वकालतमा पेशागत मर्यादा पहिलो प्राथमिकताः अधिवक्ता केसी

वकालतमा पेशागत मर्यादा पहिलो प्राथमिकताः अधिवक्ता केसी


लोकतान्त्रिक कानून व्यवसायीहरुको संगठन डीएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले वकालत पेशामा पेशागत मर्यादा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन्। 

डीएलए युवा कानून व्यवसायी समितिको आयोजनामा शुक्रबार युनियन हाउस अनामनगरमा गरिएको युवा कानून व्यवसायी, वकालत तथा चुनौती विषयक अन्तक्र्रिया कार्यक्रममा डीएलए अध्यक्ष वरिष्ठ केसीले उक्त कुरा बताएका हुन्। 

प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागी भएका केसीले वकालत संसारको सबैभन्दा उत्कृष्ट पेशा भए पनि चुनौतीहरु पनि रहेको बताए । निरन्तर मेहनत तथा परिश्रम तथा शिष्ट आचरणबाटै ती चुनौतीहरुको सामना गर्न सकिने उनले उल्लेख गरे। 

पेशाकर्मीहरुले पेशागत मर्यादा राख्न नसक्दा विकृतिहरु देखिँदै गएको उनको भनाइ थियो। युवा कानून व्यवसायीहरुलाई प्रत्येक वडा कार्यालय, गाउँपालिका तथा नगरपालिकामा अनिवार्य रुपमा कानूनी परामर्शदाताको रुपमा राख्ने व्यवस्था हुने हो भने नवआगन्तुक कानून व्यवसायीहरुलाई अवसर पनि सिर्जना हुने उनको जोड थियो। 

नवप्रवेशी कानून व्यवसायीहरुलाई पेशामा स्थापित वरिष्ठ कानून व्यवसायीहरुसँगको समन्वयमा प्रत्येक प्रदेश तथा जिल्लामा पेशागत वृत्तिविकासका कार्यक्रम तथा तालिमहरुको आयोजना गरी युवा कानून व्यवसायहीहरुलाई प्रशिक्षण प्रदान गर्ने उद्देश्यले डीएलए युवा कानून व्यवसायी समिति गठन गरिएको उनको भनाइ थियो। 

यसै समितिमार्फत प्रत्येक प्रदेशमा वृत्तिविकासका कार्यक्रमहरुलाई प्राथमिकता दिइने उनले बताए । शुक्रबार युनियन हाउस अनामनगरमा गरिएको अन्तक्र्रिया कार्यक्रममा कि नोट स्पिकरका रुपमा प्रविन सुवेदीले उपस्थित युवा कानून व्यवसायहीहरुमाझ प्रस्तुति दिएका थिए । 

प्रस्तुतिका क्रममा उनले नव प्रवेशी कानून व्यवसायीहरुलाई के कस्ता चुनौतीहरु आइपर्छन्, ती चुनौतीहरुको सामना कसरी गर्ने र पेशागत कौशलतामा कसरी निखार ल्याउने भनी बताएका थिए ।

उपत्यकाका विभिन्न ल क्याम्पसहरुबाट सहभागी नवप्रवेशी कानून व्यवसायीहरुले आफूले देखे भोगेका समस्याहरुबारे बताएका थिए । ती नव प्रवेशी कानून व्यवसायीहरुको जिज्ञासाको समाधान गर्दै कि नोट स्पिकर सुवेदीले नेपाल बार एसोसिएसनको पहलमा नवप्रवेशी कानून व्यवसायीको प्रोत्साहन तथा उत्प्रेरणाको लागि सम्बन्धित बार युनिटमार्फत उनीहरुप्रति सम्मानजनक व्यवहार हुने वातावरण बनाउनुपर्नेमा जोड दिए। 

त्यसले प्रतिभावान कानून व्यवसायी यस पेशाप्रति आकर्षित हुने र समग्रमा सम्पूर्ण न्यायपालिकामा रुपान्तरण हुने उनको भनाई थियो ।डीएलएका पूर्व अध्यक्षहरु वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, वरिष्ठ अधिवक्ता भरतप्रसाद खरेलले युवा कानून व्यवसायीको काँधमा समग्र न्यायपालिकाको शुद्धीकरणको जिम्मा आएको बताएका थिए। 

न्यायपालिकाको शुद्धीकरणको लागि युवा कानून व्यवसायीसँग हातेमालो गरी हिँड्न आफू तयार रहेको उनीहरुको भनाइ थियो। कानून व्यवसायीको वृत्तिविकास तथा प्रशिक्षणले पेशामा निखारता आउने उनीहरुले बताए। 

आफ्नो अनुभवले आर्जन गरेको ज्ञान तथा शिपलाई युवामाझ बाँड्ने अवसरको खोजीमा रहेको रहेको उनीहरुको भनाइ थियो। युवा कानून व्यवसायी समितिले सो अवसर जुटाइदिएकोमा धन्यवादसमेत व्यक्त गरे।

डीएलए युवा कानून व्यवसायी समितिका संयोजक आरसी गौतमको अध्यक्षतामा गरिएको उक्त अन्तक्र्रिया कार्यक्रममा नवप्रवेशी कानून व्यवसायीहरुको उल्लेख्य सहभागीता थियो। उक्त समितिले प्रदेशगत रुपमा कानूनी प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने समितिका संयोजक गौतमले घोषणा गरे।    

Logo