काठमाडौं ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ विरुद्ध गरिएको पहिलो चरणको खोप परीक्षण सफल भएको दाबी गरिएको छ । नेसनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले बनाएको एमआरएनए १२७३ नामक खोप परीक्षण सफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
खोप परीक्षण गरिएका व्यक्तिहरुमा प्रतिरोधी क्षमता निको भइसकेका बिरामीको बराबर भएको पाइएको रिपोर्टमा उल्लेख छ । कम्पनीले यो परीक्षण गत मार्चमा ८ जना स्वयंसेवीमा सुरु गरेको थियो । खोप निर्माता कम्पनी मोर्डनाले परीक्षणबाट यो खोप सुरक्षित देखिनाका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको दावी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्टिफन बैसेलले तत्काल अब यो भन्दा उत्तम नतिजाको आशा गर्न नसकिने पनि बताएका छन् । तर यो खोप थप परीक्षणपछि मात्र बजारमा आउन सक्ने बताइएको छ ।
यो कम्पनीले खोप परीक्षणको दोस्रो चरणमा ६ सय जनालाई सहभागी गराउने जनाएको छ । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन एफडीएले मोडर्ना कम्पनीलाई खोप परीक्षणको दोस्रो चरण अघि बढाउन अनुमति दिएको छ । उता बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार नेशनल हेल्थ सर्भिस (एनएचएस) ले आधिकारिकरूपमा सो कुरा बताएका हुन् ।
गत महिना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुन सक्ने अनुमान मात्रै गरिएको थियो र पुष्टिका लागि थप अनुसन्धान थालिएको थियो । बेलायतको स्वास्थ्य विभागका एक अधिकृत प्रोफेसर जोनाथन भ्यान ट्यामले अनुसन्धानबाट यस्तो कुरा पत्ता लागेको बताए । कसैमा यी दुई मात्र लक्षण देखिए एक हप्ता घरमा अलग्गै बस्न आग्रह गरिएको छ भने यी बाहेक अन्य पूर्ववत् लक्षणसमेत देखिए १४ दिन अलग्गै बस्न भनिएको छ । प्रो ट्यामले कोरोनाको संक्रमणबाट हालै भर्ना भएका नयाँ संक्रमितमा यी लक्षण करीब ९३ प्रतिशतलाई देखिएको बताए ।
प्रकाशित: ६ जेठ २०७७ २१:४९ मंगलबार