भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषीद्वारा विरोध प्रदर्शन

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषीद्वारा विरोध प्रदर्शन


भारतको सर्वोच्च अदालतले एउटा मुद्दाको सुनुवाइका क्रममा सिक्किमका नेपालीलाई विदेशी भनी टिप्पणी गरेपछि सिक्किमका नेपालीभाषी आन्दोलित भएका छन् ।

मूलतः नेपाली, भुटिया र लेप्चा समुदायको बसोबास रहेको सिक्किमका छ वटै जिल्लामा सर्वोच्चको टिप्पणीको तीव्र विरोध भइरहेको छ । योसँगै पछिल्लो आन्दोलन छिमेकी दार्जिलिङमा पनि सुरु भएको छ । एसोसिएसन अफ ओल्ड सेटलर्स सिक्किमले सन् २०१३ मा दायर गरेको आयकर छुटको मागसहितको मुद्दामा सर्वोच्चले सङ्गठनको पक्षमा जनवरी १३ मा फैसला गरेको थियो । सोही फैसलाका क्रममा सर्वोच्चले सिक्किमका बहुसङ्ख्यक नेपालीभाषीलाई विदेशी र आप्रवासी भनी टिप्पणी गरेपछि आन्दोलन सुरु भएको हो ।

यसैबिच, प्रदर्शनकारीले सर्वोच्च अदालतले सिङ्गो भारतीय नेपालीमाथि गरेको अपमानलाई तत्काल सच्याउन सात दिनको समयसीमा दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) ले नेपालीलाई किन विदेशीको संज्ञा दिइयो भन्ने विषयमा सरकारले सर्वोच्च अदालतमा रिट दायर गर्ने बताएका छन् । 

Logo