पछिल्लो समय बदलिँदो जीवनशैलीका कारण क्यान्सर घरघरको रोग बन्दै गएको छ। क्यान्सरका कारण दैनिक कैयौं व्यक्तिले ज्यान गुमाउँदै आएका छन्।
यसै परिप्रेक्षमा नेपाल क्यान्सर अस्पतालका प्रमुख तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.गिसुपनिखा प्रसिकोसँग क्यान्सरका लक्षण, उपचार पद्धति र बच्ने उपायबारे केन्द्रबिन्दुका लागि मनोज न्यौपाने र सृजना राईले गरेको कुराकानी।
क्यान्सर के हो ?
हाम्रो शरीर विभिन्न कोषिका (सेल) हरुले बनेको हुन्छ। सामान्यतयाः ती कोषिकाहरुलाई हेर्दा परिवर्तन भएको नदेखिए पनि तिनीहरू बन्ने र बिग्रिने क्रम भने जारी हुन्छ। कुनै कोष ३ देखि ४ दिनमा परिवर्तन भइरहेको हुन्छ, यसो भन्नुको अर्थ नयाँ सेल आइरहेको हुन्छ र, पुरानो सेल गइरहेको हुन्छ।
हाम्रो शरीरको छालादेखि लिएर सबै ठाउँमा यो प्रक्रिया चलिरहेको हुन्छ। तर, यो कुनै प्रक्रियामा कुनै कारणले गर्दा कोषिकाहरु अनियन्त्रित तरिकाले बढ्दै गयो, त्यसलाई हामीले नियन्त्रण गर्न सकेनौं भने त्यो ट्युमर बन्न जान्छ।
ट्युमर दुई प्रकारको हुन्छः बेनायन र म्यालिग्नेन्ट। म्यालिग्नेन्ट ट्युमर भयो भने पछि त्यो क्यान्सर हुन्छ।
क्यान्सरका कारण?
क्यान्सर ठ्याक्कै यही कारणले हुन्छ भन्न सकिँदैन। तर, ३५ प्रतिशत क्यान्सर हाम्रो रहनसहन र खानपानबाट हुने गर्छ। फोक्सोको क्यान्सरको मुख्य कारण धुमपान हो। कुनै क्यान्सर हाम्रो खानपानले पनि हुन्छ। जस्तैः पोलेको सेकुवाको अधिक सेवन, धेरै तारेभुटेका खानेकुराको सेवन।
अल्कोहल बढी सेवनले पेटको क्यान्सर हुन सक्छ। त्यस्तै, हाम्रो रहनसहनमा भएका रसायनले पनि क्यान्सर हुने सम्भावना हुन्छ। ढुसी परेका खानेकुरा खायौं भने ‘लिभर’ क्यान्सर हुने जोखिम हुन्छ। तर, हामी यी कुरालाई भने परिवर्तन गर्न सक्छौं।
हामीले परिवर्तन गर्न नसक्ने भनेको वंशानुगत कारणले हुने क्यान्सर हो। वंशानुगत क्यान्सरमा महिलामा हुने स्तन क्यान्सर र अण्डाशयमा हुने क्यान्सर मुख्य हुन्। यस्तो क्यान्सर जन्मबाटै आउने हुनाले हामी यसलाई परिवर्तन गर्न सक्दैनौं।
हाम्रो शरीर विभिन्न कोषिका (सेल) हरुले बनेको हुन्छ। सामान्यतयाः ती कोषिकाहरुलाई हेर्दा परिवर्तन भएको नदेखिए पनि तिनीहरू बन्ने र बिग्रिने क्रम भने जारी हुन्छ।
तर, हामीले गर्न सक्ने भनेको सुरुआतमा थाहा पाउन कोसिस गर्ने। सुरुमै थाहा भयो भने क्यान्सर निको पार्न सकिन्छ । विगतमा क्यान्सर भएपछि निको हुँदैन भन्ने मान्यता थियो।
त्यसैले ‘क्यान्सर नो एन्सर’ भनिन्थ्यो। तर, त्यो मान्यता गलत हो। क्यान्सर निको पार्न सकिन्छ। तर, यसमा दईवटा कुरा एकदमै महत्वपूर्ण छन्:
पहिलो, क्यान्सर सुरुमै पत्ता लगाउनुपर्छ। अर्को, क्यान्सर बिरामीलाई जुन किसिमको उपचार पद्धति चाहिने हो, त्यो दिनुपर्छ। त्यसैले, लक्षण देखा पर्नु अघि पनि हामी स्क्रिनिङ गर्न सक्छौं।
जस्तैः बिरामीलाई कुनै लक्षण देखिएको छैन, हेर्दा सबै सामान्य छ। तर, स्क्रिनिङ् गर्दा केही क्यान्सर लक्षण देखिनुअघि नै हामी पत्तालगाउन सक्छौं। यसो गर्दा बिरामी निको हुने सम्भावना पनि बढी हुन्छ।
क्यान्सर भएको छ भनेर थाहा पाउने लक्षण के–के हुन्?
क्यान्सर शरीरको कुन भागमा भइरहेको छ या हुन गइरहेको छ, त्यसको आ–आफ्नै लक्षण हुन्छन्। जस्तैः हाम्रो खाना खाने नलीमा क्यान्सर भयो भने खाना खाँदा सुरुमा अड्केको जस्तो महसुस हुन्छ। झोलपदार्थभन्दा पनि फुको सुक्खा खाना खाँदा पहिले सजिलो भइरहे पनि अहिले अड्केकोजस्तो हुन्छ भने त्यो क्यान्सरको लक्षण हुनसक्छ र, अर्को फोक्सोको क्यान्सर हुँदा रुघा नलागेको बेलामा पनि २–३ साप्तासम्म लगातार खोकी लाग्छ, खोकी बढ्दै जाने भयो भने त्यो क्यान्सरको लक्षण हुन्छ। त्यस्तै, घाँटी दुख्ने, खोकी लाग्ने अनि ज्वरो आउने हुन्छ।
त्यस्तै, पाठेघरको मुखको क्यान्सरमा हेर्दा सबै सामान्य हुन्छ। तर, यौनसम्पर्क गर्दा रगत आउने हुन्छ। महिनावारीको समय छैन। तर, रगत आयो वा फोहोर पानी बग्यो भने त्यो पाठेघरको मुखको क्यान्सर हुने लक्षण हो।
कहिलेकाही व्यक्तिमा कुनै रोग वा बिरामी छैन। तर, वजन घट्दै गएको छ भने त्यो पनि क्यान्सरको लक्षण हुनसक्छ। यस्तै, सामान्य स्थितिमा भएका बच्चामा लगातार ज्वरो आइरहने र अरु केही नहुने छ भने त्यो ब्लड क्यान्सरको लक्षण हुन सक्छ।
सामान्यतयाः हाम्रो मुख र घाँटीमा घाउ हुने गर्छ। तर, त्यस्ता घाउ बिस्तारै निको हुन्छ। डाइबिटिज पनि छैन तर, घाउ भएर निको नभइ बढ्दै जान्छ भने त्यो पनि क्यान्सरको लक्षण हो।
हाम्रो शरीरको कुनै पनि भागमा गिर्खा वा डल्लो आयो भने त्यो क्यान्सरको लक्षण हुनसक्छ। त्यस्तै, हाम्रो शरीरको प्वाल जस्तैः नाक, मुख, कान, पिसाब र दिसा गर्ने ठाउँबाट कुनै पनि कारणबिना रगत बग्यो भने पनि क्यान्सर हुने सम्भावना हुन सक्छ।
कुनै पनि लक्षण देखिएमा सम्बन्धित डाक्टरकहाँ गएर देखायौं भने क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन सक्छौं।
अहिले सबैभन्दा धेरै कुन क्यान्सर हुने गरेको छ?
संसारभरि नै अहिले कमन भइरहेको क्यान्सरमा महिला र पुरुष दुवैको तुलना गर्दा फोक्सोको क्यान्सर नम्बर एक हुँदै गइरहेको छ। त्यसमा ७० प्रतिशत फोक्सोको क्यान्सर धुलोधुवाँ र धुमपानले हुने गर्दछ।
केन्द्रबिन्दु संवाद केन्द्रविन्दु टिभी
प्रकाशित: २७ भदौ २०७८ १६:५३ आइतबार