विश्व

कोरोनासँगै भारतमा अर्को एक रहस्यमय रोगको प्रकोप, ५ सय बढी प्रभावित

15 Shares

आन्ध्र प्रदेश ।

कोरोना महामारीले विश्वभर जनजीवन अस्तव्यस्त बनाएको बेला भारतको आन्ध्र प्रदेशमा अर्को एक रहस्यमय रोगको महामारी फैलिएको छ । मानिसहरूमा बेहोस हुने र छारे रोग लागे जस्तो समस्या आउने यो रोगबाट आन्ध्र प्रदेशको एलुरु सहरमा ५ सय जनाभन्दा बढी प्रभावित भइसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । लक्षण देखिएपछि ५ सयको हाराहारीमा बिरामीहरू अस्पताल भर्ना भएका छन् भने त्योभन्दा बढी स्वास्थ्य संस्थासम्म नपुगेको स्थानीय प्रशासनले अनुमान गरेको छ ।

केही दिनमै सयौँको संख्यामा यस्ता बिरामी देखिए पनि अस्पताल पुग्नेहरू छोटो समयमै निको भएर घर फर्किएका कारण भने आम मानिसले राहत महसुस गरेका छन् । उपचारका लागि अस्पताल पुगेका ५१० जनामध्ये ४३० जना निको भएर डिस्चार्ज भइसकेका छन् । यस क्रममा एकजनाको मृत्यु भएको आन्ध्र प्रदेशका स्वास्थ्य मन्त्री एके कृष्णा श्रीनिवासले जानकारी गराएका छन् ।

मन्त्री श्रीनिवासले आम सर्वसाधारणलाई सचेत हुन आग्रह गर्दै उक्त रोगका कारण चिन्तित नहुन आह्वान समेत गरेका छन् । अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को टोलीले यस रोगका बारेमा अध्ययन गरिरहेको बताइएको छ। एम्सको प्रारम्भिक अध्ययनमा बिरामीको रगतमा सिसा तथा निकल जस्ता केमिकल पाइएको बताइएको छ । खास गरि पानी, खानपिन र वातावरणका कारण यो रोग फैलिएको हुन सक्ने अध्ययनकर्ताहरूले अनुमान गरेका छन् ।

यो रोगबाट पीडित हुनेमा सबै सहरी क्षेत्रमा बसोबास गर्नेहरू रहेका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्नेमा यो रोगको समस्या अहिलेसम्म देखिएको छैन । हालसम्म एलुरु सहरमा मात्र यस्तो समस्या देखिएको उल्लेख गरिएको छ । तथापि यो सरुवारोग हो या होइन भन्ने एकिन हुन सकेको छैन ।

प्रकाशित: २७ मंसिर २०७७ १५:३० शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी