म आमाले साग बेचेर बनाएको रुपेश श्रेष्ठ हुँ

म आमाले साग बेचेर बनाएको रुपेश श्रेष्ठ हुँ


‘मलाई जिन्दगीमा खास केही गर्नु छैन, एउटा सानो कोठा भए पुग्छ। भाषा, साहित्य वा अरु केही पढाएर बसौंला तर, घरभरि किताब हुन्। कुनै ‘फेन्सी लाइफ’ होइन, बस पढेर बसौंला।’

यस्तै सपना बुनेर हुर्किएका थिए पत्रकार रुपेश श्रेष्ठ। तर, समय, काल र परिस्थितिले उनलाई एक कुशल समाचारवाचक बनायो, प्रखर अन्तर्वार्ताकार बनायो, एक कुशल पत्रकार बनायो। 

अझ भनौं लामो पत्रकारिता यात्रा र मिहेनतले एक चिरपरिचत सञ्चारकर्मी बनायो। रुपेश श्रेष्ठले पत्रकारिता यात्रा तय गरेको दुई दशक पुगनपुग भइसकेको छ। 

एसएलसी सक्नासाथ सञ्चारकर्ममा लागेका श्रेष्ठले क्लासिक एफ.एम.मा केही वर्ष कर्म गरेर टेलिभिजनको यात्रा तय गरेका थिए।

कान्तिपुर टेलिभिजन, एपीवान टेलिभिजन अनि पुनः कान्तिपुरमै घुमिरहेको छ उनको पत्रकारिता यात्रा।

सँगै वरिष्ठ पत्रकार भुषण दाहालसँग जोडिएको एउटा ब्राण्ड, १८ वर्ष लामो यात्रा तय गरेको कार्यक्रम ‘फायर साइड’ पनि यतिबेला पत्रकार रुपेश श्रेष्ठको जिम्मेवारीसँग जोडिएको छ। ‘फायर साइड’को पिल्लरका रूपमा उनी खडा छन् यतिबेला।

हुन त उनी साहित्यकार पनि हुन्। ‘घिन्ताङ् घिसी ट्वाक’ नामक कविता संग्रह उनको पहिलो कृति हो।

‘व्यक्तित्व विकास’, ‘पत्रकारिता र आमसञ्चार’, ‘पब्लिक स्पिकर’ जस्ता विषयमा उनी प्रशिक्षकका रूपमा पनि सक्रिय छन्। जसले रुपेश श्रेष्ठको सञ्चारकर्मलाई झनै व्यापक बनाएको छ।

सबैलाई लाग्दो हो, भक्तपुरमा जन्मिएको नेवारको छोरो रुपेश श्रेष्ठको पारिवारिक, आर्थिक पृष्ठभूमि केही व्यापक होला, अझ भनौं रोचक होला।

तर, त्यो आम बुझाइभन्दा केही भिन्न छ। आम मानिसले बुझे झैं काठमाडौं र भक्तपुरको शिरुटारको सम्बन्ध (दूरी) उति नजिकको पनि थिएन। 

भक्तपुरको शिरुटारमा जन्मिएका रुपेश एक सामान्य परिवारमा हुर्किएका हुन्। जो आमाले तरकारी (साग) उत्पादन गर्दै बेचेर कमाएको पैसाले विद्यालय र कलेज पढेका हुन्। बुबाको शिक्षण पेशाले घरको गर्जो टारेको सम्झना छ उनीमा।

‘दाजु, म र बहिनी, तीन सन्तान। हामीलाई प्राइभेट विद्यालय पढ्नै धौ–धौ थियो । आमा ३ बजे उठेर काठमाडौंको टुकुचासम्म आएर साग/तरकारी बेच्नुहुन्थ्यो। त्यही सागले हुर्किएका थियौं, त्यही सागले बनेको रुपेश श्रेष्ठ हुँ म।’

यस्तै, सामान्य परिवारमा हुर्किएर होला उनले भविष्यका लागि पनि ठूला आकारका सपना साँचेनन्। ‘बस, अब आमाले साग बेच्न नपरोस्’, यस्तै यस्तै… ।

विद्यालय तहबाटै स्टेजमा उक्लिएर बोल्ने रुपेश, कथा, कविता वाचन गर्न रुचाउँथे ।

साथी सर्कल उनीबाट प्रभावित थिए। उनीहरूलाई रुपेशलाई रेडियो वा टेलिभिजनमा काम गर्न कता न कता हौस्याउँथे।

ती दिन आज आएर उनलाई समीक्षा गर्न मन लाग्छ। भन्छन्, ‘ अहिले सम्झँदा लाग्छ त्यो समय मेरो बालापन नै थियो होला जसले एसएलसी सक्दा नसक्दा रेडियोमा काम गर्न हौस्यायो। 

रुपशकै आग्रहमा बुबाले विद्यालयबाट ४ हजार पेस्की ल्याएर रेडियोमा तालिम गर्न पठाएका थिए। त्यही तालिमले उनलाई समाचारवाचक केन्द्रित बनायो र उनी आज पनि समाचार वाचककै रूपमा क्रियाशील छन्।

यद्यपि, सञ्चार क्षेत्रसँग जोडिएका अन्य रचनात्मक काममा पनि उनको सक्रियता छ। कार्यक्रम ‘फायर साइड’को भार उनमै छ।

यिनै पत्रकार रुपेश श्रेष्ठसँग पत्रकारिता यात्रा, भोगाइ, अनुभव र अनुभूतिसँग रहेर केन्द्रविन्दुका लागि कार्यक्रम ‘इन्टरभ्यू विथ इन्टरभ्यूवर’मा मनोज न्यौपानेले गर्नुभएको एक विशेष संवाद (भिडियो)

 

Logo