टीकापुर घटनाका मुख्य दोषी रेशमलाई आममाफी दिने सरकारको तयारी [भिडियाेसहित]

टीकापुर घटनाका मुख्य दोषी रेशमलाई आममाफी दिने सरकारको तयारी [भिडियाेसहित]


सरकारले टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने प्रक्रिया अघि बढाएको छ ।

सजाय माफी माग गरिएको चौधरीको निवेदन गृह मन्त्रालयमार्फत राष्ट्रपति कार्यालय पुगेको छ ।

चौधरीको निवेदन लिएर बुधबारै शीतल निवास पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग संविधान र कानुनबमोजिम चौधरीलाई गणतन्त्र दिवसका दिन सजाय माफी दिने प्रक्रियाबारे छलफल गरेको छ ।  

राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले चौधरीलाई बाँकी सजाय माफी दिन माग गरिएको निवेदन राष्ट्रपति कार्यालय पुगेको बताए । बुधबारै प्राप्त निवेदनबारे अहिले अध्ययन भइरहेको छ । यद्यपि निर्णय हुन भने समय लाग्ने कुँवरले बताए । 

राष्ट्रपति कार्यालयको राय लिएपछि गृह मन्त्रालयले सजाय माफीको प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेछ । मन्त्रिपरिषद्ले निर्णय गरेर सिफारिस गरेपछि मात्रै राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा आममाफी दिनेछ ।

संविधानको धारा २७६ ले राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने उल्लेख छ ।

त्यस्तै, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५९ ले अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालयमार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ । त्यही व्यवस्थाका आधारमा सरकारले चौधरीलाई सजाय माफी दिने प्रक्रिया अघि बढाएको हो ।

चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन्। उनलाई अदालतले तोकेको जन्मकैदको सजायअनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने हुन्छ । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनको करिब १५ वर्षको कैद सजाय मिनाहा हुनेछ ।

२०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर स्थापना गरेको नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छ ।

श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथ गरिबी निवारणमन्त्री छन्। तत्कालको सत्ता गणितमा महत्वपूर्ण बनेको नागरिक उन्मुक्तिले सदन र सत्तामा बसेरै रेशमको रिहाईका लागि बार्गेनिङ गर्दै आएको छ ।

यसअघि चौधरीलाई जन्मकैदको फैसला भएपछि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै आन्दोलनको घोषणा गरेको सो पार्टीले सरकारबाट अनौपचारिक आश्वासन पाएपछि नै आन्दोलनका कार्यक्रम फिर्ता लिएको थियो। गत सातामात्रै सर्वोच्च अदालतले उच्च अदालत दिपायलको फैसला सदर गर्दै रेशमको रिहाईको मागमा पूर्ण बिराम लगाई दिएको थियो। 

Logo