सडक बालकदेखि शिक्षकसम्मको कठोर संघर्षको कथा व्यथा (भिडियोसहित)

सडक बालकदेखि शिक्षकसम्मको कठोर संघर्षको कथा व्यथा (भिडियोसहित)


  • जितेन्द्र रसिक

काठमाडौं ।

कृष्ण नेपालीको घर गुल्मीको मुसीकोटमा हो । हेर्दा उनी सामान्य मानिस जस्तै देखिन्छन् । तर जीवनमा कयौं हण्डर र ठक्कर खाएर उनी युवा बनेका हुन् । २४ वसन्तको जीवन जिउँदै गर्दा उनले दुःखका हजार शिशिर भोगेका छन् । पराइबाट मात्रै होइन आफ्नै अभिभावकबाट घरेलु हिँसा भोगेका छन् उनले ।

घरबाट निस्केपछि सन्तान पाल्ने जिम्मेवारी बोकेकी उनकी आमा हातमुख जोड्न नारायणगढमै सानीमासँगै मजदुरी गर्थिन् । आमा मजदुरीमै व्यस्त हुन थालेपछि उनलाई मार्गनिर्देश गर्ने मान्छे भएनन् । त्यसैले उनी कोठामा भन्दा बढी साथीकोमा जान्थे त कहिले सडकमै सुतिदिन्थे । त्यसैले उनलाई आमाको दुःख महशुस भएन ।

नारायणगढमा पनि खान बस्न धौधौ भएपछि आमासँगै उनी बुटवलमा बसाईं सरे । नारायणगढ छँदै बाहिर डुलेर लावारिस हिंड्ने बानी परेका कृष्ण एकदिन आमालाई नभनी सुटुक्क हिँडे । केही दिनपछि कोठामा फर्कदा त्यहाँ उनले आमा भेटेनन् । आमाको सवारी दुर्घटनामा मृत्यु भइसकेको थाहा पाए ।

आमाको दुर्घटनामा मृत्यु भएपछि उनलाई बुटवल बस्न मन लागेन । गीत गाउन मन पर्थ्यो गाउँदै हिंड्थे पनि । बसपार्कतिर बसका सहचालकलाई गीत गाएरै रिझाएर काठमाडौं आइपुगे १० वर्षका बालक । कहिल्यै नपुगेको काठमाडौं । बसले कलंकी लगेर छाडिदिए । काठमाडौंमा आएपछि उनको दुःखका दिन सुरु भए । केहि दिन कलंकी नजिकैको मन्दिरमा बसे । त्यसपछि भने उनी सडक बालबालिकाहरुसँग जोडिन पुगे ।

सडक बालबालिकाका रुपमा लामोसमय जीवन गुजारेका उनले कहिल्यै सोचेका थिएनन् पुनः अरु मानिसजस्तै सामान्य जीवनमा फर्कन सकुँला भन्ने ।

तर सम्भव भयो । अहिले कृष्ण स्नातक दोस्रोवर्षमा पढ्दैछन् भने आफूलाई सडक बालबालिकाको अभिभावकका भ्वाइस अफ चिल्ड्रेन नामक संस्थामा काम गर्दै आएका छन् । उनको जीवन यहाँ सम्म सहज रुपमा आइपुगेका भने होइनन् । जीवनमा नसोचेका हजार जङ्घारहरु तरेर आज सक्षम युवा बन्न सफल भएका छन् । प्रस्तुत छ सडकबाट उठेका कृष्ण नेपालीको जीवनमा भोग्नु परेका आरोह अवरोहसँग सफलताको वास्तविक भिडियो कथा ।

 

Logo