विश्व

खाडी राष्ट्रहरुले कतारमाथि लगाएको नाकाबन्दी हटाए

15 Shares

दोहा कतार।
खाडी राष्ट्र कतारले आतङ्कवादलाई सहयोग गरेको आरोप लगाउँदै सन २०१७ जुन ५ बाट गल्फ राष्ट्रहरू साउदी अरब, बहराइन, ओमन, युएई, इजिप्ट लगायतले कतारमाथि नाकाबन्दी लगाएका थिए । उक्त नाकाबन्दी हिजोबाट हटाउन ती राष्ट्रहरू सहमत भएका छन् ।

साउदी अरबले कतारमाथिको आफ्नो नाकाबन्दी हटाएको २४ घण्टा नबित्दै युएई, बहराइन, इजिप्ट पनि हवाई, जल तथा स्थलगत रुपमा कतारमाथि लगाएको सबै नाकाबन्दी हटाउन सहमत भएका हुन् । साउदी अरेबियाको अल उला सहरमा मङ्गलवार भएको गल्फ कर्पोरेसन काउन्सिल (जिसिसी) को ४१ औं सम्मेलनमा कतारमाथिको साढे ३ वर्ष लामो नाकाबन्दी हटाउने औपचारिक सहमति भएको हो ।

कतारका तर्फबाट अमिर शेख तमिम बिन हमद अल थानी, कुवेतका अमिर शेख नवाफ अल अहमद अल जवर अल सवाह, साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान बिन अव्दुलाजीज अल साउद, बहराइनका राजकुमार सलमान बिन हमद अल खलिफा, युएईका उपराष्ट्रपति तथा दुबईका राजा शेख मोहम्मद बिन रसिद र ओमानी उपप्रधानमन्त्री फहद बिन महमुद अल सईदले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिले खाडी राष्ट्रहरूमा खुशी छाएको छ ।

सम्मेलनको समापन पश्चात् आयोजित पत्रकार सम्मेलनमा बोल्दै साउदी अरेबियाका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले कतारसँगका सबै विवादित मुद्धाहरु सामान्य अवस्थामा फर्किएको र कूटनीतिक सम्बन्ध पुनः स्थापित भएको बताउँदै शिखर सम्मेलनले खाडीका चुनौती सामना गर्न जिसिसी राज्यहरू बीच सैन्य एकीकरण बढाउने, स्थिरता, सुरक्षा बढाउने, एकले अर्काको आन्तरिक मामिला तथा सार्वभौमिकतामा हस्तक्षेप नगर्ने निष्कर्ष निकालेको जानकारी गराएका थिए ।

उक्त सम्मेलनमा भाग लिन कतारका अमिर सेख तमिम बिन हमाद अल थानी साउदी अरेबिया पुगेका थिए भने त्यहाँका राजकुमार मोहमद बिन सलमान उनको स्वागत तथा सम्मानका लागि विमानस्थल पुगेका थिए ।

प्रकाशित: २२ पुस २०७७ ०९:०४ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी