काठमाडौंमा सत्ताको खेल चल्दै गर्दा राजेन्द्र लिङ्देन झापामा भक्का खाँदै

काठमाडौंमा सत्ताको खेल चल्दै गर्दा राजेन्द्र लिङ्देन झापामा भक्का खाँदै


काठमाडौंमा सत्ताको खेल सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको प्रधानमन्त्री दाबी गर्न दिएको १० पुसको समयसीमा घर्कंदै गएका बेला कसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भन्ने बहस र छलफल सुरु भएको छ । सत्तागठबन्धनमा आबद्ध दलका नेताहरू अहिलेकै गठबन्धनलाई निरन्तरता दिने निर्णयमा पुगेका छन् । तर, पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने विषय पेचिलो बन्दा दलहरूबीच सघन छलफल हुन बाँकी नै छ ।

यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी जबर्जस्त रूपमा उदय भएका छन् । यी चारमध्ये जनमत र नागरिक उन्मुक्ति पार्टी सरकारमा जान चाहेका छन् । रास्वपाले पनि सरकारमा जाने मनस्थिति बनाएको छ । तर, उसले अन्य दलसँग छलफल थालेको छैन ।

अघिल्लो निर्वाचनमा एक सिट जितेको राप्रपाले यसपटक प्रत्यक्ष र समानुपातिकमा गरी सात सात सिट जितेर १४ सांसद पाएको छ । तर, राप्रपादले सरकारमा जाने सोच बनाएको देखिन्न । त्यही भएर सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन अहिले सत्ताको खेल चल्दै गर्दा गृहजिल्ला झापा पुगेका छन् । उनले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमाले मिलेर स्थिर सरकार बनाउन् भन्ने अभिव्यक्ति दिएका छन् । राप्रपा एमालेसँग गठबन्धन गरेर चुनावमा गएको थियो ।

‘हामी सत्ताको दौडमा छैनौं, अध्यक्ष राजेन्द्र लिङ्देन झापाको आफ्नो निर्वाचन क्षेत्रमा पुगेर थारू परिकार भक्का खाँदै भन्दै थिए ।काठमाडौंमा नयाँ सरकार गठनको दृश्यरअदृश्य खेलहरु हुँदैछन् । आदेश परमादेशहरुको युग समाप्त गरौं भन्ने हाम्रो अन्तर्मनको पवित्र चाहना हो, यो नै नेपालको दीर्घकालीन हितमा हुनेछ । जनादेशबाट राप्रपा, रास्वपा, जनमत लगायतका नयाँ शक्तिहरुको उदय हुँदैगर्दा चुनावपछिको सरकारमा नेपाली ‘फ्लेवर’ आउनुपर्छ, फेरि पनि अहितकर मिसावटको खतरा देखिँदैछ,’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देनको फोटोसहित फेसबुकमा लेखेका छन् ।

Logo