नयाँ नोटमा बेलायती नरेशको तस्बिर नछाप्ने अष्ट्रेलियाको घोषणा

नयाँ नोटमा बेलायती नरेशको तस्बिर नछाप्ने अष्ट्रेलियाको घोषणा


अष्ट्रेलियाले आफ्नो ब्याङ्कनोटमा बेलायती नरेशको तस्बिर नछाप्ने घोषणा गरेको छ । अष्ट्रेलियाको केन्द्रीय ब्याङ्कले आज उक्त घोषणा गरेको हो । 

बेलायतकी महारानी एलिजावेथ द्वितीयको तस्बिर अङ्कित अष्ट्रेलियाको पाँच डलरको नोटमा अब देशको इतिहास  र आदिवासी संस्कृतिको सम्मान गर्ने चित्र छापिने उक्त ब्याङ्कले जनाएको छ । केन्द्रीय ब्याङ्कको यो निर्णयसँगै हालै राजसिंहासन सम्हालेका बेलायतका राजा चाल्र्स तृतीयको फोटो नोटमा छापिने छैन । नोटबाट राजाहरूको फोटो हटाउने निर्णयको अर्थ अष्ट्रेलियाको कुनै पनि कागजी मुद्रामा राजसंस्था प्रमुख रहने छैनन् । 

गत सेप्टेम्बर ८ मा महारानी एलिजाबेथको मृत्यु भएपछि राष्ट्राध्यक्षको सम्मानमा अष्ट्रेलियाले राष्ट्रिय शोकको घोषणा गरेकामा केही आदिवासी समूहले त्यसको विरोध गरेका थिए । विरोधका क्रममा उनीहरूले राजतन्त्रको उन्मूलनका निम्ति आह्वान गरेका थिए । यसले  संवैधानिक राजतन्त्रको भविष्यबारेको बहसलाई  पुनः सतहमा ल्याएको छ । 

संवैधानिक राजतन्त्रात्मक लोकतान्त्रिक मुलुक अष्ट्रेलियाका राष्ट्राध्याक्ष राजा चाल्र्स तृतीय हुन्। सन् १९९९ मा भएको जनमत सङ्ग्रहमा गणतन्त्र झिनो मतले पराजित भएको थियो । 

केन्द्रीय ब्याङ्कको उक्त निर्णयलाई एन्थोनी अल्बानिजको वामपन्थी सरकारले समर्थन गरेको बताएको छ । सरकारको यो समर्थनबाट अष्ट्रेलिया गणतन्त्रको मार्गमा उन्मुख भएको सङ्केत गरेको छ । नयाँ नोट छापिन केही वर्ष लाग्ने बताइएको छ भने सरकारले पनि आदिवासी समूहहरूसँग परामर्श गर्ने जनाएको छ । 

नयाँ नोटको प्रारूप पनि तयार भइसकेको छैन भने त्यसबारे थप निर्णय पनि नभएको केन्द्रीय ब्याङ्कका अधिकारीहरूले बताएका छन् । 

राजा चाल्र्स तृतीयको फोटो नोटमा नछाप्ने निर्णयको आदिवासी राजनीतिज्ञ तथा समुदायका नेताले स्वागत गरेका छन् । बेलायतको उपनिवेशबाट मुक्त हुने आफ्नो चाहनापूर्तिको दिशामा यो पहिलो विजय भएको टिप्पणी आदिवासी नेताले गरेका छन् । -एएफपी

Logo