि एक हुन् । 

यही चैत २८ र २९ गते हुन लागेको महासंघको निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी दिएका छन् । उनले लक्ष्मी ग्रुपको नेतृत्व सम्हालिरहेका छन् । लक्ष्मी ग्रुप नेपालको ठूलाे व्यवसायिक गृहका रुपमा स्थापित छ । लक्ष्मी ग्रुपमा अहिलेसम्म २० वटा कम्पनी समावेश छन् भने १७ सय जनाभन्दा धेरैलाई रोजगारीको अवसर दिएको छ ।

लक्ष्मी ग्रुपको नेतृत्व सम्हालिरहेका श्रेष्ठले आफ्नो व्यवसायिक यात्रा सानै उमेरमा सुरु गरेका थिए । उनले परिवारले ३ सय रुपैयाँबाट सुरु गरेको व्यापार व्यवसायलाई आफूले नेतृत्वमा लिएर अहिले सुजल फूड नेपालको सबैभन्दा ठूलो उत्पादन कम्पनीको रुपमा चिनाउन सफल भएका छन् । उनी एक सफल व्यवसायीको रुपमा स्थापित भइसकेका छन् । 

सफल व्यवसायी बनिसकेका श्रेष्ठको मुख्य उद्देश्य भनेको सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउने र व्यवसायीको लगानीको सुरक्षण गर्ने भएको बताएका छन् । “अर्थतन्त्र जस्तो चुनौतीपूर्ण अवस्थामा भएपनि समस्याको सामना गरी समाधान गर्न चुनावपछि ३ वर्ष वरिष्ठ उपाध्यक्ष र ३ वर्ष अध्यक्ष भएर काम गर्न पूर्ण रुपमा तयारी अवस्थामा छु”, उनले भने । 

उनले चुनाव जित्न उमेर धेरै भएर मात्र नहुने समेत बताएका छन् । “कुनै पनि संस्थाको नेतृत्व गर्न मेरो उमेर भइसक्यो मलाई पालो देउ भनेर हुन्न”, उनले भने, “सक्षम व्यक्तिले नै संस्थाको नेतृत्व गर्ने हो, जुन मेरो ३० वर्षदेखिको व्यवसायिक अनुभव र २० वर्षदेखि एफएनसीसीआईमा काम गरेको अनुभवले म सक्षम छु भन्ने पुष्टि गर्छ ।” 

Logo