मुख्यमन्त्री बने महामूर्ख, फर्सीको टोपी र घिरौलाको माला लगाइयो

मुख्यमन्त्री बने महामूर्ख, फर्सीको टोपी र घिरौलाको माला लगाइयो


जनकपुर । यस वर्षको महामूर्खको उपाधि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पाएका छन् ।

मिथिला नाट्यकला परिषद्ले होलीको अवसरमा आयोजना गरेको महामूर्ख सम्मेलनमा राउतले यस वर्षको महामूर्ख उपाधि पाएका हुन् । मुख्यमन्त्री राउतलाई फर्सीको टोपी र घिरौला, कोबी लगायतका माला लगाइ ‘महामूर्ख’ सम्मानपत्रसहित सम्मानित गरिएको हाे ।

मुख्यमन्त्री साथै प्रदेश सांसद् मनिष सुमनलाई ‘पटमूर्ख’, परमेश्वर साहलाई ‘भभकैवा’, रामचन्द्र मण्डललाई ‘सिलौटशङ्कर’ र रामआशिष यादवलाई ‘हराशङ्ख’ को उपाधिबाट सम्मानित गरिएको हो ।

मिथिला नाट्यकला परिषद्ले हरेक वर्ष होलीको अवसरमा राजनीतिज्ञ, वरिष्ठ साहित्यकार तथा सामाजिक अभियन्तामध्ये कुनै एक जनालाई महामूर्खको उपाधि दिँदै आएको छ ।

मिथिला नाट्यकला परिषद्ले होलीलाई लक्षित गर्दै विगत २६ वर्षदेखि महामूर्ख सम्मेलन गर्दै आएको छ । पहिलो पटक वि.स २०६१ सालमा जनकपुरमा महामूर्ख सम्मेलनको आयोजना गरिएको थियो । ०६१ सालको महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुरले पाएका थिए भने ,०७५ मा पूर्व राष्ट्रिय सभा सदस्य एवं राजपाका उपाध्यक्ष वृषेशचन्द्र लाललाई प्रदान गरिएको थियो ।

प्रत्येक वर्ष आयोजना गरिदै आएको महामूर्ख सम्मेलन ०७३ सालमा सप्तरीको मलेठमा तत्कालिन नेकपा एमालेले आयोजना गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागी ५ जनाको निधन भएपछि रोकीएको थियो ।

नेपालमा पहिलो पटक मैथिली साहित्य परिषद वीरगञ्जले २०५० सालमा महामूर्ख सम्मेलनको आयोजना गरेको थियो । पहिलो महामूर्ख सम्मेलनमा लाला माधवेन्द्र जी महामुर्ख घोषित भएका थिए ।

Logo