सरकारले ब्यूँतायो सुकुम्बासी आयोग (भिडियोसहित)

सरकारले ब्यूँतायो सुकुम्बासी आयोग (भिडियोसहित)


हामीले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक टप फाइब समाचार भिडियोसहित सम्प्रेषण गर्ने गरेका छौं । आजका टप फाइब समाचार ।

अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। आचार्यले तीन राज्यमन्त्रीसहित पाँच मन्त्री नियुक्त गरेका हुन् । यसैबीच प्रदेश १ सरकारले आगामी असोज २२ गतेका लागि प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । 

सरकारले सुकुम्बासी समस्या समाधान आयोग पुनः गठन गरेको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष केशव निरौलालाई आयोगको अध्यक्ष नियुक्त गर्दै सरकारले नयाँ कार्यसमिति तयार गरेको हो।

मुलुक बजेटविहीन हुने निश्चित भएको छ। सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट बुधबार रातिबाट निष्क्रिय हुने भएपछि ‘बजेट होलिडे’तर्फ देश अघि बढेको हो । प्रतिस्थापन विधेयकमाथि छलफल गर्न संसद् बैठक ४ असोजमा बोलाइएको छ । छलफलपछि प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पनि पारित हुनुपर्छ । अनिमात्रै देशमा बजेट लागू हुनेछ । यस हिसाबले कम्तीमा एक साता देश बजेटविहीन हुँदैछ । यद्यपि यस अवधिमा राष्ट्रपति, सभामुखलगायतका पदाधिकारीको भने तलब रोकिने छैन।

बुधबार बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको सार्वभौमिकता र राष्ट्रियताको रक्षा कम्युनिस्ट पार्टीले मात्रै गर्न सक्ने दावी गरेका छन् । उनले एमालेबाट छुट्टिएका माधवकुमार नेपालप्रति कडा आलोचना गर्दै शेरबहादुर देउवाको पछि पछि लखरलखर गर्ने मान्छेलाई ‘कमरेड’ भन्न नमिल्ने÷नसुहाउने बताएको छन् । सोही कार्यक्रममा सम्बोधन गर्दै एमाले उपमहासचिव विष्णु पौडेलले प्रचण्ड र माधव नेपालले शुरूमा नेकपा र त्यसपछि एमाले कब्जा गर्न असफल भएपछि कांग्रेसको पछि लागेको टिप्पणी गरेका छन्। 

सरकारले बुधबारदेखि भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा सञ्चालन गरेको छ । कोरोनाका कारण यस अघिको परीक्षामा विद्यालयकै आन्तरिक मूल्यांकनलाई आधार बनाइएकोमा संक्रमण घटेसँगै विद्यार्थीको प्रत्यक्ष सहभागितामै परीक्षा सञ्चालन गरिएको हो । परीक्षा हलमा प्रवेश गर्नुअघि विद्यार्थीको तापक्रम नाप्नुका साथै सेनिटाइजर लगाएर मात्र भित्र पस्न दिइएको छ । परीक्षास्थलमा विद्यार्थीहरूबीच भौतिक दुरी कायम रहने गरी सिट व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यसअघि स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सञ्चालन हुने तालिका सार्वजनिक गरेको थियो ।

तालिबान नेताहरूबीच अफगानिस्तानमा नयाँ सरकारको संरचनाको विषयमा एउटा ठूलो विवाद उत्पन्न भएको वरिष्ठ तालिबान नेताहरूले अन्तराष्ट्रिय समाचार संस्थाहरूलाई जानकारी गराएका छन्। राष्ट्रपति भवनमा उक्त लडाकु समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र एक मन्त्रीबीच चर्काचर्की परेको बताइएको छ। बरादर सार्वजनिक रूपमा देखा नपरेकाले तालिबान नेतृत्वमा मतभेद रहँदै आएको छ। 

Logo