राजेन्द्र लिङ्देनको प्रश्नः कनिका छर्ने बुद्धि अर्थमन्त्रीलाई कसले दियो ?

राजेन्द्र लिङ्देनको प्रश्नः कनिका छर्ने बुद्धि अर्थमन्त्रीलाई कसले दियो ?


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले आफ्नो सरकार भएको बेला आफ्नो ठाँउमा बढी बजेट पार्ने प्रवृत्ति विगतदेखि नै चलिआएको बताएका छन् । 

शुक्रवार प्रतिनिधि सभा बजेटमाथि मन्त्रालयगत छलफलमा सांसद लिङ्देनले आफ्नो सरकार भएको बेला बजेट आफ्नो पक्षमा राख्ने जुन प्रवृत्ति विकसित भइरहेको छ, त्यसले सत्ता पक्षले भनिरहेको व्यवस्थालाई नै कमजोर बनाउने बताएका हुन् । यस्तो प्रवृत्तिलाई सुधार गर्दै अगाडि बढ्नु पर्ने उनको भनाई छ । 

उनले भने, ‘यसपालि बजेट परेन धेरै गुनासो छैन, मन्त्रीले भनिसक्नु भएको छ अलिकति नदेखिने गरी आफ्नोमा बेसी हाल्ने नै हो, आफ्नो सरकार भएको बेला आफ्नो ठाँउमा राख्ने नै हो भनेको छ । त्यो प्रवृत्ति विगतदेखि नै चलिआएको छ । यहाँ परेन भनेर केही फाईदा छैन्, तर बजेट बनाउने क्रममा जुन प्रवृत्ति विकसित भएर गएको छ । जुन प्रवृत्ति विकसित भईरहेको छ, त्यसले तपाईहरुले भनिरहेको व्यवस्थालाई नै कमजोर बनाउँछ ।’ 

अध्यक्ष लिङ्देनले केन्द्रबाट बाटोको लागि १ लाख, २ लाख रकम छुट्याइने कस्तो संघीयता ल्याएको भन्दै यस्तो कनिका छर्ने बुद्धि मन्त्रीलाई कसले दिएको भन्दै प्रश्न उठाएका छन् । उनले भने, ‘केन्द्रबाट बाटोको लागि छुट्याइने रकम १ लाख, २ लाख पनि हुने यसले कस्तो संघीयता ल्याइरहेको छ । यही हो तपाईहरुले ल्याउनु भएको संघीयता, २० किलोमिटर बाटोको लागि ७० लाख, ५ लाख, २ लाख र १ लाख पनि छुट्याउनु भएको छ । कोही साथीहरुले पछाडि सुन्ना थपेर यति प-र्यो पनि परेको छ भनेर देखाउनु भएको छ । यस्तो बुद्धि मन्त्रीलाई कसले दियो, यस्तो ज्ञान कहाँबाट आयो कनिका छर्ने । सचिवहरुलाई मन्त्रीको मुख्य सल्लाकार भनिन्छ । न सचिवले दिएको ज्ञान होकि, पार्टीले दिएको ज्ञान होकि, आफैलाई आएको ज्ञान होकि ।’ 

अध्यक्ष लिङ्देनले बैठकमा सत्ता पक्षले समर्थन गर्ने, विपक्षले विरोध गर्ने र अन्त्यमा कमा, फूलस्टप पनि परिवर्तन नहुने जे छ ताली ठोकेर अघि बढ्ने खालको प्रवृत्ति पनि बढ्दै गएको बताए । 

Logo