कोरोनाले सम्झाएको गाउँ

कोरोनाले सम्झाएको गाउँ


काठमाडौं ।
क्यापिटल सिटी काठमाडौंमा गाडीभरि स्टेशनरी सामान लिएर बिक्रीका लागि दिनभर दौडधुप गर्ने जीवन आचार्य यतिबेला खेतबारीको डिलमा टहलिरहेका छन् । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका उनी कोरोना त्रासका कारण केही दिनअघि मात्रै गाउँ फर्किएका हुन् । अरू बेला गाउँ आउँदा साथीभाइसँग भेटघाट गरेर गफिने र गाउँघर घुमफिर गर्ने अवस्था अहिले छैन । अहिले गाउँमा खेतमा लगाइएको हिउँदेखेती थन्काएर मकै लगाउने याम छ। मकै लगाउनुपूर्व खेतमा पु¥याउनुपर्ने मल बोक्ने काममा उनले आफूलाई व्यस्त राखेका छन् ।

कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै काठमाडौं छोडेर उनको गाउँमा थुप्रै युवा आएका छन् । पछिल्लो समय वृद्धाश्रम जस्ता देखिने गाउँमा युवायुवतीको आगमनले खेतबारीको कर्ममा समेत ठूलो सहायता मिलेको छ । देश नै लकडाउन भएपछि त्यसको असर गाउँमा कम छ । कृषि कर्म चलिरहेकाले दुई/चारजना मिलेर मल बोक्ने, मकै लगाउने, खेत छेउछाउ र घर वरिपरिका झाडी सफा गर्ने काम चलिरहेको शर्मा बताउँछन् ।

बागलुङ बजारमा कानुन व्यवसाय गरेर बस्दै आएका रमेश खड्का आफ्नो पुरानो गाउँ तित्याङ फर्किएका छन्। लामै समय भयो, उनी चाडपर्वबाहेक गाउँमा कमै जान्थे । एकै दिनमा पुगिने बजारमा दैनिक हुने कामले उनलाई गाउँ बस्न फुर्सद थिएन । लामो समय छोडेको घर कतै भत्किएको, कतै झार उम्रिएको अवस्थामा थियो । कोरोनाको त्रासले सदरमुकाम छोडेर गाउँ फर्किएका खड्का दुई दिनयता आफ्नै पुरानो घर सिँगार्न व्यस्त छन् । ‘गाउँ आइयो, काम केही छैन’–खड्काले भने –‘भत्किएका संरचना बनाउँदैछु ।’

आचार्य र खड्का जस्तै गाउँबाट शहरमा आई काम गर्ने कैयौँ युवा तथा वयस्क यतिबेला गाउँ फर्किएका छन् । कामको चटारो चल्ने समयमा गाउँ फर्किएका युवाले त्यहाँमा रहेका बूढापाकालाई सघाइरहेको काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछाने बताउँछन् । बागलुङ बजारमा होटल व्यवसाय गरेर बसेका जीतबहादुर थापा अहिले पुख्यौली गाउँ रेश फर्किएका छन् । केही दिन पहिले गाउँ आएका उनका तीनै भाइ बागलुङ बजारमै सपरिवार बस्ने भएकाले गाउँको घरको रुपरङ्ग नै फेरिएको थियो ।

कोरोनाको सन्त्रासले गाउँ फर्केका जीतबहादुरको दैनिकी यतिबेला घर पोत्ने, भाँडा धुने, ठाउँ बनाउने, वरिपरि बार्नेलगायत काममा बितिरहेको छ । ‘दशैँ आएभन्दा बढ्ता भएको छ, गाउँ सिङ्गारिँदै गएका छन्, छोडेका घरले सुसार पाएका छन्’– लामिछानेले भने –‘त्रास एकातर्फ होला तर गाउँका दिन आए नि ।’ बजारमा बस्नेहरु अधिकांश गाउँ फर्केका कारण शहर भने सुनसान छ । पहिले गाउँ जानेहरु दुई/चार दिन पनि बिताउन नसक्नेहरु यसपटक धेरै दिनसम्म गाउँमै बिताउने भएका छन् ।

ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार दशैँको समयमा भन्दा धेरै सर्वसाधारण यतिबेला शहर बजारबाट गाउँमा भित्रिएका छन् । यकिन तथ्याङ्क नरहेको भए पनि लकडाउन पूर्वका केही दिन सवारीमा देखिएको चापले शहरको जनसङ्ख्या सहजै अनुमान लगाउन सकिन्छ । भूकम्पका बेला छोडेका घरहरुले समेत यो समय संरक्षण हुन थालेका छन् भने गाउँमा एक्लै बनेका वृद्धवृद्धाले सहाराको अनुभूति गरेको स्थानीय तहका प्रतिनिधिहरु बताउँछन् ।

‘बाँझिएका खेतमा गोरु नार्ने कोही थिएन, कसरी खेती गर्ने होला भन्ने थियो’–बागलुङको बलेवाका धनपति पौडेल भन्छन् –‘छोराछोरीहरु गाउँ आएका छन्, विगतमा बाँझिएका खेतबारी यसपटक खनजोत गरी खेतीपाती गर्न थालिएको छ ।’ वैदेशिक रोजगारीबाट फर्केकाबाट त्रसित बनिरहेका गाउँलेले गाउँ फर्किएकाको फेरिएको दैनिकीबाट भने सास फेरेका छन् । लकडाउन भएपछि सदरमुकाम बागलुङ बजार भने सुनसान बनेको छ भने गाउँघरमा निकै चहलपहल बढ्न थालेको छ ।–रासस

Logo