अक्टोबर ११ देखि विदेशी पर्यटक संख्यामा लागू सीमा हटाउने जापानको घोषणा

अक्टोबर ११ देखि विदेशी पर्यटक संख्यामा लागू सीमा हटाउने जापानको घोषणा


जापानले भिसा–रहित तथा स्वतन्त्र पर्यटकलाई आफ्नो सीमा खुल्ला गरेको छ । 

जापानले आगामी अक्टोबर ११ देखि दैनिक देश प्रवेश गर्ने विदेशी आगन्तुकको संख्यामा लागू सीमा हटाउने तयारी गरेको जापानी सञ्चारमध्यमले जनाएका छन् । उक्त नियम लागु भएसँगै जापान सरकारले कोभिड–१९ संक्रमणको विस्तार रोक्न अढाई वर्षअघि लागू गरेका लगभग सबै नियमहरु हट्नेछन् । 

जापान सरकारले कोभिड–१९ को संक्रमणका कारण स्थगित भएको राष्ट्रव्यापी यात्रा छुट कार्यक्रम पनि अक्टोबर ११ बाट सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कमा रहेका जापानका प्रधानमन्त्री फुमियो किशिदाले त्यहीबाट यी महत्वपूर्ण घोषणा गरेका हुन् ।

 ‘धेरै मानिसहरूले नयाँ नीतिको फाइदा लिनेछन् भन्ने मेरो आशा छ । म कोरोनाभाइरसले निम्त्याएको महामारीमा सबैभन्दा प्रभावित यातायात, मनोरञ्जन र अन्य उद्योगहरूलाई सहयोग गर्न चाहन्छु,’ प्रधानमन्त्री किशिदाले पत्रकार सम्मेलनमा भने । 

जापानले जुन महिनादेखि पर्यटकहरूलाई देश प्रवेश दिन थालेको थियो । पहिलो चरणमा गाइड भएका पर्यटकको लागि मात्र सीमा खोलिएको थियो ।  
 

Logo