११ असोज २०७८ सोमबार
केन्द्रबिन्दु बुलेटिन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः ९८ प्रतिशत काम सम्पन्न (भिडियोसहित)

हामीले हरेक दिन दिनभरिका समाचारहरुलाई केन्द्र बिन्दु बुलेटिनका रुपमा प्रस्तुत गरिरहेका छौं। आज पनि यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। हेरौं आजका प्रमुख ५ समाचारहरुः 

रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गौरबको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यको भौतिक प्रगति करिब ९८ प्रतिशत सकिएको छ। यस्तै वित्तिय प्रगति ७७ प्रतिशत सम्पन्न भएको जनाइएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीका अनुसार अब टर्मिनल बिल्डिङभित्रको फन्सिलिङसँग रिलेटेड कामहरु र फर्निचर फर्निसिङ्सका कामहरु मुख्य बाँकी छन्। 

प्रतिनिधि सभाको मंगलबारको बैठकले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ। तर, संसदबाट पारित नहुँदा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक भने भदौ ३० अर्थात् भोलिदेखि स्वतः निष्क्रिय हुँदैछ। यसले केही दिन सरकारी खर्च रोकिन सक्ने अर्थमन्त्री जनार्दन शर्मा बताउँछन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले भने देशमा खर्च व्यवस्थापन कसरी हुन्छ भन्ने सवालमा ठाडो जवाफ फर्काएका छन्। उनले खर्च व्यवस्थापनमा कुनै समस्या नहुने संकेत गर्दै हिजो जसरी खर्च चल्यो त्यसरी नै चल्ने प्रतिक्रिया दिएका छन्। 

एमालेबाट विभाजित भइ बनेको दल एकीकृत समाजवादीमा आवद्ध हुन दल दर्ताका लागि निवेदन दिएको भोलिपल्ट पुगेका एमालेका दुई सांसदहरूले नयाँ दल रोज्न सक्ने भएका छन्। सर्वोच्च अदालतको मंगलबारको आदेशपछि प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी रोज्न पाउने भएका हुन्। सर्वाेच्चले मुद्दा नटुंगिएसम्म उनीहरूलाई कारबाही नगर्नसमेत अन्तरिम आदेश दिएको छ।

देउवा सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा करको दरमा हेरफेर गरेपछि व्यवसायी आन्दोलित बनेका छन्। विशेष गरेर देशी उत्पादनलाई बढावा दिएर व्यापारघाटा कम गर्ने भन्दै आएको बजेटले स्टिल उद्योगदेखि विकास निर्माण व्यवसायसम्ममा ठूलो असर पर्ने व्यवसायीहरूको मत छ। उनीहरूले औपचारिक रुपमै उक्त हेरफेर गरिएको करको दायरा सच्याउनु पर्ने धारणा राखेका छन् । तर, अर्थमन्त्री जनार्दन शर्माले भने हाल व्यवस्था गरिएको नीतिगत व्यवस्थाहरू परिवर्तन नहुने अडान राखेका छन्। 

पछिल्लो समय भारतमा देखिइरहेको प्राणघातक भाइरस निपा भाइरस नेपालमा पनि आउन सक्ने भन्दै सरकारले सबै नागरिकलाई अपिल गरेको छ। निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेलचेक्राइँ गर्न नहुने स्वास्थ्य मन्त्रालयले बताएको छ। निपा भाइरसको कुनै भ्याक्सिन बनि नसकेकाले यसबाट बच्न सबै सचेत र सतर्क हुनुपर्ने बेला आएको र श्वासप्रश्वासको समस्या, सामान्य रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, एकदम छिटो अचेत हुने, कोमामा जाने जस्ता समस्या छिटो–छिटो देखा पर्ने र कम्पन आउने निपा भाइरसका मुख्य लक्षण भएको पनि मन्त्रालयले जनाएको छ। 

अर्थ संसार केन्द्रविन्दु टिभी निगरानी

प्रकाशित: २९ भदौ २०७८ २०:१४ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी