नेपालले घरेलु मैदानमा आज यूएईसँग एकदिवसीय खेल्दै

नेपालले घरेलु मैदानमा आज यूएईसँग एकदिवसीय खेल्दै


नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो घरेलु मैदानमा सोमबार यूएईविरुद्ध एकदिवसीय खेल खेल्दै छ ।

खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल र यूएई पहिलो पटक नेपालमा खेल्न लागेको हो । तर, नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित टोली नै हुन् । नेपाल र यूएईबीचमा एकदिवसीय अन्तराष्ट्रियमा अहिले सम्म ६ पटक खेल भएको छ । नेपाल मात्र २ पटक विजयी हुँदा ४ पटक यूएईले खेल आफ्नो पक्षमा पारेको छ ।

तीन खेलको श्रृंखलाअन्तर्गत नेपाल र यूएईबीच सोमबार पहिलो खेल हुन लागेको हो । नेपाली टोलीका प्रशिक्षक मनोज प्रभाकरले यूएईसँगको श्रृंखलालाई क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध खेलको तयारीका लागि महत्त्वपूर्ण हुने बताए । युएईका प्रशिक्षक रोबिन सिंहले विश्वकपमा सुपर १२ मा पुग्न नसके पनि आफ्नो टिमले राम्रो प्रदर्शन गरेको बताए । उनले नेपालसँग श्रृंखलाका लागि यूएई आत्मविश्वासी रहेको बताए । नेपाल र यूएईबीचको दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार हुनेछ।

Logo