तरुण दललाई पहिलो नम्बरको संगठन बनाउन आरजु राणाको निर्देशन

तरुण दललाई पहिलो नम्बरको संगठन बनाउन आरजु राणाको निर्देशन


नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टी र तरुण दललाई पहिलो नम्बरको सङ्गठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई निर्देशन दिएकी छन् ।

नेपाल तरुण दल जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको ‘बृहत् तरुण भेला’मा केन्द्रीय सदस्य देउवाले पार्टी र सङ्गठन बलियो बनाउन निरन्तर खट्नुपर्ने बताएकी हुन् ।

अहिले राजनीतिक परिस्थिति फरक भएका कारण गठबन्धन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै केन्द्रीय सदस्य देउवाले पार्टीभित्र एकता बढाउन सकेमा एक नम्बरको पार्टी बनाउन सकिने बताइन् । “अब पार्टीलाई पहिलो बनाउनका लागि हरक्षण कसरी सक्रिय बनाउन सकिन्छ भन्ने विषय तरुणहरूका लागि चुनौती हो”, उनले भनिन्, “भोट हाल्ने दिनमा घण्टी, हलो र सूर्यलाई हाल्ने अनि अरु बेला कांग्रेस भनेर हिँड्नुको अर्थ छैन ।” 

अरु जिल्लामा घण्टी कांग्रेस धेरै सुनेको भए पनि काभ्रेपलाञ्चोक जिल्लामा सूर्यमुखी कांग्रेस धेरै भएको उनको भनाइ थियो । पार्टीलाई एकताबद्ध बनाउनका लागि तरुण दलले भूमिका खेल्न आवश्यक रहेको उनले धारणा राखिन् । 

तरुण दल पार्टीको मेरुदण्ड भएको र जनतालाई कांग्रेसको सोचको पक्षमा उभ्याउँदै राष्ट्रप्रतिको समर्पित भाव, लोकतन्त्र तथा समाजवादप्रतिको आस्थालाई एकत्रित गर्नका लागि सङ्गठन एकढिक्का भएर लाग्न आवश्यक रहेकामा उनले जोड दिइन् । 

सो क्रममा कोभिडका कारण समस्यामा पुगेको अर्थतन्त्र उकास्नका लागि योजना ल्याएर सरकारलाई सहयोग गर्नसमेत केन्द्रीय सदस्य देउवाले सुझाव दिइन् । 

आज सम्पन्न भएको बृहत तरुण भेलाले सुजन लामाको सभापतित्व र उपसभापति सचेत दुवाल र विजेन रञ्जित उपसभापतिको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा सचिवमा सुरज तिमल्सिना र स्मारिका तामाङ, सहसचिवमा राजेश जिम्बा, देवसिंह लामा, सन्दीप अर्याल र मिलन लामा, कोषाध्यक्षमा रामशरण पराजुली कोषाध्यक्ष एवं सहकोषाध्यक्षमा शेरबहादुर वाइबा चयन भएका छन् ।

Skip This
Logo