काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये देशभर बढ्दो एसिड आक्रमण नियन्त्रण गर्न सरकारले कडा कदम चालेको छ । एसिड आक्रमणमा संलग्नलाई कडा कारबाही गर्न अध्यादेश ल्याइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश स्वीकृत गरेको हो । एसिड आक्रमणका लागि मुलुकी अपराध संहितामा पनि केही व्यवस्था गरिएको छ । तर उक्त व्यवस्था अपुग भएको भन्दै सरकारले नयाँ अध्यादेश ल्याएको हो ।
त्यस्तै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) थुप्रिएपछि बैंकहरुले लगानीका विकल्प खोज्न थालेका छन् । करिब ७ महिना लामो लकडाउन तथा निषेधाज्ञाका कारण लगानी गर्न नपाएका बैंकहरुले लकडाउन तथा निषेधाज्ञा खुकुलो भएसँगै लगानीका विकल्प खोज्न थालेका हुन् ।
सरकारले दशैं तिहार लगायतका चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्रभावकारी रुपमा लागु गर्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित विभिन्न १० वटा टोली गठन गरी विशेष बजार अनुगमन सुरु गरेको हो ।
त्यस्तैगरी गृहमन्त्री रामबहादुर थापा दार्चुला जिल्लाको छाङरु पुगेका छन् । दार्चुला जिल्लाको छाङरुमा स्थापना भएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मको भवन शिलान्याशका लागि शुक्रबार बिहान गृहमन्त्री थापा छाङरु पुगेका हुन् । सदरमुकाम खलंगाबाट मन्त्री थापा हेलिकोप्टरमार्फत दिउँसो छाङरु पुगेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
दक्षिण कोरियाले इपिएस कानुनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ । परिवर्तन हुने नियमअनुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..
प्रकाशित: ९ आश्विन २०७७ २०:०२ शुक्रबार