विश्व

कोरोना विरुद्व २१२ वटा भ्याक्सिनको काम धमाधम (भिडियोसहित)

15 Shares

काठमाडौं ।

गत वर्षकोे डिसेम्बर महिनाबाट मानव जातिलाई नै संकटमा पारेको कोरोना भाइरस अझै पनि नियन्त्रणमा आउन सकेको छैन । भाइरस रोकथामका लागि विभिन्न प्रयास र उपाय अपनाइए पनि भाइरसले विश्वलाई नै प्रभावित बनाएको छ । कोरोना भाइरसविरुद्वको भ्याक्सिन तत्कालको लागि अत्यावश्यक रहेको छ । भ्याक्सिन निर्माण गर्न ठूला राष्ट्रहरु निरन्तर लागिपरेका छन् ।

यसैबिच अमेरिकी बहुराष्ट्रिय फार्मा कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकको संयुक्त पहलमा बनाइरहेको कोरोना भ्याक्सिनले सकारात्मक नतिजा दिएको छ । यस भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा ९५ प्रतिशत प्रभावकारी भएको पाइएको छ । कम्पनीका अनुसार यो भ्याक्सिनले वृद्धवृद्धामा समेत प्रभावकारी काम गरेको छ । यसको कुनै पनि गम्भीर खालको साइडइफेक्टस नदेखिएको कम्पनीको दावी छ । फाइजरले यसै वर्ष ५ करोड भ्याक्सिन उत्पादन गर्ने तयारी गरिरहेको जनाएको छ ।

कोरोना भाइरसले संसारलाई आतंकित बनाइरहेका बेला यो नयाँ भ्याक्सिनले आशा जगाएको छ । फाइजरले भोलेन्टियर्सलाई भ्याक्सिनको पहिलो डोज दिएको २८ दिनपछि यसबाट ९५ प्रतिशत प्रभावकारी नतिजा पाएको हो । यसको नतिजाका कारण युएस फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेशनको तर्फबाट इमरजेन्सी स्वीकृति हासिल गर्न सक्ने देखिएको छ ।

फाइजरले तेस्रो फेजको क्लिनिकल ट्रायल २७ जुलाइमा सुरु गरेको थियो । जसमा अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीका ४३ हजार ६६१ मानिसहरुमा परीक्षण गरिएको थियो । उनीहरुमा सकारात्मक नतिजा देखिएपछि फाइजरलाई सुरक्षित मान्न थालिएको छ । फाइजरले नोभेम्बरको अन्त्यसम्म इमरजेन्सी स्वीकृतिका लागि फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनमा जाने बताएको छ । त्यतिन्जेलसम्म कम्पनीले दुई महिनाको सुरक्षित डेटा हुने पनि बताएको छ । इमरजेन्सी स्वीकृति मिलेपछि सेन्टर्ल पर डिजिज कन्ट्रोल र फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले दुई महिनासम्म निगरानी गर्ने बताइएको छ । यो भ्याक्सिनलाई स्वीकृति दिएका खण्डमा यसले हरेक वर्ष १ अर्ब ३ करोड डोज बनाउन सक्ने दावीसमेत गरिएको छ ।

यस्तै कोरोना भाइरसको उद्गमन स्थान मानिएको चीनले पनि भ्याक्सिनहरु विकास गरिरहेकै छ । यसैबीच एउटा भ्याक्सिनले भने, मध्य–चरणका परीक्षणहरूमा सफलताको सङ्केत दिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । चीनमा हाल विभिन्न खोपहरू तयार गरिँदैछ र तीमध्ये केही त मानिसहरूलाई लगाइ पनि सकिएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार सिनोभ्याक बायोटेक नामक समूहले तयार पार्दै गरेको खोपले ७०० जना मानिसमा गरिएको परीक्षणका बेला तिनमा तीव्र रोग प्रतिरोधी प्रतिक्रिया उत्पन्न हुन सकेको थियो ।

युरोपेली र अमेरिकी भ्याक्सिनहरूको ठूलोस्तरको परीक्षणबाट प्राप्त तथ्याङ्कहरूले ती भ्याक्सिनहरू सफल रहेको भन्ने देखाएको विवरणहरू आइरहँदा यो पछिल्लो घोषणा आएको हो । बाँकी विश्वले जस्तै चीनले पनि कोभिड विरुद्धको भ्याक्सिन बनाउन जोडतोडले प्रयास गरिरहेको छ । यसैक्रममा चारवटा खोप चिकित्सकीय परीक्षणको अन्तिम चरणहरूमा प्रवेश गरेका छन् जसमा सीनोभ्याक बायोटेकको भ्याक्सिन पनि पर्दछ ।

वैज्ञानिक जर्नल द ल्यान्सेटमा प्रकाशित परिणामहरू पहिलो र दोस्रोचरणका परीक्षणबाट प्राप्त तथ्याङ्कहरू मात्र हुन् । उक्त प्रतिवेदन अनुसार सिनोभ्याक बायोटेकको कोरोनाभ्याक नाम दिइएको खोपले मानव शरीरमा तीव्र रोग प्रतिरोधी प्रतिक्रिया जनाउन सकेको थियो ।

उक्त भ्याक्सिनको पहिलो चरणमा १ सय ४४ र दोस्रो चरणमा ६०० जनामा गरिएको परीक्षणमा आधारित ती नतिजाहरूको अर्थ उक्त खोप “आपत्कालीन अवस्थामा प्रयोग गर्न योग्य” रहेको मान्न सकिन्छ ।

चीनले बनाइरहेको चार भ्याक्सिनहरूको ठूलोस्तरको परीक्षण पाकिस्तान साउदी अरेबिया, रुस, इन्डोनेशिया र ब्राजिलमा भैरहेको छ । अधिकारीहरुका अनुसार नोभेम्बर महिनाको आरम्भतिर झण्डै ६० हजार जनाले भ्याक्सिन लगाइसकेका छन् । गत हप्ता ब्राजिलमा सिनोभ्याक बायोटेक खोपको परीक्षण केही समयका लागि रोकिएको थियो तर परीक्षणमा संलग्न एकजना भोलेन्टियर्सको मृत्युको सम्बन्ध भ्याक्सिनसँग रहेको नदेखिएपछि परीक्षण पुनः सञ्चालन गरिएको छ ।

त्यस्तै विश्व स्वास्थ्य संगठनका अनुसार, हाल विश्वभर कोरोनाविरुद्वको २१२ वटा भ्याक्सिनहरुमा काम भइरहेको छ । यसमा ४८ वटा भ्याक्सिनको क्लिनिकल ट्रायलमा काम भइरहेको छ भने ९३ वटा भ्याक्सिन प्रि–क्लिनिकल परीक्षणका क्रममा छन् । जसमध्ये १४ वटा भ्याक्सिन दोस्रो चरणको परीक्षणका क्रममा छन् भने २३ वटा भ्याक्सिन पहिलो चरणको परीक्षणका क्रममा छन् ।

त्यस्तै ४६ वटा भ्याक्सिन मानव परीक्षणका क्रममा छन् भने ११ प्रकारका भ्याक्सिन अन्तिम परीक्षणको चरणमा रहेका छन् । यसरी मानव परीक्षणको तेस्रो चरणमा विभिन्न देशका कम्पनिले विकास गरिरहेका भ्याक्सिन अन्तिम चरणको परीक्षणका क्रममा रहेका हुन् ।

अन्तिम परीक्षणको चरणमा रहेका भ्याक्सिनहरुमा :

‘मोर्डना’ तेस्रोचरणको परीक्षणमा प्रवेश गरिसकेको छ । भ्याक्सिनले एम.आर.एन.ए इन्जेक्शनको माध्यमबाट शरीरमा प्रवेश गराइने छ । जसले भाइरसको प्रोटिनलाई रोक्न वा मार्न सफल हुने बताइएको छ । मोर्डना भ्याक्सिन परीक्षणको यस अन्तिम चरणमा ३० हजार व्यक्तिमा परीक्षण गर्ने तयारी भइरहेको छ ।

मोर्डनाको क्लिनिकल परीक्षणमा संयुक्त राज्य अमेरिकाको स्वास्थ्य राष्ट्रिय संस्थान (एनआईएच) पनि सामेल छ । कोभिड १९ महामारीको लागि जिम्मेवार भाइरस कोभ–२ को आनुवंशिक संरचना प्राप्त गर्न मोडर्नालाई ४२ दिन लाग्यो । त्यसैगरी अक्सफोर्ड विश्वविद्यालयले स्वीडेनकोे फार्मा कम्पनी ‘एस्ट्रेजेनेका’ सँगको सहकार्य गर्दै भ्याक्सिन निमार्णलाई तिव्रता दिएको छ । उक्त भ्याक्सिनलाई भाइरल भेक्टर भ्याक्सिन अथवा ट्रोजन हर्स राखिएको छ । भ्याक्सिन संक्रिमतको शरीरमा गई भाइरसको स्पाईक प्रोटिनलाई मार्न क्षमता राख्ने विश्वास कम्पनीको रहेको छ । यस भ्याक्सिन परियोजनाको पहिलो र दोस्रो चरणको परीक्षण अप्रिलमा इंग्ल्याण्डमा एकै साथ पूरा भएको थियो ।

१८ देखि ५५ वर्ष उमेर बीचका एक हजार भन्दा बढी स्वयंसेवकहरुमा गरिएको परीक्षणले भ्याक्सिनको सुरक्षा र जनताको प्रतिरक्षाको समीक्षा गरिएको थियो । अक्सफोर्ड कोभिड भ्याक्सिनको परीक्षणको अन्तिमचरणमा करिब ५० हजार स्वयंसेवकहरु संलग्न हुने आशा गरिएको छ । जसमा बेलायत, अमेरिका, ब्राजिल र दक्षिण अफ्रिका जस्ता देशहरुले परीक्षणका लागि आफ्नो सहभागिता जनाइरहेका छन् ।

त्यस्तै तेस्रोचरणको परीक्षणमा अग्रसर ‘जोनसन एण्ड जनसन’द्वारा निर्मित भ्याक्सिन जेएनजे एडिनोभेक्टर नाम गरिएको भ्याक्सिन रहेको छ । विश्व प्रसिद्व कम्पनीले प्रविधिको आधारमा कोरोना भाइरसविरुद्वको भ्याक्सिन निर्माण गरिरहेको छ । उक्त कम्पनीले विगतमा इबोला, जीका र एचआईभीविरुद्वको भ्याक्सिन निर्माण गरिसकेको छ ।

त्यसैगरी अष्ट्रेलियन मुरडोच चिल्ड्रेन रिसर्च इन्सटिच्युटले कोरोनाविरुद्वको भ्याक्सिनको तेस्रोचरणको परीक्षणलाई तिव्रता दिएको छ । इन्सटिच्युटले विगत सय वर्षदेखि ट्युबरक्यलोसिसको भ्याक्सिन निर्माण गरिरहेको छ । जसलाई ‘बिसिजीे’ भनिएको छ । यसले शरीरका प्रतिरक्षा प्रणालीलाई भाइरसविरुद्व लड्न मद्दत पुर्याउने छ । बिसिजीलाई नै कोरोना भाइरसविरुद्व लड्न प्रभावकारी मानिएको छ ।

त्यसैगरी चिनियाँ राज्य सरकारद्वारा संचालित फार्माले वुहान इन्सटिच्युट अफ बायोलोजीकल प्रोडक्टको संयुक्त सहकार्यमा निर्माण भएको भ्याक्सिन ‘सिनोफार्म’ समेत तेस्रो चरणको परीक्षणमा रहेको छ । उक्त कम्पनीले यसैवर्षको अन्तिम सम्म नागरिकमाझ भ्याक्सिन पुर्याउने विश्वास लिएको छ । उक्त कम्पनीले युएईमा समेत परीक्षण गर्नेछ ।

त्यसैगरी चिनियाँ बायोफर्मा कम्पनीले निर्माण गरेको ‘क्यानसिनो’ एडि ५ एन कोभसमेत दोस्रोचरणको परीक्षणमा रहेता पनि भ्याक्सिनले भाइरसको स्पाइक प्रोटिनलाई मार्न मद्दत पुर्याउने छ । उक्त कम्पनी भाइरस निमार्ण गर्न अनुमति प्राप्त गरिसकेको छ । उक्त भ्याक्सिनलाई एक वर्षका लागि सैनिकले मात्र प्रयोग गर्ने भनिएको छ ।

त्यसैगरी रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अनुमोदन गरेको भ्याक्सिन ‘स्पुटनिक भी’ ग्यामेलेया राष्ट्रिय महामारी विज्ञान र माइक्रोबायोलोजी केन्द्रले उत्पादन गरेको छ । भ्याक्सिनले कोरोना भाइरसको स्पाईक प्रोटिनलाई मार्न मद्दत पुर्याउने विश्वास कम्पनीले लिएको छ । स्पुटनिक भी कोरोना भाइरसविरुद्वको लागि पहिलो भ्याक्सिनसमेत बनेको छ । उक्त भ्याक्सिन तेस्रो चरणमा प्रवेश नगरी निमार्ण गरिएको कारण तेस्रो चरणमा प्रवेश गराएर मात्र बजारमा उपलब्ध गराइनेछ । अन्य उपचारको अभावमा भ्याक्सिन नै कोरोना भाइरस महामारीबाट सामान्य जीवनमा फर्काउन सक्ने उपायका रूपमा हेरिएको छ ।

प्रकाशित: ५ मंसिर २०७७ १८:११ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी