विश्व

कोरोना भाइरससँग जोडिएका २० फेक न्युज (भिडियाेसहित)

15 Shares

काठमाडौं ।

चीनको वुहानबाट फैलिन शुरू भएको कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ । कोरोना भाइरसको महामारीसँगै विभिन्न भ्रमहरू पनि सिर्जना भएका छन् । तिनै भ्रमहरू चिर्न सघाउ पुग्ने हेतुले आज हामी यो भिडियो सामाग्री प्रस्तुत गर्न गइरहेका छौँ ।

१. कोभिड–१९ लामखुट्टेको टोकाईबाट सर्छ

– हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन । यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो । कोरोना भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा र हाँच्छ्यु गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।

२. लसुन खानाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ
– हालसम्म लसुन खानाले कोरोना भाइरसको संक्रमण हुनबाट रोकथाम भएको तथ्य प्रमाणित भएको छैन । लसुन स्वास्थ्यको लागि लाभदायक छ र यसले हामीलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

३. तीलको तेलको मालिसले कोरोना भाइरस शरीरमा प्रवेश गर्नबाट रोक्छ
– तीलको तेलले मालिस गर्नाले कोरोना भाइरस शरीरमा प्रवेश गर्नबाट रोक्दैन । तीलको तेलले कोरोना भाइरसलाई मार्न सक्दैन । भुईँ वा सतहमा भएको कोरोना भाइरसलाई निःसंक्रमण गर्न ७० प्रतिशत इथानोल, ०.५ प्रतिशत सोडियम हाइपोक्लोराइटहरू भएको रसायन वा घोलक, प्रयोग गर्नु पर्छ । यी रसायनहरू कहिले पनि मानिसको शरीरमा प्रयोग गर्न हुदैन । यस्ता रसायनहरू छालामा परेमा हानिकारक हुन्छ ।

४. धेरै पानी पिउनाले कोरोना भाइरसको संक्रमणबाट बचाउँछ
– स्वस्थ रहन पानी पिउनु अति आवश्यक छ । तर यसले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन ।

५. कोरोना भाइरसले वृद्धवृद्धालाई मात्र बढी असर गर्छ
– सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्दछ । तर ज्येष्ठ नागरिक र पहिल्यैदेखि नै दम, मधुमेह, मुटुको रोग जस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई भने यो भाइरसले गम्भीर बिरामी बनाउने जोखिम हुन्छ ।

६. कोरोना भाइरस संक्रमितको उपचारको लागि एन्टिबायोटिकको प्रयोग प्रभावकारी हुन्छ
– एन्टिबायोटिकले ब्याक्टेरिया (जिवाणु) विरुद्ध मात्र लड्न सक्ने क्षमता हुने भएकोले एन्टिबायोटिकको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन अथवा भनौँ उपचार गर्न सकिदैन । यदि तपाईं कोरोना भाइरसको संक्रमणका कारण अस्पतालमा भर्ना हुनुभएको छ भने शरीरमा ब्याक्टेरियाको संक्रमण पनि हुन सक्ने भएकाले तपाईंलाई चिकित्सकले एन्टिबायोटिक दिएको हुन सक्दछ ।

७. हात सुकाउने मेसिन (ह्यान्ड ड्रायर) कोरोना भाइरस मार्नका लागि प्रभावकारी हुन्छ
– हात सुकाउने मेसिन (ह्यान्ड ड्रायर) कोरोना भाइरस मार्नका लागि कदापि प्रभावकारी हुन सक्दैन । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजरको प्रयोग गर्नु नै उत्तम उपाय हो । हात धोइसकेपछि भिजेको हात सुकाउनका लागि कागजी रुमाल वा हात सुकाउने ड्रायरको प्रयोग गर्न सकिन्छ । तर सबैजनाले एउटै रुमाल प्रयोग गर्नु हुँदैन ।

८. चीनबाट आएको चिठी पत्र वा कुनैपनि सामान लिनु असुरक्षित हुन्छ
– चीनबाट आएको सामान वा चिठीपत्रबाट कोरोना भाइरस सर्ने जोखिम हुँदैन । किनकी कोरोना भाइरस वस्तुहरू जस्तै चिठी वा बाकसहरुमा लामो समय बाँच्दैनन् भन्ने पुष्टि भइसकेको छ ।

९. युभि किरण (अल्टा भ्वाइलेट प्रकाश) ले कोरोना भाइरस मार्न सक्छ
– यस्ता युभि किरणले कोरोना भाइरसलाई मार्न सक्दैन । तर यस्ता विकिरणले हात वा शरीरका अन्य अंगहरुमा एलर्जी गराउन सक्छ ।

१०. विमानस्थलमा राखिएको थर्मल स्क्यानरबाट कोरोना भाइरस संक्रमित भए वा नभएको थाहा पाउन सकिन्छ
– थर्मल स्क्यानरले कुनैपनि व्यक्तिलाई ज्वरो (शरीरको तापक्रम सामान्यभन्दा बढी) आए वा नआएका थाहा पाउन मद्दत गर्दछ । कोरोना भाइरसको संक्रमणका लक्षण देखिन २ देखि १४ दिन लाग्ने भएकोले यदि कोही व्यक्तिलाई यसको संक्रमण भइसकेको तर ज्वरो नदेखिएको अवस्थामा यो थर्मल स्क्यानरले पत्ता लगाउन सक्दैन ।

११. पुरै शरीरमा अल्कोहल वा क्लोरिन लगाएमा वा छरेमा कोरोना भाइरस मर्छ
– शरीरभित्र कोरोना भाइरस प्रवेश गरिसकेपछि अल्कोहल वा क्लोरिन पुरै शरीरमा लगाउँदा वा छर्कंदा यो भाइरस मर्दैन । बरु यसरी छर्कनाले तपाईको लुगा वा शरीरमा रहेका स–साना छिद्रहरुका साथै आँखा, मुख, नाक आदिमा हानी पुग्न सक्दछ । याद राख्नुहोस्, सहि मात्रामा प्रयोग गरिएको खण्डमा अल्कोहल र क्लोरिनले भुइँ वा सतहलाई निःसंक्रमण गर्न मद्दत गर्दछ ।

१२. घरपालुवा जनावरबाट कोरोना भाइरसको संक्रमण हुन वा सर्न सक्छ
– हालसम्म घरपालुवा जनावर जस्तै कुकुर, बिरालो आदि कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छैन । तर घरमा पालिएका जनावरलाई छोए पश्चात सधैं साबुन पानीले मिचिमिचि हात धुनुपर्छ । यसरी साबुनपानीले हात धोएमा घरपालुवा जनावरबाट मानिसमा सर्न सक्ने ‘इकोली’ र ‘साल्मोनेल्ला’ जस्ता विभिन्न जीवाणुका संक्रमणबाट सुरक्षित हुन्छ ।

१३. निमोनिया विरुद्धको खोपले हामीलाई कोरोना भाइरसको संक्रमणबाट बचाउँछ
– निमोनिया विरुद्धका खोपहरू जस्तै ‘न्युमोकोकल भ्याक्सिन’ र ‘हेमोफिलस इन्फ्लुएन्जा’ टाइप बी भ्याक्सिनले कोरोना भाइरसबाट जोगाउन सक्दैन । यो नयाँ र फरक किसिमको भाइरस भएकोले यसको लागि छुटै प्रकारको खोप चाहिन्छ । कोरोना भाइरस विरुद्धको खोपको विकासका लागि अनुसन्धान भइरहेको छ भने कतिपय प्रयोगमा पनि ल्याईएका छन् । निमोनिया विरुद्धका खोपहरू कोरोना भाइरस रोकथाम गर्नका लागि उपयोगी नभए तापनि श्वासप्रश्वासको समस्याबाट बच्न यी खोपहरू स्वास्थ्यका लागि लगाउन सिफारिस गरिन्छ ।

१४. नियमित सलाईन पानीले नाक सफा गर्नाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ
– हालसम्म सलाईन पानीले नियमित नाक सफा गर्नाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन प्रमाण फेला परेको छैन । सलाईन पानीले नियमित नाक सफा गर्नाले रुघा चाँडो निको भएको केही तथ्यहरू भने छन् ।

१५. माउथवासले मुख कुल्ला गर्नाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ
– माउथवासको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने कुनैपनि प्रमाण हालसम्म फेला परेको छैन । केही कम्पनीका माउथवासहरुको प्रयोगले मुखभित्र ¥यालमा रहेका केही भाइरसहरुलाई केही समयका लागि निर्मुल गर्ने भएता पनि यसले कोरोना भाइरसको संक्रमणबाट भने सुरक्षित गर्न सक्दैन ।

१६. कोरोना भाइरस गर्मी मौसममा वा आध्रता भएको तापक्रममा बाँच्न सक्छ
– कोरोना भाइरस गर्मी वा जाडो र आद्रता वा सुख्खा तापक्रम भएका सबै ठाउँहरुमा फैलिसकेको छ । गर्मी वा जाडो जहाँ बस्ने भएपनि सावधानी अपनाउनु पर्छ । यसबाट बच्नका लागि बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुनु पर्छ । खोक्दा वा हाँच्छ्यु गर्दा नाक र मुख हात वा टिस्यु वा कुहिनाले छोप्ने गनुपर्छ । प्रयोग गरेको टिस्यु तुरुन्त फोहर र्याल्ने ठाँउमा ¥याल्ने र साबुन पानीले हात धुनु पर्छ ।

१७. रक्सी पिउनाले कोरोना भाइरसको संक्रमण हुँदैन
रक्सीले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन ।

१८. धुम्रपान वा चुरोटले कोरोना भाइरसलाई असर गर्छ
धुम्रपान वा चुरोटले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन । धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ । विश्वमा वर्षेनी करिब ८० लाख मानिसहरू धुम्रपानका कारण अकाल मर्दछन् । मुटु लगायत विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिहरुमा धुम्रपानका कारणले थप जटिलता हुने भएकोले उनीहरुमा कोरोना भाइरसको जोखिम अझ बढी हुन्छ ।

१९. दिसाबाट कोरोना भाइरस सर्छ
– अन्य भाइरस जस्तै यो कोरोना भाइरस दिसामा पनि पाइन्छ । यसबाट संक्रमित व्यक्तिले खोक्दा र हाँच्छयु गर्दा नाक र मुखबाट निस्कने छिटाहरुबाट एक व्यक्तिबाट अर्कोमा सर्दछ । त्यसैले यसको संक्रमणबाट बच्न बेलाबेलामा साबुन पानीले हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने, खोक्दा र हाँच्छयु गर्दा नाक र मुख हात वा टिस्यु वा कुहिनाले छोप्ने, प्रयोग गरेको टिस्यु तुरुन्त फोहर फाल्ने ठाँउमा फाल्ने र साबुन पानीले हात धुने, र रुघाखोकी लागेको व्यक्तिबाट टाढा बस्ने गर्ने गर्नुपर्दछ ।

२०. बोझो, लसुन वा बेसार खानाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ
– लसुन, बोझो र बेसार खानु स्वास्थ्यको लागि लाभदायक हो । यसले हामीलाई स्वस्थ राख्न मद्दत पनि गर्दछ । तर हालसम्म लसुन वा बोझो वा बेसारको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित भएको तथ्य फेला परेको छैन ।एजेन्सीकाे सहयाेगमा

 

प्रकाशित: २७ पुस २०७७ १८:५९ सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी