देउवाले शक्तिको दूरुपयोग गरेः नेता पौडेल (भिडियोसहित)

देउवाले शक्तिको दूरुपयोग गरेः नेता पौडेल (भिडियोसहित)


हामीले हरेक दिन दिनभरिका प्रमुख समाचारहरु केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं। आज पनि हामीले यस्तै समाचारहरुलाई प्रस्तुत गरेका छौं। 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप लगाएका छन्। त्यस्तै सत्ता र शक्तिको दूरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको भन्दै नेता पौडेलले सभापति देउवाको चर्को आलोचनासमेत गरेका छन्। उनले आफू पक्षका नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै आक्रोशसमेत व्यक्त गरेका थिए। 

संसदकै ठूलो दल नेकपा एमाले सरिक नभएपछि सभामुख अग्नि सापकोटाले आव्हान गरेको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ। लगातार संसद बैठक अवरुद्ध गर्दै आएको नेकपा एमालेसँग बैठक गर्न सभामुखले सर्वदलीय बैठक आव्हान गरेका थिए तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि बैठकमा सहभागि हुने भएपछि एमाले बैठकमा सहभागि नै भएन। बैठकमा सहभागि नेताहरूले भने संसद् सहजरुपमा सुचारु गर्न बैठक आव्हान गरे पनि प्रतिपक्ष नआएकाले कुनै निष्कर्षमा पुग्न नसकिएको बताएका छन्। उनीहरूले सभामुखलाई प्रतिपक्षलाई समेत सहभागी गराएर बैठक गर्न अनुरोध गरेका छन्। 

मुलुकमा पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्धको विरोध कार्यक्रम दिनहुँजसो हुने गरेको छ। परियोजनाकी उपाध्यक्ष फातिमा सुमार नेपाल आएपछि त झन विरोधका कार्यक्रम झनै बढेका छन्। सोमबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र आईटी आर्मीले काठमाडौंमा वृहत विरोध कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा सम्वोधन गर्ने अधिकांश नेताहरूले एमसीसी कुनै पनि हालतमा लागू गर्न नहुने बताएका छन्। उनीहरूले एमसीसी परियोजना सुरु भए मुलुका खरानी हुने समेत बताए। 

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। जसमा रासायनिक मलको आपूर्ति, सञ्चिति र वितरणको अवस्थाका सम्बन्धमा छलफल भएको छ । छलफलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले अक्टोबरसम्म ७० हजार मेट्रिकटन रासायनिक मल आइसक्ने दाबीसमेत गरे। तथापि रासायनिक मलको मूल्य धेरै बढीरहेकाले सरकारले निकासा गरेको बजेटअनुसार आवश्यक मल खरिद गर्न नसकिने उनको भनाइ छ। बैठकमा सांसदहरूले भने मलको समस्या सरकारले छिटो हल गरेर जनतालाई समयमै मल उपलब्ध गराउन सरकार गम्भिर बन्नुपर्ने सुझाव दिएका छन्। 

अफगानिस्तानमा विद्रोही तालिवानीहरूले देशै कब्जा गरेपछि तत्कालिन राष्ट्रपति अशरफ घानीले देश छोडेर भागेका थिए। घानीले देश छोडेसँगै अफगानिस्तानको सत्ता तालिवानको हातमा आएको थियो। उनीहरुले अहिले कामचलाउ सरकार बनाएका छन् भने कामचलाउ सरकारले नै शासन सञ्चालन गरिरहेका छन्। यसैबीच तालिवानीहरूले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिएको छ। यसअघिको नजिरसहित तालिवानको सत्ता आएपछि छात्रालाई विश्वविद्यालय जान प्रतिवन्ध लगाउने आशंकाकाबीच उनीहरुले विश्वविद्यालय जान दिने निर्णय गरेको हुन् तथापि छात्र र छात्रा भने अलग रहनुपर्ने नियम लगाएका छन्। 

आजको कोरोना अपडेट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २६० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४० हजार ७१७ पुगेको छ। नेपालमा आज १ हजार ४ सय ८६ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३ सय ३७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ३० रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ७८ हजार ३१२ जना र एन्टीजेन परीक्षणबाट ८७ हजार ३१ जना पुगेको छ। आज १६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९ सय ६५ पुगेको छ। आज १६ हजार ५ सय ३९ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४० लाख ३४ हजार ५९३ जनाको पिसिआर र ५ लाख १५ हजार ९ सय ८८ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo