सरकार ढाल्ने प्रयास भइरहेकाे छ, तर त्यो सफल हुन सक्दैनः महासचिव गुरुङ

सरकार ढाल्ने प्रयास भइरहेकाे छ, तर त्यो सफल हुन सक्दैनः महासचिव गुरुङ


नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले नेपालमा रहेका कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलको एकता आजको आवश्यकता रहेको बताएका छन् । आज रुकुमपश्चिममा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी रहेको बताएका हुन् । 

“पूर्वमाओवादी घटकको एकताको कुरा भइरहेको छ । सामाजवादी मोर्चामा पनि त्यो कुरा भएको छ । नेपाल समाजवादी पार्टीसँग एकता गर्न त कार्यदल नै निर्माण भएको छ । माओवादी केन्द्रको नेतृत्वमा नै पार्टी एकता हुन्छ”, गुरुङले भने । जनताले पनि माओवादी घटक एक भएको हेर्न चाहेको उनले बताए । 

नेपालमा रहेका कम्युनिष्टमा वैचारिक कुरामा केही नमिले जस्तो देखिए पनि ती कुरालाई मिलाउन सकिने महासचिव गुरुङले बताए । “कम्युनिष्टमा अन्तर द्वन्द्व हुनु राम्रो होइन । यसले नेपालमा रहेका कम्युनिष्टलाई नै समस्या बनाउँछ । कुनै न कुनै समयमा हामी एक भएर काम गर्नु पर्छ”, उनले भने ।

अहिलेको गठनबन्धनको सरकार तीन वर्ष टिक्ने महासचिव गुरुङले दाबी गरे । “अहिलेको सरकार तीन वर्ष नै टिक्छ । यो सरकार ढाल्नलाई धेरै प्रयास भइरहेका छन् । तर त्यो काम सफल हुन सक्दैन । यो सरकारलाई जनताले रुचाएका छन् । सरकारले पनि जनमुखि काम गर्दै आएको छ”, उनले भने । 

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणमा सबै लाग्न जरुरी रहेको उनको भनाइ थियो ।

Logo