कहाँ मडारिए बादल ? [भिडियाेसहित]

कहाँ मडारिए बादल ? [भिडियाेसहित]


अहिले सडकदेखि सदनसम्म चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न १६ जना प्रहरीको हिरासतमा छन् ।

२०७४ सालमा यो खेल सुरु हुँदा गृह मन्त्रालयको बागडोर भने रामबहादुर थापा ‘बादल’ले सम्हालिरहेका थिए । अहिले नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिँदा उनी भने अनुसन्धानको दायराभन्दा बाहिर नै छन्। जबकी उनीपछि गृहमन्त्री बनेका बालकृष्ण खाण हिरासतमा पुगिसकेका छन् ।

कहाँ हराए त बादल ?

आफ्ना टिमका सदस्यहरु भटाभट मुछिइरहेका बेला तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल भने अप्रत्यासित हिसाबले ‘चोखा’ देखिएका छन् ।

जबकी उनका छोरा तथा गृहमन्त्री भएका बेला उनका स्वकीय सचिव रहेका प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ। उनी अहिले फरारको सूचिमा छन्। बादलपुत्र थापाले गिरोहबाट कम्तीमा पनि एक करोड लिएको खुलेको छ भने उनी अमेरिकातिर भागेको गाइँगुइँ पनि छ। 

बैशाख १९ गतेदेखि बादलका सल्लाहकार डा इन्द्रजीत राई प्रहरी हिरासतमा छन्। प्रहरीले उनलाई १९ गते बिहान ललितपुरबाट समातेको हो । त्यस्तै, राईपुत्र नीरज राई पनि यसै प्रकरणमा मुछिएका छन् ।

बादल गृहमन्त्री हुँदा इन्द्रजीत गृहमा पुगे। त्यसैको फाइदा उठाएर बाबु छोरा नै ठगी प्रकरणमा संलग्न भएको देखिन्छ। उनीहरूले नक्कली शरणार्थी गिरोहका विभिन्न मानिससँग भेट गरेर पटक-पटक साढे ५ करोड रुपैयाँ लिएको खुलेको छ ।

इन्द्रजीत हिरासतमा भए पनि उनका छोरा भने फरार छन्। बादल गृहमन्त्री हुँदा गृह सचिव रहेका प्रेमकुमार राई पनि यस प्रकरणमा चोखा छैनन् ।अभियुक्तको बयानबाट उनी पनि पोलिएका छन् ।

राई हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त हुन्। तर प्रहरीले राईविरुद्ध गतिलो प्रमाण फेला पारेको छैन। उनी पनि अनुसन्धानको घेरा भन्दा बाहिर भने छैनन्।

जसरी यो प्रकरण पूर्व गृहमन्त्री खाण तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीका कर्मचारीदेखि आफन्तसँग जोडिएका छन्। त्यसरी नै बादल पनि यो प्रकरणमा चोखा छैनन् भन्ने देखिन्छ । अहिलेसम्म प्रहरीले बादलसम्म पुग्ने लहरो भेटेको छैन ।

तर उनका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेकोले पक्राउपछि बादलसँगको थप ‘कनेक्सन’ नखुल्ला भन्ने अवस्था भने छैन । यस प्रकरणमा कांग्रेस सांसद आरजु देउवाको पनि नाम नआएको होइन । तर प्रहरीले प्रमाण फेला पार्न नसक्दा औपचारिक रुपमा पुष्टि गर्ने आधार भने छैन ।

त्यस्तै, प्रहरीले तत्कालीन गृह मन्त्रालयमा रहेका कर्मचारीहरुमाथि पनि अनुसन्धान तथा सोधपुछ गरिरहेको छ । यहाँबाट पनि बादलको ‘कनेक्सन’ जोडिन सक्ने सम्भावना जीवितै छ ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । केही फरार छन् । प्रहरीले सङ्गठित अपराधमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । यो प्रकरणको लहरो कहाँसम्म पुग्ने हो टुंगो भने छैन । सर्वसाधारणले क्लाइमेक्स हेर्न पर्खिरहेका छन् । 

Logo