तिलु शर्मा पौडेल
दोहा कतार
कोरोना भाइरसका कारण कतारका विभिन्न क्षेत्रमा लागेका प्रतिबन्धहरू चरणबद्ध रूपमा हटाउने कतार सरकारको योजना अन्तर्गत चौथो चरणको कार्यक्रम सेप्टेम्बर एक तारिकबाट लागू हुने भएको छ l लगभग ८०% कतार अगस्त पहिलो हप्ता देखि नै खुला रहेको थियोभने चौथो चरणको कार्यक्रमले कतारलाई कोरोना महामारी भन्दा पहिलेको जस्तै पुरानै अवस्थामा फर्काउने अपेक्षा गरिएको छ l
जस अन्तर्गत गत मार्चबाट बन्द रहेका कतारका रेल तथा सार्वजनिक सवारीका साधन (बस सेवा) यहि सेप्टेम्बर एकबाट खुल्ने भएका छन् l कतारको यातायात तथा सञ्चार मन्त्रालयले मेट्रो रेल सेवा, कारवा बस सेवा लगायत सार्वजनिक यातायात सेवा ३०% यात्रु क्षमतामा मात्र सञ्चालन गर्न पाइने सर्त सहित सुचारु हुने जनाइएको छ ।
रेल तथा बसमा यात्रा गर्ने यात्रुहरूले स्वास्थ्य मन्त्रालयले तय गरेको न्यूनतम स्वास्थ्य सावधानीको मापदण्ड पुरा गरेको हुनु पर्नेछ भने प्रत्येक यात्रुहरूको तापक्रम चेक गरिने छ l मास्क, कन्ट्याक ट्रेसिंग गर्न बनाइएको ‘एहतराज एप’ अनिवार्य गरिएको छ l यात्रा अवधि भर धूम्रपान तथा खानपिन गर्न निषेध गरिएको छ l हरेक स्टेसनमा स्यानिटाइजर सहित उच्च सतर्कता अपनाइएको रेलवे विभागले जनाएको छ l
प्रकाशित: १४ भदौ २०७७ १९:३१ आइतबार