छ जनाको हत्या गर्ने लोकबहादुर सार्वजनिक (भिडियोसहित)

छ जनाको हत्या गर्ने लोकबहादुर सार्वजनिक (भिडियोसहित)


हामीले हरेक दिन दिनभरिका प्रमुख ५ समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौं । प्रस्तुत छ आजको बुलेटिनः

संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जना सार्वजनिक गरेको छ। मृतक परिवारकै आफन्त पर्ने २५ वर्षीय लोकबहादुर कार्कीलाई सदरमुकाम खाँदबारीमा आज प्रहरीले सार्वजनिक गरेको हो। घटनाको कारण आरोपित लोकबहादुर कार्कीलाई मृतक ठूलोबुबा तेजबहादुरले सम्झाइ बुझाइ गर्दै कहिलेकाहीँ गर्नै गाली नै प्रमुख रहेको पनि प्रहरीको अहिलेसम्मको निष्कर्ष रहेको छ। 

संसद बैठकमा एमालेको निरन्तर अबरोधपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अब संसद कहिले र कसरी चल्छ भन्ने बारेमा एमाले अध्यक्ष ओलीलाई सोध्न सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेकपा एमाले फुटाउन भूमिका निर्वाह गरेको तथा पार्टीले कार्वाही गरेका माधव नेपालसहितका १४ सांसदलाई बैठकमा प्रवेश दिएको भन्दै निरन्तर विरोध जनाउँदै आएको छ। आइतबार पनि एमालेले विरोधका शिलशिला दोहोर्याउँदा सभामुखले आगामी मंगलबारका लागि संसद बैठक बोलाएका छन् भने, उनले समस्या समाधान केन्द्रित हुँदै शिर्ष नेताहरूको सर्वदलीय बैठक पनि आह्वान गरेका छन्। 

भदौं २३ गतेबाट सुरु भएको संघिय संसद्का हरेक बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गर्दै आएको छ। संसद् अबरोधको प्रयास गर्दै आएको छ। तर, विरोधका नाममा आफ्नै सांसदहरू अराजक हुँदै गएपछि पार्टीका संसदीय दलका नेता तथा एमाले अध्यक्ष केपी ओलीले संसदीय मर्यादा विपरितका गतिविधि बन्द गर्न कडा निर्देशन दिएका छन्। यद्यपि उनले सभामुख सापकोटाले पदीय आचरण विपरित काम गरेको भन्दै संसद अवरोध भने कायमै राख्ने अडान राखेका छन् । उनले हालै देउवा सरकारले ल्याएको बजेटसम्बन्धि प्रतिस्थापन विधेयकले सत्तारुढ दलहरुभित्रै फुट ल्याउने दावीसमेत गरे। 

नेपालको कोरोना संक्रमणको लहरसँगै पर्यटन क्षेत्रमा सुधार आउन सकेको छैन । यस्तो अवस्थामा विज्ञहरुले पर्यटन व्यवसायलाई निर्बाधरुपमा संचालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन्। नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्तरुपमा नेपालमा पर्यटन व्यवसाय पूर्णरुपमा खुल्ला गर्न र पर्यटन व्यवसायीहरूको समस्या बुझिदिन सरकारसँग आग्रह गरेका छन्। 

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेको छ। गत साता करिब ५१ अंक घटेर २८७५.९८ विन्दुमा बन्द भएको नेप्से, यस दिन ७१.४३ अंक बढेर २९४७.४२ विन्दुमा पुगेको छ। यस दिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ। गत साताको अन्तिम कारोबार दिन ७ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २३१ कम्पनीको ९६ हजार ५९१ पटकको कारोबारमा ९ अर्ब ४४ करोड ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कोरोना अपडेट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४२३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३९ हजार ४५७ पुगेको छ। नेपालमा आज ९११ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ७३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ७७ हजार १६३ जना र एन्टीजेन परीक्षणबाट ८६ हजार ६९४ जना पुगेको छ। आज १३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ। आज ११ हजार १८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४० लाख २२ हजार ६१ जनाको पिसिआर र ५ लाख ११ हजार ९८१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo