क्यालिफोर्नियामा हप्तामै दोस्रो गोलीकाण्डः तीन जनाको मृत्यु, चार घाइते

क्यालिफोर्नियामा हप्तामै दोस्रो गोलीकाण्डः तीन जनाको मृत्यु, चार घाइते


अमेरिकाको क्यालिफोर्नियामा एक हप्तायता नै दोस्रो पटक गोली काण्ड भएको छ । शनिबार भएको यो पछिल्लो गोलीकाण्डमा परेर तीन जनाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन् । 

लस एञ्जलसको छिमेकी बेभरली क्रेस्ट क्षेत्रमा भएको शनिबार बिहानीपख सो गोलीकाण्ड भएको थियो । गोली प्रहारमा परेर मारिनेमा दुई जना पुरुष र एक महिला छन् । घाइतेलाई नजिकैको अस्पताल लगिएको र उनीहरुको अवस्था गम्भीर रहेको केएबिसी टेलिभिजनले जनाएको छ । लस एञ्जलसको उक्त क्षेत्रको एक सडकमा एकजना व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ ।

सडकमा गुडिरहेको एक गाडीमाथि सो व्यक्तिले गोली प्रहार गरेको थियो । सवारीमा रहेका तीनजनाको ज्यान गएको थियो । त्यस्तै सडकमा हिँडिरहेका अरु चार जना घाइते भएका पनि सो टेलिभिजनले जनाएको छ । गोली प्रहार गर्ने व्यक्तिको खोजी प्रहरी गरेको बताइएको छ । लस एञ्जलसमा भएको एक हप्ता यताकै यो दोस्रो गोली प्रहार हो । 

छ दिन अघि एक रेष्टुरेन्टमा भएको गोली प्रहारमा परेर ११ जनाको ज्यान गएको थियो । त्यसपछि गत सोमबार मात्र पनि अर्काे प्रहारमा परेर मानिसको ज्यान गएको थियो । -सिन्ह्वा

Logo